मेरो काशी अध्ययन र भ्रमण

– पुष्प शर्मा
सिङ्ताम, सिकिक्म ।

डा. एनी बेसन्टले १८९८ मा खोल्नु भएको सेन्ट्रल हिन्दू क्लेज नै महामना पण्डित मदन मोहन मालवीयज्यूको सत्प्रयासले १९१६ मा काशी हिन्दू विश्वविद्यालय बनेको थियो । स्थापनाको शताब्दीको वर्ष २०१६ मा एकजना स्नातकोत्तर विद्यार्थीको रूपमा म आएकी थिएँ । काशी हिन्दू विश्वविद्यालयका १५वटा सङ्काय (Faculty)हरूमध्ये दृश्यकला सङ्काय (Faculty of Visual Arts) पनि एउटा हो । यो हाम्रो कला सङ्काय छेवैमा छ । दृश्यकला सङ्कायमा वास्तुकला, मूर्तिकला, चित्रकला, फोटोग्राफी आदि पढाइन्छन् । त्यहाँ पटक-पटक प्रदर्शनीहरू हुन्छन् ।

काशी हिन्दू विश्वविद्यालयमा विश्वनाथजीको मन्दिर छ । यो हाम्रो मन बिसाउने ठाउँ हो ।

यस मन्दिरको शिखर (Tower) संसारकै मन्दिरहरूका गजुरमध्ये सबैभन्दा अग्लो ७७ मिटर (२५३ फीट)को छ । यसलाई काशी नगरीको मूल काशी विश्वनाथ मन्दिरको प्रतिमूर्ति पनि मानिन्छ । यो मन्दिर सङ्गमर्मरले बनिएको छ । मूल काशी विश्नाथ मन्दिर मुसलमान आक्रमणकारीहरूले धेरैपल्ट भत्काइदिएको इतिहास छ । सन् ११९४-मा कुतुबुद्दिन अइबाकले, १४४७-देखि १४५८-सम्म हुसेन शाह सार्केले अनि औरङ्गजेबले १६६९-मा भत्काइदिएका थिए । त्यो ठाउँमा अहिले मस्जिद छ । त्यसकै छेउमा पछि हिन्दूहरूले अहिलेको विश्वनाथ मन्दिर बनाए । अहिलेको विश्वनाथ मन्दिरको नन्दी अझ मस्जिदपट्टि नै फर्केको छ । १९१६-मा मदनमोहन मालवीयजीले काशी हिन्दू विश्वविद्यालय स्थापना गरेपछि विश्वविद्यालय परिसरमा विश्वनाथ मन्दिर बनाउने विचार गरेका थिए । उनको यो इच्छा तत्कालीन उद्योगपति बिडलाले पूरा गरिदिने विचार गरे । उनले १९३१-देखि काम थालेर १९६६-मा पूरा गरे ।

रेलगाडीबाट गङ्गाजी पार गरेर वाराणसी प्रवेश गर्दा काशी स्टेशन, वाराणसी सिटी स्टेशन, वाराणसी क्यान्टोन्मेन्ट (क्यान्ट) स्टेशन र अन्तमा मडुवाडीह स्टेशन भेटिन्छ । अन्त्यमा पर्ने स्टेशन हुनाले मडुवाडीह स्टेशनलाई अङ्ग्रेजीमा Terminal station of Varanasi भनिन्छ । इलाहवाद-मऊ-गोरखपुर लाइन भनीकन यो स्टेशन १८९९-देखि १९१३-सम्म समय लाएर बेङ्गल एन्ड नर्थ वेस्टन रेलवेले १ मिटरे (मिटर गेज) बनाइएको थियो । १९९३-९४-देखि यसलाई डेढ मिटरे (साँढे ५ मिटरे) ब्रड गेज बनाइएको छ ।

सन्त कबीरको जन्म हिन्दू परिवारमा र पालन-पोषण मुसलमान परिवारमा भएको थियो । काशीको घाटमा रामानन्दजीको चरण-स्पर्श गर्नपाउँदा कबीरले आफूलाई धन्य मानेर गुरु थापेका थिए । उनले जुलाहाको काम गर्दथे पनि भनिन्छ । अधिक शिक्षित नभए पनि आफ्नो युगका सबैभन्दा प्रसिद्ध समाज-सुधारक सिध्द बने । उनी निराकार ब्रह्मका उपासक थिए । उनकी पत्नीको नाम लोई थियो ।

सन्त कबीरले हिन्दू-मुसनमान गरी दुवै सम्प्रदायका मानिसलाई एक सूत्रमा बाँध्ने प्रयास गरे अनि धर्मको झुटो आडम्बरपूर्ण कर्मकाण्डविरुद्ध लडेका थिए । उनी जाति-व्यवस्था के घोर विरोधी थिए । उनलाई हिन्दू-मुसलमान एकताका पहिलो प्रवर्तक मानिन्छ ।

कबीरको मृत्युबारे एउटा कथा जोडिएको पाइन्छ- कबीरको मृत्यु मगहरमा भयो । उनको मृत्यु हुँदा उनका अनुयायीहरूमा अन्तिम संस्कार लिएर विवाद भएको थियो । हिन्दूहरू जलाउन चाहन्थे तर मुसलमानहरू भने गाड्न चाहन्थे । तर, शवको च्यादर उठाउँदा त फूलको थुप्रो पो थियो । आधा फूल जलाइयो अनि आधा फूल गाडियो अरे ।

कबीर जनकवि थिए । नीतिका लोक कविता रचिए पनि कबीरको नाममा प्रचार हुने गर्दथे । ‘कहत कबीर सुनो भै साधो’-यसरी कबीरको नाम सुनेपछि सबैले पत्याउँथे ।

रामनगर स्थित ५०० वर्ष पुरानो दुर्गा मन्दिरको हो । उत्तरतिर वहने गङ्गाजीको पश्चिम तटमा काशीनगरी छ भने रामनगर पूर्वमा । रामनगरमा काशी नरेशको प्रासाद र किल्ला हेर्न जाने गरिन्छ । यसबाहेक काशी नरेशको अधीनमा भएको दुर्गा मन्दिर पनि रामनगरमै छ । वाराणसीमा चाहिँ दुर्गा कुण्ड छ । रामनगरको यो मन्दिर भव्य छ चारपाटे । मञ्चमाथि मन्दिर र मुनिल्लो तल्लामा मन्दिर कर्मचारीहरूका आवासहरू छन् । मन्दिर परिसर ठूलो छ । वरिपरि वृक्ष-वनस्पतिले सुन्दर देखिन्छ । बाहिरपट्टि सुन्दर कुण्ड (पोखरी) पनि छ । पोखरीभित्र चारैतिरबाट जाने ढुङ्गे सिँडी छन् । मूल मन्दिर शीलाशिल्पले युक्त हेरिबसूँजस्तै छ । शीलामा अङ्कित मूर्तिहरू कलाका भव्य उदाहरण रहेका छन् ।

नेपाली साहित्यको माध्यमिककालका केन्द्रिय साहित्यकार मोतीराम भट्टका प्रेरक हिन्दी साहित्यकार भारतेन्दु हरिश्चन्द्रको सत्यप्रयत्नले हिन्दीको साहित्यिक रङ्गकर्म र नाट्य-लेखनको दृढ़ परम्परा स्थापित भएको थियो । तर, सन् १८८५-मा भारतेन्दुको निधनपश्चात् त्यो उत्साह मन्द भयो । उन्नाईसौँ शताब्दीको अन्तिम दशकमा फेरि अलिअलि कताकता प्रयास भए । केही नाटक मण्डलीहरू स्थापना भए- प्रयागको ‘श्रीरामलीला नाटक मण्डली’ तथा ‘हिन्दी नाट्य समिति’, भारतेन्दुका भतिजा कृष्णचन्द्र र ब्रजचन्द्रद्वारा काशीमा स्थापित ‘श्री भारतेन्दु नाटक मण्डली’ तथा ‘काशी नागरी नाटक मण्डली।’ यी नाटक मण्डलीहरूको प्रयत्नले त्यस समय ‘महाराणा प्रताप’, ‘सत्य हरिश्चन्द्र’, ‘महाभारत’, ‘सुभद्राहरण’, ‘भीष्मपितामह’, ‘बिल्व मङ्गल’, ‘संसार स्वप्न’, ‘कलियुग’लगायत अनेक नाटक अभिनित भए ।

भारतेन्दुका भतिजाहरूले खोलेका काशी नागरी नाटक मण्डलीले १९०१-मा आफ्नै भवन निर्माण गरेर ‘नागरी नाटक मण्डली, काशी’ नाम राखे । अहिले कबीर चौराहको नाटक मण्डली भनेपछि सबैले चिन्छन् । यो काशीको प्रसिद्ध नाटक मण्डली हो । अचेल देश–विदेशका प्रसिद्ध नाटक र ठूल्ठूला शास्त्रीय सङ्गीतका कार्यक्रम यहाँ आयोजन गरिन्छ । बर्सेनि सप्ताहव्यापी सङ्कट नोचन सङ्गीत समारोह पनि यही नाटक मण्डलीले आयोजन गर्दछ । नेपाली रङ्गकर्मी सी.के. श्रेष्ठ अझ पनि यहीँ आएर नाट्य-अभ्यास गर्नेगरेको थाहा लाग्दछ ।

काशीका अभिभावक श्रेष्ठ अजा श्री दुर्गाप्रसाद श्रेष्ठसँग भेट्ने अवसर मैले पनि पाएकी थिएँ । काशीवासी नेपालीभाषीका अभिभावक । यहाँले आफ्ना बुवा काशीबहादुर श्रेष्ठले १९३७-देखि निकाल्नुभएको नेपाली साहित्यिक पत्रिका ‘उदय’ अझै निकाल्नुहुन्छ । ‘उदय’ पत्रिकासित हामी कलेजमा हुँदै परिचित थियौँ । गान्तोकमा पाइन्थ्यो । उदयबारे नेपाली पत्रिकाको इतिहासमा पनि पढेका थियौँ । काशीमा ‘उदय’-का सम्पादक महोदय श्री दुर्गाप्रसाद श्रेष्ठसित यसरी साक्षात्कार गर्न पाएकोमा आफूलाई धन्य ठान्दछु । १९३९-मा जन्मनुभएको श्रेष्ठ अजा ७९ वर्षमा पनि स्वस्थ हुनुहुन्छ । अझ पढिबस्नुहुन्छ, लेखिबस्नुहुन्छ, सभा-समारोहमा पनि जानुहुन्छ, साहित्य अकादेमीमा सक्रिय हुनुहुन्छ, साहित्यिक र धार्मिक ग्रन्थ अनुवाद गरेर छपाउनुहुन्छ, ‘उदय’ खुरुखुरु निकाल्नुहुन्छ ।

यहाँले १९५०-देखि हिन्दी र नेपालीमा कथा, उपन्यास लेखेर छाप्न थाल्नुभएको थियो । दोस्रो नेपाली चलचित्र ‘आमा’ (१९६४)का लेखक हुनाका साथै यसमा सानो अभिनय पनि गर्नुभएको रहेछ । काशीको नेपाली मन्दिर अधिन्यास र श्री विद्याधर्म प्रचारिणी समितिका अध्यक्ष हुनुहुन्छ । काशीमा नेपालीभाषीका साथै हिन्दीभाषी समुदायमा पनि यहाँ प्रिय हुनुहुन्छ । काशी पत्रकार सङ्घका मानार्थ सदस्य हुनुहुन्छ । नेपाल, भेटाङ वा विदेशबाट काशी दर्शनमा आउने नेपालीभाषीहरूमध्ये धेरैले यहाँसँग भेटेरै फर्कने योजना बनाएका हुन्छन् । विद्यानुरागी नानीहरूलाई फोन गरेर बोलाईकन ‘उदय’-का साथै राम्रा–राम्रा ग्रन्थहरू दिनुहुन्छ । यहाँले मलाई पनि पुस्तक उपहार दिनुभएको छ ।

पुरानो वाराणसी क्षेत्र दुर्गा कुण्ड र दुर्गा मन्दिरको पूर्वी परिसरमा आनन्दवाग पार्क छ । आनन्दवाग पार्क आर्य समाजका प्रवर्तक स्वामी दयानन्द र काशीका परम्परागत पण्डितहरूबीच वि. स. १९२६ (ई. १८६९) भएको शास्त्रार्थका लागि प्रसिद्ध छ । त्यस शास्त्रार्थ सभाको अध्यक्षता तत्कालीन काशी नरेशले गरेका थिए । स्वामी दयानन्दलाई पण्डितहरूले पराजित गरेका थिए भनिन्छ । शास्त्रार्थ भएको ठाउँ भनेर धरोहरको रूपमा संरक्षित गर्न पार्क बनाइएको छ । स्थानीय मानिसहरू प्रभात विहार गर्न यहाँ आउने गर्दछन् । यहाँ पुराना धरोहर छन् । परिपरि हरिया चौर र वृक्ष-वनस्पति छन् । घुम्न निस्कनेहरू, योगका आसन गर्नेहरू, व्यायाम गर्नेहरू बिहान आएका हुन्छन् । पूर्वपट्टि पार्क र पश्चिमपट्टि दुर्गा कुण्ड, बीचमा टाइल्स लगाइएको बाटो र बाटोका दुइतिर बिसाउनी चौकी छन् । यहाँ शरीर र मन पुनश्चर्या (रिफ्रेश) हुन्छ ।

