काठमाडौं,
साउन १२ ।
थप १ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय ३९ जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १८ हजार ७ सय ५२ पुगेको छ ।
नयाँ सङ्क्रमितमा सप्तरीका २१, सिरहाका १, धनुषाका १०, महोत्तरीका १०, पर्साका २०, काभ्रेपलाञ्चोकका १, ललितपुरका ३, काठमाडौँका ३, कास्कीका ३, बाँकेका १, रुपन्देहीका १, सुर्खेतका १, दैलेखका २८, सल्यानका २ र बैतडीका ४ जना रहेका छन् ।
पछिल्लो २४ घन्टामा ६ सय २६ जना कोरोना सङ्क्रमित कोरोनामुक्त भएर फर्किएका छन् । योसँगै हालसम्म निको हुनेहरुको सङ्ख्या १३ हजार ७ सय ५४ जना पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९ सय ५० रहेको छ । प्रदेश १ मा १ सय ९५, प्रदेश २ मा एक हजार ९ सय ११, वागमती प्रदेशमा ४ सय २, गण्डकी प्रदेशमा २ सय ४४, प्रदेश ५ मा ३ सय ५३, कर्णाली प्रदेशमा ३ सय ७५ र सुदूरपश्चिम प्रदेशमा एक हजार ७ सय ४० सक्रिय सङ्क्रमितहरु रहेका छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेको प्रवक्ता डा. गौतमले जानकारी गराए ।
पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ । उनी मुटु तथा मधुमेहका रोगी थिए ।
धनुषाका पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ ।
बाराका ६० वर्षीय वृद्धको त्रिवि शिक्षण अस्पतालमा मृत्य भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी निमोनीया, मष्तिष्कघात र मृगौलासम्बन्धी रोगबाट ग्रसित थिए ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।






