थप ३ सय ११ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १९ हजार ६३ पुग्यो

काठमाडौं,
साउन १३ ।

थप ३ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३ सय ११ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ ।

बितेको २४ घण्टामा ५ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएको छ । हालसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको परीक्षण भइसकेको छ ।

गत २४ घन्टामा १ सय २१ डिस्चार्ज भएका छन् । योसँगै १३ हजार ८ सय ७५ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । क्वारेन्टाइनमा १५ हजार ३ सय ३१ र आइसोलेसनमा ५ हजार १ सय २९ जना रहेको प्रवक्ता डा. गौतमले जानकारी गराए ।

सरकारले उपत्यका छिर्ने मुख्य नाकाहरुमा कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिरहेको छ । आज दिउँसो ४ बजेसम्म फर्पिङ नाकाबाट ४ सय ५५, थानकोट नाकाबाट २ हजार ९ सय १४ र साँगा ९ सय ४४ गरी ४ हजार ८ सय १३ वटा नमुना सङ्कलन गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस सङ्क्रमणबाट बझाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनी दमका रोगी थिए ।

यसमा तपाइको मत

अन्य समाचार