– पुष्प शर्मा, सिङताम्, सिक्किम ।
पूर्वाञ्चल भन्नाले भारतका उत्तरपूर्वी राज्यहरू । यी अरू भारत हेरी भिन्न छन् । घुम्न असमदेखि थाल्ने निधो गरीकन मित्र सोनाम र म निस्क्यौँ ।
सोनामसित गरेको हिउँदको काशी यात्राले सँगै घुम्ने स्वाद पल्काएको हुँदा मतो गरीकन निस्केका थियौँ । लामो योजना पनि थिएन । झटपट मन बनायौँ । तर, स्कूले शिक्षण व्यवसायमा दुइ दिन मात्र विदाको अवसर उपयोग गर्ने विचार आयो । जुलाई महीना थियो । शुक्रबार आधा दिन पढाएर निस्क्यौँ । स्कूलमा लाएका गुरुआमा लुगा फेर्न छेवैकी एकजना गुरुआमाको घर पुग्यौँ । हतारमा लुगा फेर्यौँ । तथाकथित भारतीय भेष अप्ठ्यारा हुन्छन् तर पनि सिम्पल भनिन्छ । किन हो कुन्नि ! सजिलो पो सिम्पल हुनुपर्ने । वास्तवमा सजिलो नै सिम्पल हो । तर, मानसिकता कम्प्लेक्स हुनाले सजिलालाई कम्प्लेक्स र अप्ठ्यारालाई सिम्पल भन्ने भयौँ ।
हुन त भाषा भेषभूषा, भोजन र भजनबाट पनि हाम्रो परिचय हुन्छ । तर, यसभन्दा माथि हाम्रो विचार र व्यवहार परिचयका द्योतक हुन् । सजिलो भएर बस्ने र कुलधर्म पालन गर्ने पद्धति मलाई मनपर्छ । मित्र पनि यस्तै विचारकी समर्थक हुनाले मन मिल्दछ ।
हामी पूर्वीयको धर्म, संस्कृति, भाषा, मित्रता राम्रा हुन्छन् । अहिले हामीलाई पाश्चात्य सङ्गतले प्रभाव पारिसकेको छ ।
स्कर्ट, पेन्टस, शर्ट, कोट र जिन्सलाई हामी आधुनिक परिधान भन्छौँ । लगाउँदा सुविधा हुन्छ । सम्हाल्न सजिलो, कुनै झन्झट नहुने । यसलाई प्राथमिकता दिएको कारण पनि यही हो । सजिलोले अप्ठ्यारोलाई जित्छैजित्छ- इतिहास छँदैछ । समाजले पनि व्यक्ति स्वतन्त्रतालाई कति दबाउला । व्यक्तिका विचार बलवती भए समाज आफैँ बद्लिन्छ । सजिलोतिर जाने प्रक्रियालाई भाषाविज्ञानमा पनि प्रयत्न लाघव भनिन्छ ।
मूल कुरा, हामी छिट्छिटो तत्पर भयौँ यसरी घुम्न जान । हतारमै सिङताम पुगेर शिलगडीको गाडीमा चढिहाल्यौँ । छिटो पुग्नु नि भन्ने मन भइराखेको बेला घरिघरी रोकेर वाक्कै परिरहेको, त्यहीमाथि शिलगढी पुग्ने बेलामै सालगढामा गाडी बिग्रियो । पर्यो झ्याउला । झटपट ओर्ह्लेर तीनचक्के विक्रम चढी शिलगढी पुग्यौँ ।
यात्रामा गन्गन नगर्दा रमाइलै हुन्छ । शिलगढी हेर्दाहेर्दै बढेको नगर हो । दार्जिलिङ हेरी यसको नगरपालिका एकसय वर्ष कान्छो । अहिले यो महानगर हुन लाग्यो । उत्तर पूर्वी भारत पुर्याउने कुखुरे घिच्रो यसैलाई भनिन्छ । पाहाडबाट एक्कासि शिलगढी तराईको नगरमा एकक्षण त अललिइन्छ ।
शिलगढीको क्षेत्र दार्जिलिङ र जलपाइगुडी जिल्ला, भारतको पश्चिम बङ्गालमा पर्दछ । यसलाई Gate way of North East India पनि भनिन्छ । दार्जिलिङको प्रख्यात तीन टी ( T ) ; Tea, Timber, Tourism- को लाभ शिलगढीले उठाएकै छ । शिलगढी हिमालयको खुट्टामा महानन्द नदीको किनारमा स्थित छ । कलकत्ता पछाडि दोस्रो महत्त्वपूर्ण नगर हो पश्चिम बङ्गालमा शिलगढी । अहिले छिटो विकसित हुँदै गरेको नगर हो । सबैभन्दा राम्रो सञ्चार भएको क्षेत्र हो । यहाँको प्रशासन र जनताले हुन त सबै क्षेत्रमा निहित रहेर काम गरेका छन् । सिक्किमले १८३५ मै छाडेको क्षेत्र अहिले हुँदो हो त यी तराईका सम्पत्ति सिक्किमकै हुन्थे- रिजर्भ फरेस्ट, हाई वे, चिया, सुन्ताला, अरू फसल, ४–५वटा नगर, बाघडुग्रा विमानस्थल, नयाँ जलपाइगढी जङ्सन र अरू के-के हो के-के । सिक्किमले दिल्लीलाई हात फैलाउनु पर्ने थिएन । होस् बितेका कुरा के गर्नु !
अहिलेको बढ्दो जनसङ्ख्या र कलकारखाना- तकनिकीले गर्दा पनि नगर मैला हुँदैछन् । गाडी धेरै भएको- ले गर्दा ट्राफिक जाम उस्तै सँग-सँगै पर्यावरण पनि दूषित भएको पाइन्छ । पर्यावरण सम्पूर्ण प्राणीका लागि घर हो । वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ । वातावरणका प्राकृतिक स्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ । मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो । वास्तवमा भन्नुपर्दा वातावरणको अत्याधिक शोषणका कारण विश्वको यो विकास बाधित भएको हो । मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ । चाहे त्यो भौतिक वातावरण होस वा आध्यात्मिक वातावरण ।
पर्यावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएका छन् । वायुप्रदुषण, जलप्रदुषण, ध्वनि प्रदुषणले मानिसमा क्यान्सर, मानसिक रोगलगायतका विभिन्न घातक रोगहरू निम्ताएको छ । उपचार शिलगढीमा हुन्छ भनिन्छ । हॉस्पिटल, स्कूल, कलेज कीरासरी बढेका छन् । चिकित्सा र शिक्षा अब शिलगढीमा व्यवसाय बनेका छन् । यहाँ जहाँ-त्यहाँ धूलो र फोहोर छ, तर पनि यहाँ यस्तो एक प्रकारको आकर्षण छ कि यसले सबैलाई चुम्बकझैँ तानेको छ ।
यहाँबाट हामी गुवाहाटीतिर प्रस्थान गऱ्यौँ । लगभग समय बेलुकीको ५ः३० भएको थियो । शिलगढीदेखि गुवाहटीसम्मको यात्रा बसमा गऱ्यौँ । यात्रा सहज र आनन्ददायक थियो । बसमा हामीले शयन ८-९मा पायौँ । झ्यालबाट बाहिर दृश्य हेर्दै, गफ गर्दै समय काट्यौँ । बसभित्र रातिको ७ बजेदेखि ‘डियर जिन्दगी’ नामको सिनेमा लगाइदिएको थियो, त्यही सिनेमा हेऱ्यौँ ।
भोजनको लागि राति साँढे दस बजे बस रोकियो, कुन ठाउँ त्यो थाहा भएन । वरिपरि कुनै बोर्ड पनि थिएन । खालि एउटै बोर्ड थियो ‘होटेल खुशी’ । त्यहीँ होटलमा सबैले भोजन गरे । हामीले पनि खाना खायौँ । त्यहाँ हामीले के अचम्म देख्यौँ भने खानासँगै kingfisher बियर सबैले पिए । बियर नपिउने भनेको हामी दुइ मात्र थियौँ । त्यो देखेर हामी वाल्ल नै पऱ्यौ, एक-अर्कालाई हेरा-हेर गऱ्यौँ, कुरा पनि गऱ्यौ । यहाँको प्रथा होला भन्ने सम्झ्यौँ । मात्नेहरूसित डर पनि हुन्छ । डरछेरुवा भएर पनि हुन्न । यात्रामा सतर्कतासहित रमाइलो गर्नुपर्ने हुन्छ । नत्र घरै बसिरहे हुन्छ ।
