हनुमान
हिजो पनि दास
आज पनि दास
फरक यति मात्र छ कि
हिजो रामका दास
आज बद्नामका दास ।
हनुमानहरूको अधिकार रक्षाका लागि
कोही बाल्मीकि बनेर अघि आउन सकेनन्
सुग्रीवका स्वार्थका लागि
हिजो हनुमानहरूको बली चढाइयो
आज राष्ट्रियताका लागि
हनुमानहरू सहिद बनाइँदै छन्
हिजो पनि हनुमान दास
आज पनि हनुमान दास
हिजो रामका दास
आज हरामका दास ।।
रामलाई राम बनाउन
हनुमानको हात छ
रामलाई राम बनाउन
लक्ष्मणको हात छ
रामलाई राम बनाउन
सीताको हात छ
रामलाई राम बनाउन
रावणको पनि अतुल हात छ
तर इतिहासले सधैँ अन्याय मात्र गरेको छ
राम रामकै खुट्टामा उठेको भन्छ
राम रामकै आदर्शमा मात्र उठेको भन्छ
राम रामकै शक्तिमा मात्र उठेको भन्छ
खासमा
रामलाई राम बनाउने भनेका
हनुमान
लक्ष्मण
सीता
र रावणहरू हुन्
सबैसबै आफ्ना भूमिकामा खम्भीर नउत्रिएका भए
राम राम हुन सक्ने थिएनन्
राम बद्नाम हुने थिए ।।
राम बद्नाम भएका भए
विचरा हनुमानहरूको
अस्तित्व संकटमा पर्ने थियो
हिजो पनि
र आज पनि ।।






