काठमाडौं,
असार ३१ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट निको भएर घर फर्कनेको सङ्ख्या ६ सय ९७ जना रहेका छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना सङ्क्रमणबाट थप ६ सय ९७ जना निको भएर घर फर्किएको बताए । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कनेहरूको सङ्ख्या ११ हजार २५ जना रहेको छ ।
थप १ सय १६ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १७ हजार १ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २६ प्रयोगशालामार्फत ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ५८ हजार ८ सय २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
हालसम्म देशभरका २४ हजार ५ सय २७ क्वारेन्टिनमा रहेका छन् भने ६ हजार १ सय १३ जना कोरोना सङ्क्रमित आइसोलेसनमा छन् ।
कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका परवा नगरपालिका वडा नं. ७ का ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
प्रवक्ता गौतमले उनको मृत्यु नारायणी अस्पताल वीरगञ्जमा आईसीयूमा उपचारका क्रममा बुधबार २ः३० मा भएको जनाए । योसँगै बुधबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।