भोजन खाइसकेर फेरि गाडी गुड्यो सडकको बीच–बीचमा धेरै खाडल भएको कारणले गर्दा होला बसको स्पिड उत्ति धेरै थिएन । फेरि बिहानको ३ बजे एउटा सानो चिया पसलमा बस रोकियो, दुइ डाइभर अङ्कल मात्र ओर्लिए । अरु केही ओर्ह्लेनन्, हामी पनि ओर्लेनौँ । १५ मिनेटमा चिया पिएर फेरि बस गुडाए । अब अघाड़ि हामीले झ्यालबाट बिहानी पखको दृश्य देख्नथाल्यौँ । पूर्वाञ्चलमा उज्यालो चाँडै हुन्छ । त्यसरी हेर्दा–हेर्दै नै ४ः४५ भयो, गुवाहटीको बस बिसाउनी पुग्यौँ । जसलाई ISBT पनि भनिँदो रहेछ । त्यहाँबाट हामी सिधैं एउटा अटो लिएर कामक्ष्य (असमिया भाषामा ‘कामाख्या’) दर्शनका लागि गयौँ । प्रकृतिसँग मानिसको मीठो सम्बन्धको सुवास हुन्छ । हामी कामक्ष्य दर्शन गर्नका लागि पुग्यौँ, त्यहाँको आकर्षक, सजावटले हाम्रो रातभरि यात्रा गरेको शरीरको थकान मेटियो । रमाउनु मान्छेको मात्रै इच्छा होइन । प्रकृतिमा सास फर्ने विभिन्न जीव कुनै न कुनै रूपमा रमाइलो खोज्छ । यत्ति हो हामी मानिसलाई एकै प्रकारको रमाइलोमा मात्र सन्तुष्ट हुँदैन । बिहान छिट्टै पुगेको हुनाले गर्दा होला लाइन नबसी दर्शन गर्ने अवसर पायौँ । शिवजीले सतिदेवीको मृतदेह बोकेर उड्ने क्रममा सतिदेवीको कामाङ्ग योनि यहाँ झरेको विश्वास गरिन्छ । यहाँ देवीको प्रतिमाबाट साउन महीनामा रज पनि हुन्छ भनिन्छ । श्रद्धालु पुग्छन् ।
कामक्ष्य मन्दिरमा दर्शन–पूजन गरिसकेर त्यहाँ छेउको चिया पसलमा चिया र बिस्कुट खायौँ र फेरि एउटा अटो लिएर उमानन्दतिर लाग्यौँ । त्यहाँ पुग्दा ७ः३० पनि राम्रो भएको थिएन । स्टिमर चल्ने समय ९ः०० बजीदेखि रहेछ । ९ बजाउनका लागि बह्रमपुत्र वरिपरि घुमेर समय बितायौं, खाजा पनि त्यहीँ खायौँ । यसरी ९ बज्यो, स्टिमरको टिक्ट काट्यौँ अनि उमानन्द दर्शन गर्न गयौँ । उमानन्दको उँचो जग्गाबाट ब्रह्मपुत्र र त्या अवस्थित गुवाहाटी नगर देखिन्छ । मनोरम दृश्य ।
उमानन्द दर्शन गरेर फर्कँदै गर्दा सिडीको फेदमा एकजना अङ्कलले काँकरा र भुइँ कटहर काटेर प्लास्टिकको बटुकामा हालेर बेच्दैथिए । हामीले किनेर खायौँ, खाइसकेर त्यस प्लास्टिकको बटुका कहाँ फ्याँक्नु भनेर सोध्दा त यही ब्रह्मपुत्रमा पो अरे ! हामी फेरि छक्क पऱ्यौँ । ‘अङ्कल एउटा डस्टबिन राख्नुहोस् न’ भन्यौँ । त्यो अङ्कलले रिसाएको ढङ्गमा ‘भोलिदेखि डस्टबिन लिएर आउँछु अनि राख्छु’ अरे । हामीले बटुका स्टिमरकै डस्टबिनमा ल्याएर हाल्यौँ, अरूले भने खाएर ब्रह्मपुत्रमै फ्याँके । असममा फोहोर-मैला, प्लास्टिक प्लास्टिक भएको कारण यही पनि एउटा होला भनेर बुझ्यौँ । हुन त राष्ट्रिय सूचीमा सफा नगर भनी गुवाहाटीलाई पनि गणना गरिन्छ । सर्वेक्षण गर्नेले कुनाकाप्चा कहाँ हेर्दा हुन् र !
