– घाँसी माधव घिमिरे
यतिबेला विश्व नै कोभिड-१९ को चपेटामा परेको छ । हरेक प्रकारका उद्योग-व्यवसायहरुमा आ-आफ्नै प्रकारको प्रभाव परेको छ । त्यसमा पनि पर्यटन व्यवसायमा सबैभन्दा बढी प्रभाव परेको अवस्था छ । अन्तर्राष्ट्रिय पर्यटनको अवस्था लगभग पूर्णरुपले स्थगित भएर फेरि उत्साहसाथ नयाँ-नयाँ तौर तरिकाहरु अपनाउँदै केही देशहरुले पुनः सञ्चालनमा ल्याउन थालेका छन् ।
मानिस एक सचेत प्राणी हो । ऊभित्र ईच्छा-आकाङ्क्षाहरुको अनेकन शृङ्खलाहरु हुन्छन् । मिठो खाना दिएर, राम्रो लगाउन दिएर, सुविधायुक्त बासको व्यवस्था गरिदिएर मात्र ऊ सन्तुष्ट हुँदैन । आफूभित्रका अनेकन ईच्छा-आकाङ्क्षाहरुको तलतल मेटाउन मानिस सधैंजसो नयाँ-नयाँ विषयहरुको खोजी गर्दछ । नयाँ-नयाँ ठाउँहरुको अवलोकन गर्न चाहन्छ, जानकारी लिन चाहन्छ । प्रत्यक्ष–अप्रत्यक्ष तरिकाले आफ्नै आँखाले हेरेर, स्पर्श गरेर, संवाद गरेर, प्रयोग गरेर सन्तुष्टी लिन चाहन्छ । यसकारण मानिस पर्यटनको खोजी गर्दछ । तसर्थ, पर्यटन मानव जीवनको अभिन्न अङ्ग हो र यो मानवजगतको एउटा अपरिहार्य पाटो हो । जसरी मानवजगत बिरामी पर्दा अस्पतालले स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदछ, त्यस्तै गरेर मानिसमा उत्पन्न हुने विभिन्न जिज्ञासाहरुलगायत उसमा सिर्जना हुने मानसिक पीडासम्मको उपचार पर्यटनले गर्दछ । यसकारण पर्यटन उद्योगको आवश्यकता अनिवार्य छ र यस व्यवसायको भविष्य सधैं उज्ज्वल छ ।

– घाँसी माधव घिमिरे
पर्यटकीय अवधारणाले मानव सभ्यताको विकाससँगै विभिन्न चरण पार गर्ने सिलसिलामा आन्तरिक पर्यटन, अन्तर्राष्ट्रिय पर्यटन हुँदै अन्तरिक्ष पर्यटनको अवधारणा पनि विकसित हुँदै गएको परिवेशमा हाम्रो जस्तो मुलुक, जहाँ पर्यटनको पर्याप्त अवसर र सम्भावनाका बीच पनि त्यसलाई व्यवस्थापन गरी कार्यान्वयनमा ल्याउँदै यथेष्ट फाइदा लिन नसकिरहेको अवस्थामा यस व्यवसायमा आबद्ध व्यवसायीहरुले व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका बाधा-व्यवधान र सङ्घर्षका अनेकौं कथाहरु छन् । व्यावसायिक सङ्घर्ष र यसभित्रका उतारचढाव त छँदै थियो, त्यसैमा प्रकृतिले पनि यस व्यवसायमाथि बारम्बार आक्रमण गरिरहेको छ । मानवजीवनको अत्यावश्यक क्रियाकलापमा भन्दा अतिरिक्त क्रियाकलापमा सरोकार राख्ने यस व्यवसाय, अत्यन्त संवेदनशील व्यवसायमध्येको हो, जहाँ मानव स्वभावभित्रबाट जागृत जिज्ञासु भावनालाई सन्तुष्ट बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष अनेकन क्रियाकलापहरुको खाँचो पर्दछ । व्यावसायिक सेवा सुविधामा थोरै मात्र पनि तलमाथि पर्दा र सानो जस्तो लाग्ने घटना वा क्रियाकलापले पनि यस व्यवसाय तुरुन्तै प्रभावित भई ठूलो उतारचढाव आइदिन्छ । विगतका लामो इतिहासलाई छाडेर हालैका केही वर्षयताका घटनाहरुलाई मात्र नियाल्दा पनि त्यो इरान, इराकको युद्धको बेला होस् वा अमेरिकामा घटेको ९/११ को आतङ्ककारी आक्रमणको बेला होस्, माओवादी द्वन्द्वकालका बेला होस् वा भूकम्पले मुलुकलाई घाइते बनाएको बेलामा होस्, सबभन्दा पहिला र सबैभन्दा प्रभावित हुने उद्योग पर्यटन उद्योग नै हो । यसरी विभिन्न समयकालमा अनेकन बाधा-व्यवधान सहेर, कष्ट सहेर, आर्थिक उतारचढाव सहेर, मुलुकले राष्ट्रिय महत्वको उद्योगको रुपमा अवलम्बन गरेको तर मुलुकबाटै उपेक्षित जस्तो देखिने व्यवसाय पर्यटन उद्योगलाई कुनै न कुनै अर्थमा स्थापना गर्दै सङ्घर्षमा अगाडि बढेर राष्ट्रलाई गुन लगाउने व्यवसायीहरुले आज फेरि इतिहासकै सर्वाधिक पीडादायी समय कोभिड-१९ महामारीको सामना गर्नुपरेको अवस्थामा उनीहरुको पीडामा मलम लगाउन राज्यले उचित सम्बोधन गर्यो त ? एउटा अत्यन्त मार्मिक र संवेदनशील प्रश्न हाम्रो अगाडि खडा भएको छ ।
आफ्नै बलबुताबाट समस्याहरुको पार लगाउँदै व्यवसाय सञ्चालन गरी हालको अवस्थासम्म आइपुगेका व्यवसायीहरु यस कोभिड-१९ को महामारीबाट पनि आफ्नो व्यवसायलाई सुरक्षित अवतरण गर्दै फेरि सेवामा सक्रिय हुन सकिन्छ कि सकिँदैन भन्ने पीडामा पिल्सिरहेको अवस्थामा व्यवसायीहरुले सरकारसँग प्रत्यक्ष सहयोग पुग्ने प्रकारको राहत प्याकेजको आशा गरेका थिए । तर, अफसोच प्रस्तुत बजेटले व्यवसायीहरुको मर्मलाई सम्बोधन गर्न नसक्दा विगतका सङ्कटकालीन अवस्थालाई थेग्न नसकी धेरै व्यवसायीहरु पलायन हुनुपरेको यथार्थसँग परिचित व्यवसायीहरुलाई चिन्तित बनाएको छ । अर्कातर्फ बारम्बार यस व्यवसायमा आइपर्ने व्यवधान, प्राकृतिक प्रकोप र व्यावसायिक समस्याहरु बहन गर्दै कतिञ्जेल व्यवसायीहरु उत्पीडित भइरहनुपर्ने हो ? व्यवसायीहरु र व्यावसायिक छाता सङ्गठनहरुले यस विषयमा विकल्पको खोजी गर्नुपर्ने अवस्था आइपुगेको छ ।
पर्यटन व्यवसायी आपतकालीन कोषको स्थापना गरौं
एउटा ट्राभल एजेन्टले विश्वको कुना-कुनामा पुगेर नेपालको बारेमा प्रचारप्रसार गर्दै नेपाल आउन चाहने पर्यटकहरुलाई भेट्दै सहमत बनाउँदै उनीहरुलाई नेपाल भ्रमणका लागि लिएर आउँदा सरकार प्रवेशद्वारमा बसेर प्रवेशाज्ञा शुल्क असुल्छ । एउटा पर्यटकीय स्तरको होटल व्यवसायीले अर्वौं लगानी गरेर अन्तर्राष्ट्रिय स्तरको सेवा-सुविधा उपलब्ध गराउँदै विश्वभरबाट पर्यटक भित्र्याउँछ । सरकार सेवा-सुविधाबापत अनेक शीर्षकमा शुल्क भराउँछ । अर्काेतर्फ, ट्रेकिङ व्यवसायी, हिमाल आरोहणसँग सम्बन्धित व्यवसायीहरुले हरप्रयास गरेर हिमाल आरोहीहरुलाई भित्र्याउँछन् । सरकार सगरमाथा आरोहण गरेबापत प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर अर्थात् लगभग १३ लाख नेपाली रुपैयाँ आरोहण शुल्कबापत भराउँछ । तर, आज आपतकालीन अवस्थामा पर्यटक भित्र्याउने ती व्यवसायीहरुले सरकारबाट राहत पाए त ? अर्वौं लगानी जोखिममा पर्दै गर्दा व्यवसायीहरुको मर्मलाई सरकारले सम्बोधन गर्न सक्यो त ? हिमाल आरोहीहरुलाई डोर्याउँदै, तान्दै, बोक्दै हिमालका चुचुराहरुमा पुर्याएर आफ्नो जीवन धरापमा पार्दै कतिपय सहकर्मीहरुले ज्यान गुमाउँदा पनि आफ्ना पर्यटकहरुलाई गन्तव्यमा पुर्याएर सकुशल फर्काई आरोहण सफल गराउने बहादुर शेर्पाहरु जो एक सिजन काम गरेर वर्षभरि परिवार पाल्नुपर्ने बाध्यतामा हुन्छन्, आज यो आपतकालीन अवस्थामा उनीहरुको वेदनालाई सरकारले सम्बोधन गर्यो त ?

सरकारले घोषणा गरेको राष्ट्रिय गौरवको उद्योग पर्यटन उद्योगमा जसरी व्यवसायीहरु उत्साहका साथ लागे, यस व्यवसायमा आबद्ध कर्मचारीहरु राष्ट्रिय गौरवको विषयलाई उच्च बनाई राख्न आफ्नो सीप विस्तार गर्दै यसै व्यवसायमा जीवन सुम्पिए तर सरकारले आज बजेट व्यवस्थापन गर्दा यस व्यवसायमा आश्रित समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने प्रकारले सम्बोधन गर्न नसक्दा निरासाको वातावरण सिर्जना भएको छ । भविष्यमा पनि यस किसिमका बाधा व्यवधानहरु कति आउनेछन् । के सधैं यसरी नै अनिश्चितकालीन र असुरक्षित तवरले व्यवसाय अगाडि बढाउन सकिएला ? यस विषयमा व्यवसायीहरुले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ । तसर्थ, ‘अचानोको मर्म खुकुरीलाई थाहा हुँदैन’ अर्थात् पर्यटन आश्रितहरुको मर्म पर्यटन ढिकुटी सम्हाल्नेहरुलाई महशुस हुँदैन । अब पर्यटन व्यवसायीहरु र यसमा आश्रित श्रमिकहरुले आफ्नो छाता सङ्गठनलाई बलियो बनाई पर्यटन आश्रित कोषको स्थापना गर्नु अनिवार्य भएको छ । व्यवसायी छाता सङ्गठनमार्फत् पहल गरी एउटा ‘पर्यटन व्यवसाय आपतकालीन कोष’ को स्थापना गर्न सके भइपरी आउने यी र यस्ता समस्याहरुमा पीडितहरुलाई प्रभावकारी राहत उपलब्ध गराउन सकिएला कि ! व्यावसायिक छाता सङ्गठनले नेपाल सरकारसँग सहकार्य गरी अवधारणको विकास गरी कोष खडा गर्ने र विदेशी पर्यटकले भिसाबापत बुझाउने रकमबाट प्रतिव्यक्ति एक डलरमात्र पनि कोषमा दाखेला गर्ने व्यवस्था मिलाउन सकियो भने, यस्तैगरेर छाता सङ्गठनमा आबद्ध व्यावसायिक फर्मबाट वार्षिक सदस्य शुल्क थोरै मात्र भए पनि सङ्कलन गर्न सकियो भने त्यसले केही वर्षमा प्रभावकारी कोषको स्थापना हुनेछ, जसले भविष्यमा आइपर्ने आपतकालीन अवस्थामा पर्यटन आश्रितको मर्मलाई प्रभावकारी सम्बोधन गर्न सक्नेछ ।
व्यावसायिक शुद्धीकरणमा ध्यान दिऔं
आज हामी प्रताडित छौं, अन्योल भविष्यको चिन्तामा ग्रसित छौं । तर, धैर्य गरौं । हरेक सङ्कटसँगै नयाँ अवसरको सिर्जना पनि हुन्छ भनिन्छ । पर्यटन व्यवसायलाई आफ्नो एकमात्र व्यवसायका रुपमा अपनाउँदै व्यावसायिक मर्यादाको कसीमा खरो भएर लागेका व्यवसायीहरुले आज वा भोलि पुनः यही व्यवसायमा फर्कनु छ र आफ्नो व्यवसायलाई पुरानै लयमा फर्काउनु छ । व्यवसाय सञ्चालन गर्दा भोग्नुपरेका अनेकन व्यवधानहरुलाई मध्यनजर गर्दै व्यवसायीहरु एकजुट भएर यतिबेलाको समयलाई व्यवसायमा देखिएका प्रशासनिक जटिलताहरुलगायतका व्यावसायिक विकृतिहरुको शुद्धीकरण गरी व्यवसायलाई अझ मर्यादित बनाएर अगाडि बढ्नुपर्ने समय आएको छ ।
