मौसम अनुसार हाम्रो खाना र स्वास्थ्य

  • डा. किरण पौडेल

हामी नेपालीहरुले असारको पन्ध्र गते धान दिवस मनाउँदै दही चिउरा खाने प्रचलन धेरै समयकाल पूर्वदेखि चल्दै आएको छ । गाउँ–घरमा असारे रोपाइँको चटारो परिरहदा खेतमा काम गर्दै, दही चिउरा खादै रोपाईमा कृषकहरु तल्लिन रहन्छन् भने शहरमा असार पन्ध्र नै पारेर दही चिउरा खाने कार्यक्रमहरु आयोजना गर्दछन् । त्यसरी नै साउन पन्ध्रमा खीर खाने परम्परा कै रुपमा चल्दै आएको छ ।

असार-साउन महिना वर्षा अधिक हुने समय हो । बैशाख-जेठ महिनाहरुमा घामको ताप अधिक हुन्छ । पानी पर्ने सम्भावना कम हुने हुनाले जमिनमा सुख्खापन पनि ज्यादा हुन्छ । बैशाख-जेठको तापिलो घामको कारण जमिनमा रुखोपन बढेको हुन्छ । जमिनमा उत्पन्न हुने खाद्यान्नमा मानिस-पशुपन्छिलाई आवश्यक पर्ने आधारभुत खाद्य तत्वहरुको कमी हुन्छ, घामको ताप बढ्दो हुनाले घामको तापले जमिनबाट पानीलगायतका जलिय तत्वहरु वाफ बनाई नष्ट गर्दछ र गर्मीले बैशाख-जेठमा मानिस आक्लान्त हुदैँ जान्छ । थकाबट बढ्छ भने शरीरमा काम गर्ने शक्तिको पनि कम हुदै जान्छ । यसरी मानिसको शरीर दुर्बल हुन्छ । यस शरीरमा वातावरणीय प्रभावको कारण पाचन शक्तिको कमि हुन्छ ।

असार-साउनमा आकाशबाट परेका पानी, घामको तापले गर्दा अधिक तातेका हुन्छन् र जमिनका पानी वाष्प बनेर आकाशमै जाने क्रम पनि चलिरहेको हुन्छ । यस वातावरणीय प्रकृयाले गर्दा मानिसको दुर्बल शरीर अझै क्षीण हुन्छ । खाना पचाउने शक्ति धेरै कम हुन्छ, पानी अधिक पर्नाले मानिसले प्रयोग गर्दै आएको स्वच्छ पानी पनि धमिल्लिन गई फोहोर हुन्छ र कमजोर शक्ति भएको मनिसको शरीरमा फोहोर पानी कै कारण अनेक रोगहरु उत्पन्न भई विमारी हुन सक्दछन् । पानीबाट फैलने सङ्क्रामक रोगले सङ्क्रमित हुने सम्भावना अधिक हुन्छ । मानिसले आफुले खाएको अन्न नै पचाउन नसक्ने हुनाले शरीरमा रोग उत्पन्न हुनु निश्चित झै हुन्छ ।

तसर्थ, अन्न पाचन शक्ति बढाई शरीरको बल बढाउनु अति आवश्यक हुन्छ । पाचन शक्ति बढाउनको लागि हरेक गाउँ–गाउँमा मानिसहरुले औषधिको प्रयोग गर्नु कल्पना गर्नु बाहेक अन्य उपाय हुन्न । शरीरलाई आवश्यक पर्ने तत्वको पुर्ति आहारबाट नै हुन्छ । असार–साउन महिनामा आहार त्यस्तो हुनुपर्छ जसले शरीरलाई बल दिनुको साथै अन्न पचाउन पनि सजिलोहोस् । तसर्थ असारको मध्यमा दही चिउरा खाने प्रचलन छ, जसले शरीरमा आवश्यक पर्ने पाचन शक्तिको निर्माण गर्नुका साथै बल प्रदानगर्छ र साउन मध्यमा खाईने खीरले शरीरमा बल प्रदान गर्छ साथै पाचन कार्यमा पनि सहयोगगर्छ । यो संस्कारले असार-साउन महिनामा खान योग्य आहारहरुलाई दर्शाउछ ।