ब्रह्मपुत्रको चिसो हावाले एकछिन मनै शान्त र तरङ्गित भयो । फोहोर फ्याँके पनि ब्रह्मपुत्रको पानी पुनीत मानिन्छ । ब्रह्मपुत्रलाई नर सलिल मानिन्छ- ब्रह्मको छोरो । अरू सबै नदी नारी हुन्छन् । अरुण र ब्रह्मपुत्रचाहिँ नद । पानीको पवित्रताले हाम्रो मन द्रविभूत भयो ।
त्यहाँबाट हामी प्राणी सङ्ग्रहालय जू गयौँ । त्यहाँ पुग्दा टन्टलापुर घाम लागेको थियो । हामीले छाता पनि बोकेका थिएनौँ । पसलमा गएर पत्रिका किनेर घाम छल्दै चराचुरुङ्गी र पशु राखिएका क्षेत्र घुम्यौं । त्यो पनि एक प्रकारको अनुभव थियो । प्रकृतिको तातोपनमा हामी एकछिन रुखको छहारीमा बस्यौँ । जू परिसरमा रुखहरू प्रशस्त थिए । ओत लाग्दै घुम्दै, ओत लाग्दै, छाहारी खोज्दै, घुम्दै पूरै हेर्न भ्यायौँ ।
त्यहाँबाट हामी पल्टन बजार घुम्यौँ, खाना खायौँ । पर्यटन बजारमा गोर्खाको क्षेत्र मानिन्छ । त्यहाँ छेवैमा नेपाली मन्दिर पनि छ । खाना खाएर बाहिर निस्केको मात्र थियौं ‘शिलङ–शिलङ’ भन्दै रहेछ। घड़ी हेऱ्यौँ, १ बज्दै रहेछ, बेलुका ४ः३० मा शिलगढी फर्किने टिक्ट जुन बसमा आएका थियौं त्यही बसमा भनेको पनि थियौँ । बिहान आएको बस डाइभर अङ्कललाई फोन गरेर हामी नजाने भन्यौँ । शिलङ जाने गाडीमा चढ्यौ । ट्राफिकले गर्दा धेरै जाम थियो । पुग्दा-नपुग्दै रात पऱ्यो । गुवाहटी-शिलङ ३-४ घण्टा भनेर हिँडेको जामले गर्दा हामीलाई पुग्न समय लाग्यो । गुवाहाटीदेखि शिलङ हामी सानो गाडीमा यात्रा गएका थियौँ । त्यहाँको सडक राम्रो थियो । शिलङ पुग्दा बेलुकी ७ः३० भएको थियो । गाडी बिसाउनीको छेउमा सोध्दा यति बेला घुम्ने ठाउँ भनेको ओ बी सपिङ मल, अरू पसल र होटलहरू खुल्ला हुने बुझ्यौँ । अनि हामी अटो लिएर ओ बी मल गयौँ, घुम्यौँ । मल संस्कृति भारत भित्रिएपछि हामी युवावर्गका लागि मन्दिरै भएका छन् । किन तान्छ-तान्छ !