पर्यटकलाई हामीले सेवा दिँदा प्रस्तुत हुने हाम्रो व्यावसायिक र मर्यादित प्रस्तुतिले व्यवसायको छवि त सुन्दर बनाउँछ नै, साथसाथै राष्ट्रको छविलाई उच्च राख्ने कुरामा सन्देह छैन । हामीले हाम्रो व्यवसायमा अपनाउने व्यावसायिक इमानदारिताले मात्र पनि व्यवसाय विस्तारमा करोडौं खर्च गरेर गरिने विज्ञापनभन्दा कयौं गुणा प्रभावकारी र भरपर्दो प्रभाव पर्दछ । तर, अफसोच अज्ञानतावस वा हेलचेक्र्याइँका कारण बिना दर्ता व्यावसायिक मर्यादाको पालना नगरी अदक्ष जनशक्तिको प्रयोग गरी गुणस्तरहीन प्रकारले यत्रतत्र व्यवसाय सञ्चालन भइरहेका कारणले पनि यस व्यवसायको छविमा अप्रत्यक्ष अशोभनीय प्रभाव परेको कुरा अवगत नै छ । यी र यस्ता क्रियाकलापहरुलाई निरुत्साहित गर्न सकेमात्र पनि व्यावसायिक गुणस्तरको वृद्धि भई गुणस्तरीय पर्यटकको आगमनमा वृद्धि हुनेछ । यस व्यवसायमा छरिएर रहेका व्यवसायीहरु व्यावसायिक छाता सङ्गठनमा आबद्ध नहुँदा पनि व्यवस्थापनमा एकरुपता ल्याउन र सुखदुःखमा ऐक्यबद्ध हुन कठिन भएको देखिन्छ । अर्कातर्फ, व्यवसायीहरुबीच एकता नहुँदा व्यावसायिक मर्यादामा पनि आँच आएको अवस्था छ । यस परिस्थितिमा व्यवसायलाई कसरी व्यवस्थित गर्ने, मर्यादित र दिगो बनाउने भन्ने बारेमा व्यापक छलफल र अन्तरक्रिया गरी व्यावसायिक शुद्धीकरण गर्नुपर्ने समय आएको छ । तसर्थ, यस विपतको समयलाई व्यावसायिक शुद्धीकरणमा लगाऔं ।
पर्यटन पूर्वाधारको व्यवस्थापन गरौं
पर्यटन प्रवद्र्धनका लागि आवश्यक भौतिक पूर्वाधार र दक्ष जनशक्तिको खाँचो पर्यटन उद्योग विस्तारका लागि खड्किएको विषय हो । हामीले पर्यटक भित्र्याउने त भनेका छौं तर यसका लागि आवश्यक भौतिक पूर्वाधारको विषयमा उदासिन छौं । निजी क्षेत्रबाट गर्नुपर्ने भौतिक पूर्वाधारमा व्यवसायीहरु तत्पर छन् तर सरकारी तवरबाट हुनुपर्ने भौतिक पूर्वाधारहरु पर्याप्त छैनन् नै निमार्णाधीन परियोजनाहरु दशकौं भइसक्दा पनि सम्पन्न हुन नसकिरहेको यस अवस्थामा अब तदारुकता साथ पूर्वाधार निर्माणमा दबाव दिनु अहिलेको आवश्यकता हो ।

आन्तरिक पर्यटनलाई व्यवस्थापन गरी चलायमान नबनाउँदासम्म अन्तर्राष्ट्रिय पर्यटकले मात्र पर्यटन व्यवसाय सुदृढ र सफल हुन सक्दैन भन्ने यथार्थलाई हाम्रो विगतले स्पष्ट पारिसकेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनतर्फ सकारात्मक सोचका साथ राज्यले नीति नियम तर्जुमा गर्दै गर्दाको बखत पर्यटन व्यवसायमा आबद्ध व्यवसायीहरुले यस अवधारणलाई मूर्तरुप दिई आन्तरिक पर्यटकको रुचिअनुरुप पर्यटन व्यवस्थापन गर्दै अगाडि बढ्नुपर्ने समय आएको छ । आन्तरिक पर्यटन विकासका लागि पर्यटकीय स्थलहरुको पहिचान गरी प्रवद्र्धन गर्न दूरगामी योजनाको आवश्यक छ । यस विषयमा स्थानीयको सहभागिता हुने गरी स्थानीय संस्कृति, स्थानीय