- डा. किरण पौडेल
जन्मेका नवजात शिशुलाई आफ्नो आमाको दुध नखुवाई बजारमा अनेक प्रकारका प्याकेटहरुमा उपलब्ध पाउडरका दुध खुवाएको देख्नु भएको, खुवाउनु भएको वा सुन्नु भएकै होला । आफ्नो कार्य व्यस्ततामा बच्चा जन्मनु भनेको काम गर्ने शैलीमा वा काममा रुकावटसरी मानेर नवजात शिशुलाई अरुकै भरमा लालन–पालन गर्न दिने पश्चिमी समाजको विशेषता बन्दै गएको थाहा नै छ । यसप्रकारको व्यवहारले त्यस समाजमा आफू कति व्यस्त छु भनेर देखाउने आधार बनेको छ । समाजमा आफ्नो धन-धान्यको व्याख्या गर्नको लागि र आफ्नो प्रसिद्धिको झलक देखाउन पनि नवजात शिशुलाई अरुको भरमा लालन-पालन गर्दै आएका पनि सुनिन्छ र देखिन्छ । यो पश्चिमी समाजको प्रभाव हाम्रो समाजमा पनि राम्रैसँग परेको छ । नवजात शिशुहरु जन्मन्छन र ती शिशुलाई आफ्नै आमाले केही समयकालको लागि स्तनपान गराएता पनि बच्चाको वृद्धि विकासको लागि पूर्ण समय स्तनपान गराउदैनन् । नेपाली धनि-मनि समाजमा यो सामान्य जस्तै भएको छ भने गरीब समाजमा आमाको नै पोषण राम्रोसँग नभएको हुनाले शिशुले पनि आवश्यक मात्रामा स्तनपानको सेवन गर्न पाउदैनन् । मध्यम वर्गिय समाज पनि यस विषयबाट अछुतो छैन । यसरी तथ्याङ्क हेर्दा ४२. ८० प्रतिशत शिशुहरु आमाको स्तनपानमा निर्भर नभई अन्यत्रको दुधसँग निर्भर भएर जीवनको सुरुवात गर्दछन् । विश्वमा ६० प्रतिशत शिशुहरु आमाको स्तनपान दुधको सेवन गर्न पाउदैनन् । शिशुहरु जन्मे देखि नै आफ्नो शरीरलाई हितगर्ने माताको स्तनपान गर्न नपाउदा कुपोषणजन्य अनेक रोगहरुको सिकार हुन पुग्दछन ।
नेपालको तथ्याङ्कमा शिशुहरु जन्मेको एक महिना भित्रमा ७.५५ ले स्तनपानलाई अरु द्रव आहारले विस्तापित गर्ने गरेको देखिन्छ भने १७प्रतिशत शिशुले छ महिना र २३.८ प्रतिशत शिशुले नौ महिनामा स्तनपान छोडी बाहिरी खानाले प्रयोग कमसेकम दिनमा एक पटक गरेको पाईन्छ । बजारमा उपलब्ध अनेक प्रकारका पाउडरका दुधहरु, प्याकेटमा उपलब्ध दुधहरु, पोषण तत्व भनेर बेचिने पाउडरहरु नवजात शिशुकालागि दुग्ध रुपि विष समान हो ।
यस्ता पाउडर युक्त दुधहरुको विश्व बजार धेरै ठूलो र फुस्टाउदो छ । पत्रु भनेको बासी, सडे–गलेको, तयार गरिएको भन्ने बुझिन्छ । यस्ता प्याकेटहरु सहजै उपलब्ध हुने शिशुको आहार तर शिशुको हितमा नहुने हुन्छ । यस्ता आहारहरु माता पिताले शिशुको लागि जीवनभर रहने विषको समानको आहार खुवाई रहेका हुन्छन् । यस्ता आहार खुवाउनाले आमा–बुबाले शिशुलाई जन्मने वितिक्कै रोगको उपहारको पोको दिए समान हुन्छ । यस्ता प्याकेटमा उपलब्ध पोषण तत्व भनिने आहारहरु पच्नलाई लामो समय लाग्दछ र शिशुको पाचन प्रणाली धेरै विकसित न भई सकेको हुनाले शिशुको शरीरमा हानि गर्छ । दीर्घकालिन रोगहरु जस्तै मधुमेह, दम, छातिको रोग, शरीरको प्रतिरक्षा प्रणाली कमजोर गर्ने र जीवनको अन्तिम समय वृद्धावस्थामा उत्पन्न हुने रोगहरु त्यस अबोध शिशुलाई आमा बुबाले जन्मनु साथ उपहार जसरी प्रदान गर्दछन् । यसमा शिशुको दोष हुन्न आमाबुबालाई यो कुरा थाहा हुदा पनि पत्रु आहार खुवाउने आमाबुबाको सोचलाई पनि पत्रु मान्नुपर्छ ।