मल घुमिसकेर ओजोन रेस्टुराँ गयौँ, डिनर गर्यौँ । ‘गाडीमा चढेर शिलङ डिनर गर्न आएको जस्तै भयो है’ भनेर कुरा गर्यौँ । धन्न गुवाहटी, कोहिमा, सिलचरतिर जाने गाडीचाहिँ रातभरि नै चल्दो रहेछ र पाउँदो पनि रहेछ । कुनै तोकिएको समय हुँदैन रहेछ, गाडी भरिएपछि हिँड्ने चलन रहेछ भनेर बुझ्यौँ फेरि गुवाहटी आउने गाडीमा चढेर रातिको यात्रा गरेर गुवाहटी आयौँ ।
बिहानको ४ बजे गुवाहटी ओर्लियौँ । गुवाहाटीको बस बिसाउनीमा मुख धोयौँ । शौच गयौँ । छेउको चिया पसलमा चिया पिउँदै वरिपरिका मान्छेलाई शिलगढी जाने गाडी बिहान पाउने–नपाउनेबारे सोध्यौँ । बिहान नपाउने पत्तो लाग्यो । बेलुकीको बस कुर्दा भोलि सोमबारको स्कूल नभ्याइने । फोनमा चेक गऱ्यौँ विमानको टिकट । बिहान ९ः३० को रहेछ । एउटा अटोमा बसेर विमानस्थल गयौँ । त्यहाँ पुग्दा ८ बज्न लाग्दै रहेछ । गुवाहाटीबाट १८ किलोमीटर टाडामा बोरझार स्थित लोकप्रिय गोपीनाथ बरदलै अन्तरराष्ट्रिय विमानस्थल छ । यहाँबाट दिल्ली, कलकत्ता, अगरतला, इम्फाल, बागडुग्रा, डिब्रूगढ़, जोरहाट र लीलाबारीको सिधा टिकट पाइने सुविधा रहेछ । त्यहाँ गएर टिकट गर्यौँ अनि ९ः३०को उडान भ्यायौँ । टिकट हातमा परेपछि ढुक्क भयो ।
१०ः३० मा त बाघडुग्रा विमानस्थल पनि आइपुग्यौँ । धन्य सेनाले बनाइदिएको हुनाले हामीले एउटा विमानस्थल छ । बागडुग्रा विमानतल पश्चिम बङ्गालको दार्जिलिङ जनपदभित्र शिलगढी क्षेत्रको बागडुग्रा नामक स्थानमा स्थित छ । यसको कोड हो IXB, यो एउटा सैन्यहवाई अड्डा हो, यहाँ कस्टम्स विभाग उपस्थित छैन । प्रणाली पनि यान्त्रिक छैन । यसको उड़ान पट्टीको लम्बाई ९००० फीट । पहिले बाघ दगुर्ने ठाउँ बाघदुगुरा अब नगर भएको छ । अब त एशियन हाइवे पनि बाघडुग्रा भएरै बङ्गलादेश पुग्ने भएको छ । विकास हुँदोछ । पर्यावरण तर जोगियोस् ।
विमानस्थलबाट अटोमा बसेर हामी शिलगढी जङ्क्शन आयौँ । लाग्यो अब सिक्किम । गाडी गुड्यो । पुग्यो । सिङ्ताममा आएर डिक्चु जाने टिक्ट गऱ्यौँ तर डिक्चु जाने गाडी भरिएन । सिङ्ताममा लागेको मेला पनि घुम्न पायौँ । गुर्नी खेल्यौँ । त्यसमा एउटा काइँयो पऱ्यो । घुमियो, र पनि डिक्चुको गाडी नभरिएको । हन बल्ल ४ बजे गाडी भरियो । ५ः३० बजे बेलुकी, आइतबार साँझ डिक्चु पुग्यौँ ।
शुक्रबार बेलुकी निस्केर आइतबार बेलुकीसम्म गुवाहाटी र शिलङ पुग्न-घुम्न भ्यायौँ । र, सोमबार स्कूल पनि ठ्याक्कै भ्यायौं । आँटै त हो १






