आज साउनको पहिलो सोमबार, शिवजीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं,
साउन ५ ।

आज साउन महिनाको पहिलो सोमबार । साउन महिना भगवान शिवजीको विशेष महिनाका रुपमा लिइन्छ । साउने सोमबार दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहीआएको छ । आज सोमबारे औँसी पनि पर्न गएको छ । जुन सोमबारको दिन औंशी पर्दछ त्यहीँ दिनलाई सोमबारे औंशी भनिन्छ । सोमवार र औंशी संयोग भने कहिलेकाहीँ मात्र पर्दछ ।

यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । यो महिना र दिन शिवको स्तुति मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रहीआएको छ ।

आजको दिन आराध्यदेव पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइचो लाग्ने गरेको भएपनि यसवर्ष भने कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण घरमै वा नजिकैको शिवालयमा पूजा आराधना गरिदैछ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यस वर्ष साउनमा चार सोमबार परेका छन् । चारवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरापोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुलेको छैन । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुलेको हो । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले मन्दिर खुला नगरिएको पशुपति बिकास कोषले जनाएको छ ।

नेपालमा कोरोनाको सङ्क्रमण देखिएपछि गत चैत्र ११ गतेदेखि बन्द भएका पशुपतिनाथका ढोकाहरु भक्तजनहरुका लागि अझै खुलेका छैनन् । ढोका नखुले पनि भक्तजनको आस्था छेकिएको छैन र भक्तजनले बाहिरैबाट पूजा आराधना गरेका छन् ।
लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, भिडभाड बढी हुने मठमन्दिरलगायतका क्षेत्र भने खुलेका छैनन् ।

यसमा तपाइको मत

अन्य समाचार