राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक ‘कबाल्स एन्ड कार्टेल्स’ सार्वजनिक

काठमाडौं,
साउन २२ ।

पत्रकार, लेखक एवम् वल्र्ड बैंकमा लामो समय काम गरेका राजीव उपाध्यायको अर्थराजनीतिक पुस्तक कबाल्स एन्ड कार्टेल्स सार्वजनिक भएको छ । बिहीबार आयोजित एक समारोहमा अर्थशास्त्री विश्व पौडेल, वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्ट, पत्रकार किशोर नेपाल र लेखक उपाध्यायले पुस्तक लोकार्पण गरे ।

पत्रकार किशोर नेपाल मध्यस्तकर्ता रहेको कार्यक्रममा अर्थशास्त्री पौडेलले उपाध्यायको पुस्तकले नेपालले बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्वहुँदै गणतन्त्रात्मक मुलुकसम्म आइपुग्दासम्मका परिवर्तनलाई सूक्ष्म रुपमा केलाएको बताए । विश्व बैङ्कमा कर्मचारीका रुपमा काम गर्ने क्रममा उपाध्यायले देखेको समाज एवम् देश परिवर्तनमा प्रतिष्ठित व्यक्तिहरुको केकस्तो भूमिका थियो भन्ने विषयबारे पुस्तकमा चर्चा गरेको उनको भनाइ छ ।

सरल एवम् सहज किसिमले लेखिएको पुस्तक नेपालको अर्थराजनीति बुझाउने ऐना भएको उनले बताए । पुस्तकले पछिल्लो समयको नेपालको अर्थराजनीतिक अवस्थालाई राम्रोसँग केलाएको उनको भनाइ छ । पुस्तकमा उपाध्याले देशको बिग्रँदो अर्थतन्त्र, त्यसमा विदेशीहरुको भूमिका आदिलाई पनि सटिक रुपमा चर्चा गरिएको उनले बताए ।

कार्यक्रममा वुमेन लिडकी कार्यकारी निर्देशक विष्टले पुस्तकले नेपालको राजनीतिक एवम् आर्थिक परिवर्तनलाई उत्कृष्ट किसिमले वर्णन गरेको बताइन् । ‘यो पुस्तक उनीहरुले अवश्य पढ्नुपर्छ, जसले नेपालमा वैदेशिक सहायताको ‘भुलभुलैया’ र त्यसको आन्तर्य बुझ्न चाहन्छन्,’ उनले भनिन्, ‘पुस्तक अध्ययन गरेपछि मलाई एउटै शब्द बारम्बार आयो-गज्जब ।’ नेपाल आउने विदेशीहरुलाई नेपालका बारेमा बुझ्न सघाउने पुस्तक कुन दिऊँ भनेर सधैं दोधार हुने गरेको उनको भनाइ छ । तर अब उपाध्यायको पुस्तकले त्यो दोधार हटाइदिएको उनले दाबी गरिन् । विदेशी मात्र नभई नेपाललाई बुझ्न चाहने जोकसैले यो पुस्तक अध्ययन गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा पत्रकार नेपालले उपाध्यायको यो पुस्तक समकालीन नेपालको जीवन्त तस्बिर रहेको बताए । ‘नेपालबारे अंग्रेजी भाषामा लेखिएका पुस्तक धेरै छन्,’ उनले भने, ‘तर पनि ती पुस्तक पर्यटकीय चरित्रका छन् । राजीवले यो पुस्तकमा देशको यथार्थ अवस्था खुलाएका छन् ।’ उपाध्यायको पुस्ताले गर्न चाहेको र गरेका विषय पनि पुस्तकमा समेटिएको उनको भनाइ छ । पुस्तकको भाषा सरल एवम् सलल बगेको उनले बताए । देशको विगतलाई रि भिजिट गर्न पनि पुस्तक उपयोगी हुने उनको धारणा छ ।

उक्त अवसरमा लेखक उपाध्यायले पुस्तक लेख्नुका कारणबारे खुलाएका थिए । नेपालको पछिल्लो राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु पुस्तकको मुख्य उद्देश्य रहेको उनले बताए । पञ्चायतकालदेखि गणतन्त्रसम्म आउँदा देशमा धेरै परिवर्तन आए, विभिन्न संक्रमणको साक्षी हाम्रो पुस्ता भयो, तर परिवर्तनका लागि अहिलेको पुस्ताले उल्लेख्य काम गर्न नसकेको उनको भनाइ छ । सधैंको राजनीतिक खिचातानी, भागबन्डा आदिले देशलाई कसरी थिलथिलो बनाए भन्ने विषयमा पाठकले थाहा पाऊन् भनेर पुस्तक लेखेको उनले बताए । अर्थराजनीतकिो कटुयथार्थलाई बेवास्ता गर्दै विगतमा गरिएका राजनीतिक घटनाक्रमलाई आफूले यहाँ समेटेको उनले जानकारी दिए ।

पूर्वअर्थमन्त्री देवेन्द्रराज पाण्डेले उपाध्यायको यो पुस्तकले नेपालको विकास एवम् अन्तर्राष्ट्रिय सहायता र देशको परिवर्तित राजनीतिक अवस्थाप्रति ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार