भक्तपुर,
साउन ६ ।
शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुती एवम् भक्तपुर साङ्गीतिक समाजको आयोजनामा स्वर्गीय गायक अरुण थापाको २१ औं स्मृति दिवस साउन ५ गते सोमबार भक्तपुरमा सम्पन्न भएको छ । विषम परिस्थिति भएकोले यसपटक यो कार्यक्रम सामाजिक दूरी कायम गरि सोशल मीडियाबाट प्रत्यक्ष प्रसाररण गरि आयोजना गरिएको हो ।
कार्यक्रममा अरुण थापाका ९ वटा लोकप्रिय गीत म्युजिकल ट्र्याकमा गाएर प्रस्तुत गरिएको थियो । भक्तपुरका स्थानिय कलाकारहरु गौतम श्रेष्ठ, बिनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्र लाल कर्माचार्य, गंगाराम रञ्जीतकार, प्रबिन शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्बश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय गायक अरुण थापाका गीतहरु प्रस्तुत गरेका थिए ।
त्यसक्रममा कलाकारहरुले ‘करोडौं मुटुहरुको एउटै’, ‘चोट के हो’, ‘जति माया लाए पनि’, ‘म रोए पनि’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘आँखाको नीद’, ‘ऋतुहरुमा तिमी’, ‘लाग्न थाल्यो जीवनमा’, ‘साँझको जुनसंगै’ प्रस्तुत गरिएको थियो ।
कार्यक्रम गीतकार सुवास चन्द्र ढुङ्गेलकोसमेत उपस्थिति थियो भने समाजका सल्लाहकार तथा प्राज्ञ ध्रुब मधिकर्मी पनि उपस्थित हुनुहुनथ्यो । प्रत्यक्ष प्रसाररण गरिएको उक्त कार्यक्रममा प्रस्तुति दिने कलाकारहरु बाहेक अरुलाई निम्ता गरिएको थिएन । त्यसका लागि आयोजक संस्थाले सङ्गीतप्रेमीसँग क्षमायाचना गरेको छ ।
क्यान्सर रोगका कारण ४७ वर्षको उमेरमा आज भन्दा २१ वर्षअघि साउन ५ गते यो संसारबाट वीदा भएका गायक अरुण थापा बिछोड र बेदनाका गीतका पर्यायको रुपमा सधैं अमर रहने छन् । समारोहलाई सम्बोधन गर्दै समाजका सल्लाहकार तथा गीतकार सुवास चन्द्र ढुङ्गेलले भन्नु भयो– ‘मान्छेहरुको मूल्याङ्कन गर्दा नराम्रा पक्ष मात्र होइन राम्रा पक्ष पनि हेरिनुपर्छ । स्वर्गीय गायक अरुण थापाका धेरै राम्रा पक्ष र थोरै नराम्रा पक्ष रहेको र नेपालको साङ्गीतिक इतिहासमा थोरै गीत गाएर पनि अत्यधिक चर्चित हुनु भएका निकै कम गायकमा अरुण थापा परेका थिए ।’
शुभारम्भ द म्युजिकल जर्नीले भक्तपुर साङ्गीतिक समाजसँग सहकार्य गरेर गायक अरुण थापालाई स्मरण गरेर कार्यक्रम आयोजना गर्न थालेको यो तेस्रो अवसर हो ।
समाजका सल्लाहकार तथा प्राज्ञ ध्रुब मधिकर्मीले आफ्नो धारणा व्यक्त गर्दै भन्नु भयो- ‘कला र कलाकारितामा भक्तपुरपछि छैन, मात्र एउटा मौका र अवसर पर्याप्त हुन सक्छ कलाकारका लागि ।’
कार्यक्रमका संयोजक सङ्गीतकर्मी अल्बर्ट बज्राचार्य भन्नु हुन्छ- ‘लकडाउनको समयमा समेत हामीले सामाजिक दुरी कायम गर्दै यो कार्यक्रम आयोजना गर्न सफल भएका छौं । हामीलाई प्रत्यक्ष प्रसारणबाट साथ दिनुहुने सम्पूर्ण दर्शकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । विषम परिस्थितिकै कारणले हामीले यो वर्ष स्रष्टा सम्मान गर्न सकेनौं, आगामी वर्षदेखि यो कार्यक्रममा स्रष्टा सम्मानलाई निरन्तरता दिने छौं ।’
उक्त कार्यक्रमलाई सफल पार्नका लागि मुख्य प्रायोजक गुड्विल कन्सल्ट, टिभी पार्ट्नर भादगाउँ टेलिभिजन, अनलाइन पार्टनर कलाकर्मी डटकम, फोटोग्राफी पार्टनर पिक्सेल प्रोडकसन नेपाल, भेन्यू पार्टनर टिशा ईन लन्ज एण्ड बार रहेका थिए ।