मौलिकता झल्कने पर्यटकीय संरचनाको विकास गर्नु आवश्यक छ । हरेक जनसमुदायलाई पर्यटनको महत्व र उपयोगिताका बारेमा सुसूचित गराउन जरुरी छ । जनस्तरमा पर्यटनको महत्वबारे अवगत गराएर स्थानीयलाई यसमा सक्रियरुपमा सहभागी गराई व्यावसायिक ढङ्गले व्यवसाय अवलम्बल गरी दिगो पर्यटन विकासको अवधारणा स्थापना गराउनु आजको प्रमुख आवश्यकता हो । यस अभियानलाई जनस्तरसम्म पुर्याएर स्थानीयले अपनत्व अपनाउँदासम्म प्रयत्न गर्नु आवश्यक छ ।
अर्कातर्फ, विदेशी मुद्राको प्रमुख स्रोतको रुपमा स्थापित अन्तर्राष्ट्रिय पर्यटनलाई लक्षित गर्दै पर्यटन उद्योगलाई राष्ट्रले प्रमुख उद्योगको रुपमा अवलम्बन गरेको भए तापनि हामीले पर्याप्त मात्रामा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिरहेका छैनौं । विश्वका अन्य मुलुकहरुको पर्यटकीय अवस्थालाई नियाल्ने हो भने तुलनात्मकरुपमा हाम्रो अवस्था ज्यादै दयनीय लाग्छ । विश्वका पर्यटकहरुको आकर्षण एसियन मुलुकहरुतर्फ बढ्दै जाँदा एसियन मुलुकहरुले पर्यटक भित्र्याएको तथ्याङ्क हेर्दा जस्तै जापान-जहाँ वार्षिक ३ करोडभन्दा बढी पर्यटकले भ्रमण गर्दछन् । त्यस्तैगरेर दक्षिण कोरियाले वार्षिक रुपमा एक करोड ५३ लाख हाराहारीमा पर्यटक भित्र्याउँछ । अर्कोतर्पm क्षेत्रफल र जनसङ्ख्याको हिसाबले धेरै नै सानो देश भनेर चिनिने एसियाकै देश सिङ्गापुर, जसले वार्षिक १ करोड ७४ लाखको हाराहारीमा पर्यटक भित्र्याउँछ, जुन उसको जनसङ्ख्याको तुलनामा झण्डै ३ गुणा बढी हो । आकारमा हाम्रो एउटा अञ्चल जत्रो भूभाग भएको, जम्मा ५५/५६ लाख जनसङ्ख्या भएको सिङ्गापुरले वार्षिक एक करोड चौहत्तर लाख पर्यटक भित्र्याउन सक्छ । भूभाग र जनसङ्ख्याको हिसाबले हामी धेरै गुणा ठूलो भएर पनि पर्यटक भित्र्याउने आँकडामा हामी धेरै पछाडि छौं । यस आँकडाले एसियन मुलुकहरुप्रति पर्यटकको आकर्षण रहेको यथार्थता त छँदैछ भने अर्कातर्फ हाम्रा दुई छिमेकी मुलुकहरु, जहाँबाट वर्षेनि करोडौंको सङ्ख्यामा जनसागर अन्तर्राष्ट्रिय पर्यटनका लागि निस्कन्छन् । त्यसकारण पनि सहज अवस्थामा हामीले राखेको वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य कुनै महत्वकाङ्क्षी लक्ष्य होइन र यो फेरि पनि सम्भव छ । यतिमात्र हो हाम्रो पर्यटकीय क्षेत्रको विकासका लागि हामीले हाम्रो भूगोल अनुकूलको पर्यटन विकास अवधारणा अपनाऔं ।
