मकवानपुर,
असार ३१ ।
सुस्मिता केसी थापा हत्या प्रकरणमा अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका-४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालशले बुधबारको थुनछेक बहसपछि आफ्नै बुहारी सुस्मिता केसी थापाको हत्या गरेको अभियोगमा उनको आफ्नै सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र आमाजु दुर्गा थापा कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
यही असार २ गते आफ्नै घरमा मृत अवस्थामा फेलापरेकी सुस्मिताको हत्यामा परिवारका ससुरा, सासु, नन्द, आमाजु र ज्वाइँको संलग्नता रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । हत्यामा संलग्न रहेका आमाजु दर्गा थापा कार्कीको पति अरुण कार्की (ज्वाइँ) फरार रहेकाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि ससुरा प्रकाशलाई भीमफेदी कारागार तथा सासु तुलसा, नन्द सीता र आमाजु दुर्गालाई चितवनस्थित कारागारमा राखिने अदालतले जनाएको छ ।
मृतक सुस्मिता थापाको माइती पक्षले आफ्नो छोरीकै घरपरिवारले नै हत्या गरेको हो भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी असार १५ गते सार्वजनिक गरेको थियो ।
आफ्नै बुहारी सुस्मितालाई मृतक छोरोका तर्फबाट आउने बीमाबापतको रकम पाउने भएका कारण ससुरा-सासुलगायतको नातेदारले उक्त रकम आफैँले खर्च गर्न पाउने उद्देश्यले बुहारीको नियोजित रुपमा हत्या गरेको जिल्ला अदालतमा दिएको बयानमा उनीहरुले स्वीकार गरेको बताइएको छ ।
घटनाको मतियारको रुपमा सासू तुलसी कुमारी थापालाई १२ वर्ष कैद, नन्द २३ वर्षिया सिता थापालाई आजीवन, आमाजू २७ वर्षीय दुर्गा थापा र उनका पति ३४ वर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष, कैद माग दाबी गरिएको थियो । असार २ गते भएको घटनाका ४ अभियुक्तलाई असार १५ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको थियो ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउ माइती भएकी सुस्मिताको एक वर्षअघि हेटौंडा घर भएका रुपेन्द्र थापासँग विवाह भएको थियो । गत मंसिरमा उनीहरु मोटरसाइकलमा कपिलवस्तु गए । रुपेन्द्र पनि एकरात ससुरालीमा बसे र, भोलिपल्ट श्रीमती सुस्मितलाई छाडेर हेटौंडा घर फर्किए । घर फर्किने क्रममा नवलपरासी दाउन्नेमा रुपेन्द्रले चलाएको मोटरसाइकल ट्रकसँग ठोक्कियो । लगत्तै घटनास्थलमै उनको ज्यान गएको थियो । त्यसपछि सुस्मिता प्रायः माइतमै बस्दै आएकी थिइन् । पतीको मृत्यु भएको ६ महिना पुग्दै थियो । ६ महिनाको ‘बराखी छ, के-के चढाउन पर्छ, बत्ति बाल्न पर्छ’ भनेर सुस्मितालाई हेटौंडाबाट बोलाईएको थियो ।