आधुनिक नेपालका निर्माता श्री५ पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह विलासी राजा थिए । तेस्री रानी कान्तिमतीको मृत्युपछि विरही भई राजपाट छाडेर निर्गुणानन्द वा निर्वाणानन्द स्वामी भएर ई. १८०० -देखि १८०४-सम्म काशी निर्वासनमा रहे । आफ्नी बजैको माइत देश काशी पुग्दा चेलीको सन्तान भनी काशीमा मान पाए अनि कुटी पनि बनाए । कुटी बनाएको ठाउँलाई आफ्नी जेठी रानी राजराजेश्वरी र माइली रानी ललित त्रिपुर सुन्दरीको नाममा क्रमैले ललिता धाट र राजेश्वरी घाट भने । त्यहाँ नेपालको पशुपति मन्दिरको प्रतिकृति पनि बनाउन थाले । स्वामी महाराज भएर पनि चरित्रमा संयमित भएनन् । सुकेनाश पनि लागेको थियो भनिन्छ । उनलाई आफ्नै सानीमाको छोरो शेरबहादुर शाहले हत्या गरिदिएपछि हेलम्बुमा निर्वासित जीवन बिताइरहेकी जेठी रानी राजराजेश्वरीलाई काका बहादुर शाहले सती जान बाध्य गराएका थिए । उनको मृत्युको २० वर्षपछि उनका उत्तराधिकारी श्री ५ गिर्वाण युद्धविक्रम शाहले काशी पशुपति मन्दिर निर्माण पूरा गराएका थिए । काशी नरेशले सन् १९४३-मा शाह परिवारलाई मन्दिर क्षेत्र सुम्पेका थिए । अहिले ललिता घाट र नेपाली धर्मशाला नेपाल सरकारको अधीनमा छ ।

काशी उपभोग गर्न बिहान छिटो उठ्नुपर्छ । प्रकृतिले जात, धर्म केही छुट्याउँदैन । उर्दूमा भनिन्छ-‘सुबह-ए-बनारस’ । काशीलाई अङ्ग्रेजको पालामा बनारस पनि भन्थे । स्वतन्त्र भारतमा वाराणसी नाम सरकारी औपचारिक रूपमा ग्रहण गरियो । वरुणा र असि नदीबीच रहेको नगर वाराणसी हो । यी दुई प्राचीन नदी गङ्गाजीमा मिल्दछन् । काशी नगरीमा प्रभातकालमा दर्शन-पूजन गर्नुको आनन्द प्राप्त गरेकी छु ।

‘राँड साँढ सिँडी संन्यासी
इससे बचे तो भोगेगा काशी’
काशीमा मूल सडक मात्र हेरेर हुन्न । साँचो काशी हेर्न गल्ली (गली) पस्नुपर्छ-भनिन्छ । मूल बाटो छाडेर दाहिने-देब्रे पस्यो कि गल्ली भेटिन्छ । सिधा बाङ्गा टेँडा ठाडा गरी किसिम–किसिममा गल्ली छन्-विश्वनाथ गली, चौखम्बा गली, गली-गली मोहल्ला, गुजराती मोहल्ला, मराठी मोहल्ला, बङ्गाली टोला, नेपाली खपडा, दूघविनायक, मङ्गलागौरी, राजराजेश्वरी, गौरीकेदारेश्वर, लोलार्ककुण्ड, भदैनी, शिवाला, झाँसीकी रानी जन्मस्थली… गलीभित्रै छन् । साना-साना गल्लीमा मान्छे, साइकल, मोटरबाइक, ठेलागाडी, रिक्सा, गाईगोरु, कुकुर, बाँदर, बिराला… अटेका हुन्छन् । गल्लीभित्रै भव्य भवन, पसल, प्रेस, पान पसल, चिया पसल, मिठाई पसल, लुगा पसल, दशकर्म भण्डार, शङ्ख-घण्टी पसल, पूजा पसल, दाल-चामलका पसल, साइबर केफे, केफे, मन्दिर, पार्किङ, पान थुकले रातै भित्ता देखिन्छ ।

असि चौकदेखि असि घाट जाने गल्लीचाहिँ विदेशी अखडा हुनाले सुन्दर बनाउने काम गरिएको छ । गल्लीका दुईतिर भित्तामा काशीका सांस्कृतिक चित्र बनाइएका छन् ।

जे-जस्तो भए पनि एकपल्ट काशी आएपछि फेरि-फेरि आऊँ-आऊँ लाग्ने हुन्छ किनभने काशीमा आकर्षण छ-‘आकर्ष इति काशी’ ।।

यसमा तपाइको मत

अन्य समाचार