शिशु जन्मेपश्चात् दोस्रो महिनाको अन्तिम समय सम्म स्तनपायी आमाको दुध नै सेवन गराउनुपर्छ । मातृ स्तन्यपान शिशुको लागि सुपाच्य, बलबर्धक, सङ्क्रमण रहित, माताको स्तन क्यान्सर रोधक, गर्भाशयको प्राकृत स्थिति स्थापक, शिशुको बलबर्धक र शिशु र आमाबीचको स्नेह तथा माया प्रेम बढाउने हुन्छ । यदि शिशुको जन्म भएको तर माताको मृत्यु भएकोमा, गम्भिर रोगबाट ग्रसित भएकोमा, दुध नआएकोमा वा विकृत आएकोमा हाम्रो समाजमा धाई आमाको ब्यवस्था गरेर शिशुलाई दुध सेवन गराएको कुरा त सुन्नु भएकै होला वा भोग्नु भएकै होला, यो सबै भन्दा उत्तम व्यवस्था हो । यदि धाई आमाको पनि व्यवस्था हुन नसके गाईको, भैसिको वा बाख्रीको दुध सेवन गराउन सकिन्छ, यो प्याकेटको पाउडर दुध भन्दा अति हितकर हुन्छ ।
बालबालिकाहरुको एक वर्ष आयु हुँदा खिचडी, हलुवा, दुध, साधा उकालेको चामल, मूंगको दाल, दुधमा भिजाएको गहुँको रोटी खानाको रुपमा दिनु हितकर हुन्छ । आलु, लौका, परवल, पालुङ्गो जस्ता सहजै पच्ने सब्जीहरु, केरा, आँप, मेवा, जस्ता फलफुलहरु खान दिनु पथ्य हुन्छ । बच्चाहरूलाई पोषक लिटो जस्तै पुरानो चामल, गहुँ, जौ भुटेर दुध, घिउ तथा थोरै नुन राखेर लिटो बनाई खान दिनुपर्दछ। यो पुष्टिबर्धक, सहजै पच्ने र बालबालिकाहरुको लागि अत्यन्तै हितकर हुन्छ । हाल उपलब्ध सर्वोत्तम लिटो बालबालिकाहरुको लागि लाभकर हुन्छ । सरकारद्वारा विद्यालयमा बालबालिकाहरूको लागि उपलब्ध गराईएको लिटो, पत्रु खानाको अगाडि अमृत समान हुन्छ ।
पाउडर दुधमा जीवन शुरु गरेका शिशुहरु बढ्नासाथ दोस्रो तहको पत्रु आहारको शिकार हुन्छन् । घरबाहिर सहजै उपलब्ध चाउचाउ, चाउमिन, मःम, पिज्जा, कोकाकोला, फोन्टा, स्प्राईट, ईनजी ड्रिङ्सहरु, बर्गर, दालमोठ, केक जस्ता पत्रु खानपिन बालबालिकाहरुको स्वास्थ्य प्रत्यक्ष हानी गर्ने खानपिनहरु हुन् । यस्ता पत्रु आहारमा पोषण तत्वको मात्रा शुन्य, बोशिय तत्व, नुनको मात्रा, चिनिको मात्रा, अमिलोपनको मात्रा अधिक हुन्छ । यस्ता आहारहरु बजारमा रेसादार पदार्थ छ, प्रोटिन छ, लौहत्वको मात्रा छ भन्दै गलत प्रचार गरेर बेच्दछन । अबोध बालबालिकालाई यस्ता पत्रु आहार हितकर हुदैन भनेर थाहा पाउदा पनि कोशेली जसरी लैजाने आफन्तजन, मान्यजनहरुको सोचविचार पनि पत्रु नै हो ।
नेपालमा बालबालिकाहरु र युवावस्थाका मानिसहरुले खानपिन अध्ययन गर्दा तथ्याङ्कमा लगभग ६०प्रतिशत बालिका, युवतिहरुले पत्रु खाना खाने गरेका र बालक, युवाहरुका ४७ प्रतिशतले यस खाजा–खाना खाने गरेका तथा एक दिनको अन्तरमा एक छाक खाना कै रुपमा पत्रु खाना खाने गरेको तथ्याङ्कले देखाउछ । यस्ता खाना खानु हुँदैन भन्ने सोचहरु यो वर्गमा आई सकेको पनि तथ्याङ्कले देखाउछ । थाहा हुदाँहुदै पनि मनोरञ्जनका लागि, खाजाका लागि, खाना नै यसलाई बनाएका यो वर्गको सोच नै पत्रु हो भने ब्यपारको लागि, प्रचारको लागि र करको लागि यस्ता खानपिनमा प्रोत्साहन गर्ने व्यापारी, प्रचारक, उद्योगपति र सरकार समेत पत्रु हो ।
अध्ययन–अनुसन्धानको अनुसार पत्रु आहार सेवनले बालबालिका तथा युवा वर्गहरुलाई ठूलो क्षति गर्ने देखाउँछ । यसले मोटापा बढाउने, सोच्ने र पढ्ने क्षमता पूर्णरूपमा घटाउने, मानसिक अवसाद गराउने, पाचन शक्तिको क्षय गर्ने, प्रजनन शक्तिमा पूर्ण हानी गर्ने, शरीरको वृद्धि र विकासमा बाधक हुन्छ ।
अधिक अमिलो, पिरो, नुनिलो मिस्रित आहार सेवनले प्रत्यक्ष रुपमा महिला तथा पुरुषको प्रजनन संस्थालाई हानी गर्दछ । महिलाहरुमा बन्ध्यत्वको समस्या दिनानु दिन बढ्दो छ भने पुरुषमा पुंस्त्वको समस्याले विकराल रुप लिदैछ । विश्वमा बिवाहित दम्पतिहरु मध्ये ८.१२प्रतिशत बन्ध्यत्वको शिकार हुने गरेका छन् भने नेपालमा १३.१५ प्रतिशत बिवाहित दम्पतीहरुमा बन्ध्यत्वको समस्या पाईन्छ । दश बिवाहित जोडीहरु मध्य कमसेकम एकलाई बन्धयत्वको समस्या हुन्छ र यो बढ्दो क्रममा छ । पत्रु आहार सेवन गर्ने महिला, पुरुषमा यस्ता आहार कम सेवन गर्ने वा नगर्ने भन्दा अधिक बन्ध्यत्व पाईन्छ । अध्ययन अनुसार ८प्रतिशत महिलाहरुमा बन्ध्यत्वको समस्या पत्रु आहार सेवन नगर्दा पनि देखिएको र १६प्रतिशत महिलामा हप्तामा कम्तिमा पनि चार पटक पत्रु खाना–खाजा खाएकोमा बन्ध्यत्वको समस्या यस्ता आहारले गर्दा बढेको देखिन्छ । पुरुषमा पुंस्त्वको समस्यामा पत्रु आहार सेवन नगरेतापनि १७ प्रतिशतमा तथा पत्रु आहार सेवन गर्नेहरुमा ५३ प्रतिशथ मा पुंस्त्वको समस्या देखिएको छ ।
उमेर बढेसँगै दीर्घकालिन रोगहरु, शोकहरु, मानसिक तनावहरु, बसोवासको अव्यवस्थिति, पथ्य र हितकारी आहारको सेवनको अभाव, पत्रु आहारहरु जीवनको पहिलो कालखण्डदेखि निरन्तर सेवन तथा शारीरिक अन्य कारणहरुले बाझोपनको समस्या बढाउदै छ । शिशुको जन्म देखि राम्रो आहार सेवन, पोषिलो हितकारी आहारको सेवन, बाल्यकालमा घरमा तयार भएका मौसम अनुसारका खाजा-खाना, यूवावस्थामा पत्रु आहारहरुको कम सेवन वा सेवन नै नगरेमा बिवाह पश्चातको जीवन सन्तति युक्त तथा दीर्घायु हुन्छ ।
तसर्थ, शिशु जन्मे पश्चात् उसलाई आमाको दुध खुवाउदै हुर्काउने, बालबालिकाहरुलाई अन्न खाने समयमा पोषिलो घरमा तयार गरिएको मौसम अनुसारको खाजा–खानाको व्यवस्था गर्ने, यूवावस्थामा सकेसम्म यूवा-युवतिहरुले घरमा तयार भएको खाना खाने, राम्रो सफा निवासमा बस्ने, मनलाई शान्त गराउने गरेमा बैवाहिक जीवन र सो पश्चातको जीवन दीर्घायुमय बनाउन सकिनेछ ।
(लेखकः राष्ट्रिय आयुर्वेद संस्थान, जयपुरमा आयुर्वेद स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ)