कोभिड-१९ को महामारीपश्चात् पनि पर्यटकहरु पुरानै अवस्थामा जस्तै प्राकृतिक रुपले स्वतन्त्र भएर बिना त्रास यात्रा अवसरको पर्खाइमा छन् । त्यो हुन सक्छ कोरोना भाइरसको निर्मूल पार्ने भ्याक्सिनको आविष्कारपछि वा प्रभावकारी रोकथाम र उपचारको विश्वासनीय अवस्था सिर्जना भएपछि । तर, पर्यटकको रुचि र स्वाभावमा यस महामारीले परिवर्तन ल्याउन सक्ने प्रशस्त सम्भावनाहरु छन् । जसरी विश्व हरेक दिन नयाँनयाँ प्रविधिका साथ नयाँनयाँ अवधारणाको पछि दौडिरहेको छ । हरेक पुराना मान्यताहरु विस्थापित हुँदै मानवसमाजमा नयाँ जीवनशैलीहरुले प्रभावकारी नेतृत्व गरिरहेको हालको अवस्थामा हामीले पर्यटन व्यवसायलाई पनि नयाँ शैली, नयाँ रुप दिएर अगाडि बढाउनुपर्ने आवश्यकता छ । हामीले परिचालन गरिरहेको यात्रा कार्यक्रमहरुमा परिवर्तन गरी नयाँनयाँ अवलोकन स्थल ट्रेकिङ मार्गहरुको पहिचान गर्दै आकर्षक बजार व्यवस्थापन शैली अपनाउँदै पर्यटकहरुको रुचिअनुरुप अवसरको सिर्जना गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

जे होस् अवसरको अभाव होइन कि अवसरको खोजीको खाँचो छ । तसर्थ, पर्यटनका अवसरहरुका रुपमा हामीसँग रहेका प्राकृतिक सौन्दर्यताका प्रतिक हिमाली मनोरम दृश्यहरुको दृश्यावलोकन गर्ने भ्रमणतालिका बनाई पर्यटकहरुलाई मौसम अनुकूल भ्रमणमा लैजाने र यस्ता कार्यक्रमहरुलाई पर्वका रुपमा मनाउन हामीले हाम्रा पर्यटकलाई सुसूचित गरौं ! जसरी समुद्र भएको मुलुकमा गर्मीयामभरि समुद्रको किनारमा बसेर समुद्रको छालसँग रमाउन पर्यटकहरुको घुँइचो लाग्दछ, त्यस्तैगरेर हाम्रा हिमाली दृश्यहरु अवलोकन गर्दै रमाउने स्थानहरुको पहिचान गरी माउन्टेन भ्यु टुरीजम कल्चरको व्यापक परिचालन गरी यस्ता अवधारणालाई विकसित किन नगर्ने ? जङ्गल वाइल्ड लाइफ भ्यु टुरीजम कल्चरको परम्परालाई विकसित किन नगर्ने ? रिभर साइड क्याम्प टुरीजम कल्चरको परम्परालाई नेपालमा अझ नयाँ प्रकारले विकसित किन नगर्ने ? होमस्टे टुरीजम कल्चरको परम्परालाई विकसित किन नगर्ने ? यी र यस्ता सम्भावनाहरुका बारेमा व्यापक छलफल गरी परिवर्तित समयको मागसँगै नयाँ-नयाँ पर्यटकीय अवधारणा तथा भ्रमणतालिकाहरुको सिर्जना गरी आवश्यक पूर्वाधार तयारीमा जुट्नु आवश्यक भएको छ ।
विगतमा जेजस्ता समस्याहरु सामना गरेको भए तापनि र भविष्यमा अनेकन समस्या आउनेछन् । फेरि पनि हाम्रा हिमशिखरहरु हामीसँगै हुनेछन् । हाम्रा ताल तलैया हामीसँगै हुनेछन् । हाम्रा मठ मन्दिरहरु हामीसँगै हुनेछन् । बुद्ध हाम्रै हुन् र सगरमाथा हाम्रै हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाल, पहाड, तराईले सुसज्जित स्वर्गको एक टुक्राको रुपमा परिचित देश नेपाल हाम्रै हो । तसर्थ, पर्यटन व्यवसायीहरुले उच्च मनोबलका साथ उत्साहित भएर आफ्नो व्यवसायलाई अझ उत्कर्षमा पुर्याउन ऐक्यबद्धता जाहेर गर्दै विपतको यस समयलाई अवसरका रुपमा बदल्नतिर लागौं । (लेखक पर्यटन व्यवसायी हुनुुहुन्छ ।)
(मिलापको असार अङ्कमा प्रकाशित)