हामीले सेवन गर्ने दही अनेक स्वाद युक्त हुन्छ– अमिलो, गुलियो, गुलियो–अमिलो, धेरै अमिलो, धेरै गुलियो र कुनै स्वाद नै नभएको । दहीले पाचन शक्ति बढाउने, खानामा रुचि लगाउने र शरीरमा बल बढाउने हुन्छ । दही प्रयोग गर्दा गुलियो दही उत्तम हुन्छ । यो दहीले पाचन शक्ति ठिक राख्ने, पच्नमा सहज हुने, शरीरको रक्षा गर्ने हुन्छ ।

धेरै अमिलो दही र ठिक प्रकारले नजमेको दही खानु हुन्न, यसले शरीरमा हुने रगत र वायुलाई दुषित गर्दछ । दही गाई, भैसी, बाख्राको दुधबाट तयार गरिन्छ । गाईको दुधबाट तयार गरिएको दही सेवन गर्नु राम्रोहुन्छ । यसले खानामा रुचि उत्पन्न गर्नुको साथै सुपाच्य हुन्छ । दही खाँदा मिश्रिको साथ प्रयोग गरेर खाँदा राम्रो फाइदा हुन्छ, शरीरमा यसरी प्रयोग गर्दा शितलता प्रदान गर्छ । रातिमा दही खानु हुँदैन । रातिमा दही खाएमा शरीरलाई आलस्य बनाउने हुन्छ र शिर, घाटी, जोर्निहरुको रोग उत्पन्न गर्नमा सहयोग गर्दछ । चिउराले शरीरमा उत्पन्न विकृत वायुको नाश गरि बल बर्धक, दिसापिसाबलाई शरीरबाट बाहिर फाल्न सहजता उत्पन्न गर्छ । दही चिउराले शरीरमा उत्पन्न दाहको शमन गर्ने, बल बढाउने जस्ता हितकारी कामगर्छ । असार महिनामा यस्तै प्रकारको अन्नपान गरेमा शरीरको रक्षा हुन्छ ।

खीर दुध, घिउ, घिउमा भुटेको चामल, चिनी, किस्मिस, छोकडा, नरिवलको स(सानो टुक्राहरु जस्ता पोशिलो अन्नहरु मिलाई पकाएर तयार गरिन्छ । यसले शरीरलाई बल दिने हुन्छ । असार महिनामा दही चिउरा जस्तो खाध्यान्न खाएर पाचन शक्तिलाई जोगाउदै साउन महिनामा खीर खानाले निश्चय नै शरीरको वृद्धि विकास हुन्छ ।

यसरी असार-साउन महिनामा हलुका, सजिलोसँग पच्ने, पाचनमा सहयोग गर्ने शरीरलाई बल दिने खानपिनको प्रयोग गर्नुपर्दछ । यी महिनाहरुमा पानी तताएर सेलाएको पिउने, पुरानो चामल, गहुँ, मक्कै सेवन गर्नुपर्दछ । सफा कपडा लगाउने, हलुका व्यायाम गर्ने, मनलाई स्थिर राख्ने प्रयत्न गर्नुपर्दछ । यी महिनाहरुमा दिनमा सुत्ने, पानी सफा नगरि पिउने, अधिक पानीमा रुझ्ने, स्त्री सहवास धेरै गर्ने, मैथुन धेरै गर्ने, धेरै व्यायाम गर्ने जस्ता हानिकारक कामहरु गर्नुहुदैन ।

लेखक: राष्ट्रिय आयुर्वेद संस्थान, जयपुरमा आयुर्वेद स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार