गोविन्दे कोठामा धुम्धुम्ती बसेको छ । खासमा नागरिकतामा उसको नाम गोविन्द कटुवाल हो । धेरैअघि एस्एल्सीसम्म पढेको । उहिलेको पढाइ । न जागिर खायो । न गतिलो काम नै गर्यो । जवानीमा रल्लिँदै हिँड्यो । अहिले बेबहारले थिचेर उमेर नहुँदै बूढो देखिएको छ ।
ननिको छ –गोविन्दे । अझै हुने नहुने काम मात्र गर्छ ।
जवनीमा आँखा देखेन । जवानी घर्किन थाल्दै बूढो देखिएको छ । साह्रै चञ्चल छ । केही न केही उपध्रो गरिरहनु पर्ने । राम्रा काम अरूका भागमा परेकाले नराम्रा जति सबै ऊ आफैँ गर्छ । बाउआमा छउन्जेल भनेको मानेन । इलममा पनि लागेन । न आफूले जान्यो न भनेकै मान्यो ।
गोविन्दे अहिले पछुतोमा छ । केही विगत्को पछुतो । केही वर्तमानको पछुतो । अहिलेचाहिँ गोविन्देलाई वर्तमानको पछुतोले चिलेको छ । चिलेको मात्र हैन । भत्भती अर्थात् बलक्बलक् गरेको छ ।
—
सहरमा लोड सेडिङ्को साम्राज्य कायम छ । अँधेरो राज छ जताततै । घरमा भएको सस्तो चाइनिज ब्याकअपले भान्सा र केटाकेटी पढ्ने कोठाँ मात्र बत्ती बल्न सक्छ । ऊ बैठकमा बसेरै उङिरहेको छ । त्यसैले ऊ वेचैनीमा छ । चैन उसले आफैँले हराएको हो । यसरी अनेक प्रश्नहरू उसका मनमा झुत्ती खेल्न लागेका छन् जसरी कुनै फतक्क गलेको फर्सीमा कीराहरू स्याउँस्याउँ गर्छन् । पानीका फोहरा भुइँबाट माथितिर उठेझैँ । फेरि जमिनतिरै ढुन्मुनिँदै झरेझैँ ।
बैठकमा मधुरो प्रकाश छर्दै मैनबत्ती बालिएको छ । जसबाट कोठामा भएका सामानलाई डिठ्याएर मात्रै हेर्न सकिन्छ । अखबार र किताब पढ्न भने सकिन्नँ । पल्लो कोठामा केटाकेटीहरू पढ्दै छन् । सायद् स्कुलका होमवर्क गर्दै होलान् । स्वास्नी भान्सामा भात पकाउन थालेकी छे ।
गोविन्देकी स्वास्नी पनि ऊसँग ठुस्कीएकी छे ।
एक साताजति भयो उसकी स्वास्नी ऊसँग ठुस्कीएकी । उसले अनेक तरहले फकायो । मनाउन खोज्यो । उसकी स्वास्नी ऊसँग झन्झन् परपर हुँदै गई तर्सुवा गाईझैँ ।
त्यो दिनचाहिँ ऊ पर सरेकी भर्खर पाँच दिन मात्र भएको थियो ।
मनको पर र तनको पर दुवैले गोविन्देकी स्वास्नी उसको छैवै पर्दिन । मनको परका लागि गोविन्देलाई जिम्मेवार देखी । तनको पर त नियमित प्रक्रिया हो याने स्त्रीयोचित प्रकृति ।
गोविन्दले मोबाइल उठायो ।
मोबाइलमै रवीन्द्रलाई फोन लायो । लागेन ।
मोबाइल बिजी छ । उताबाट बिजी टोन आइरा’को छ । रिङ् जाँदा पनि उठाएन –मोरो रवीन्द्रेले । बिजी छ कि बिजी टोनमा राख्या हो । गोविन्देले थाह पाएन । आजकलका केटाहरू मोबाइलमा नानाथरी गर्छन् । कहिले नलाग्ने बनाउँछन् । कहिले ब्लक गर्छन् । गोविन्देलाई यो मोबाइलका अनेकओली केही थाहा छैन । जान्दै जान्दैन ।
गोविन्दे चुपो लाग्यो ।
धेरै भएको छैन करिब एकसाता भयो । गोविन्देको मुड अफ् भा’को । मुडअफ अरूका कारणले भा’को हैन । आफ्नै कारणले भएको हो । गाली अरूलाई गर्नु पर्दैन । आफैँलाई गर्दा हुन्छ । एक्लैएक्लै धुम्धुम्ती बसेर आफैँले आफैँलाई गाली ग¥यो । आफैँलाई मुख लोपार्यो । पुलुक्क चारैतिर हेर्यो । कसैले त देखेनन् ? अहँ ! बैठक कोठामा कोही पनि रहेनछ । ढुक्क भयो । धन्न कसैले देखेन । देखेको भए के भन्थ्यो होला ? ‘सोमत बिग्रेको मान्छे’ भनेर गिज्याउँथ्यो होला ।
गोविन्दे बैठकमा एक्लै भएकोमा सन्तोसको सास फेर्दै खुसी भयो । उसको खुसी बलेँसीको पानी फोकाझैँ एकैछिन सगल्तो नरही फुट्यो ।
—

गोविन्दले गर्नु गर्यो ।
बूढापाकाहरू त भन्थे- नजाने गाउँको बाटो नसोध्नु । बेकारमा कुकुरले टोक्छन् । यहाँ आज उसलाई तिनै बुढापाकाहरूको अर्तीले चिल्न थालेको छ । कीराहरू त छैनन्- यहाँ । बद्लामा प्रविधिले चिल्न लागेको छ ।
दिउँसो चिया पसलमा रामबिस्ने भेट भएको थियो । भन्दैथियो-‘गोविन्दे तँ आजकल निकै फेसबुक कोट्याइरहन्छस् नि । भेटिस् इनाम ।’
जवाफमा गोविन्देलाई पनि रामेको मुखभरि जवाफ दिन नआएको त होइन । तर केही भन्न सकेन । मनमनै भन्यो-‘मनको कुत्कुति मेट्ने इच्छा । के गरूँ । आफैँ फँसियो ।’ दन्तेकथामा बाँदरले काठको बाकलमा राखेको फेसो फुकाल्न लाग्दा आफ्ना अण्डकोश चेपेर मेरेको थियो रे !
गोविन्देको मनको बुद्धितत्वले मनकै मूर्खतत्वलाई सम्झायो । आफूभन्दा जान्ने सुन्नेलाई सोध्नु छैन । खाइस् कि ? दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले । खुच्चिङ् । अब परिस् फेला ।
- पेशल आचार्य
गोविन्देका साथीहरू कोही काम लाग्ने छैनन् । दिनभरि चउरमा बसेर तास फिस्ने । साँझ भट्टीमा गएर घाँटी तन्काउने काम गर्छन् । एक रूपैयाँको कमाइ छैन तीन रूपैयाँको खर्च गर्छन् ।
गोविन्दे घर अघिको बजारमा सानो तर्कारी पसल चलाउँछ । पसल पनि स्वास्नीको करकरले राखेको हो । आफ्नु बुताले त गोविन्देले केही काम जीवनमा गरेन । भला, पसलले उसको भातभान्सा र घर लिखिरलिखिर चलाएको छ ।
गएको हिउँदमा उसले पसलबाट भएको नाफाले टच स्क्रीनवाला मोबाइल किन्यो । सामसुङको मोबाइल । ठ्याम्मै पन्ध्र हजार । अनि भक्ते र प्रमेशसँग मोबाइलका अनेकओलीका टिरिकहरू सिक्यो । कसैले म्यासेन्जर सिकाइदिए । कसैले भाइबर खोल्न सघाए । स्काइपमा बोल्दा त फोटो आउने । पैसा पनि नलाग्ने भएको देखेर गोविन्दे तीन छक्क प¥यो ।
उसले मोबाइल किनेको अर्को महिना स्वास्नी ऊसँग करकर गर्न थाली । उसले स्वास्नीलाई सात हजारमा जिओनी कम्पनीको मोबाइल किनिदियो । औंलाले छुँदा चल्ने मोबाइल पाएर दुवै जोइपोई मख्ख परे । स्वास्नी तरकारी पसलमा हुँदा गोविन्दे घरको काम गर्थ्यो । त्यसबेलाँ दुई जोईपोई कहिले म्यासेन्जरमा च्याट गर्थे । लोग्ने पसलमा हुँदा स्वास्नी छोराछोरीका स्याहारमा हुन्थी । त्यसबेलाँ पनि लोग्नीस्वास्नी भर्खर बिहे गरेका कोरलाकोरलीझैँ भाइबरमा इत्तरिन्थे ।
ग्राहक आएर पसलमा लाम लाग्थे । फोनमा मस्त गोविन्दे वास्ता गर्दैनथ्यो । उधारो माग्न आउँदा उसकी स्वास्नी नाक चेप्य्राउँथी । ऊ लोग्नेसँग भाइबरमा मक्सिरहेकी हुन्थी ।
मोबाइलका कखरा दुवै लोग्ने स्वास्नीले सिके ।
कसैले फेसबुक एकाउन्ट खोली दिए । कसैले सिकाए-नयाँनयाँ फोटा खिच्ने अनेक टिरिक । हल्लने फोटालाई भिडियो भनी चिनाए । नहल्लने फोटालाई स्टिल फोटा भनी बुझाए ।
यसैगरी अब उनीहरू मोबाइल साक्षरबाट अघिल्तिरका यात्रामा बढिरहेका थिए । गाउँले कच्ची धूलेबाटो अघि बढ्दै गएपछि जसरी ग्राभेल हुँदै पिच बाटोमा गएर हराउँछ त्यसैगरी गोविन्देका जोइपोई मनका धूले बाटामा हुँदा लोग्नेस्वास्नी मात्रै थिए । जब यात्रा बेस्कन कुद्न थाल्यो अनि ग्राभेल हुँदै फेसबुकका पिचमा आइपुग्दा दुवैका दुईदुई हजार भच्र्युअल साथी भैसकेका थिए ।
गोविन्दे छक्क पर्याथ्यो-सुरूसुरूमा ।
बिस्तारैबिस्तारै गोविन्देले तरकारी पसलमा ग्राहक नआउँदा खूब मोबाइल खेलायो । नआएका कुरा साथीले सिकाए । आएका कुरा दोहो¥याई तेहे¥याई ग¥यो । मान्छेको जात सिकी छाड्यो । रूचिले सिकायो-अलिअलि । आवश्यकताले सिकायो अलिबढी । क नआउने जोरीपारीहरू समेत मोबाइलको मस्तीमा झुम्मिएका थिए ।
गोविन्देको दुनियाँ एक्चुअलबाट क्रमशः भर्चुअल हुँदै गयो । मानिसहरू घरभरि हुँदा पनि कोही कसैसँग नबोल्ने आफ्ना मोबाइल मात्रै कोट्याइरहने देखिन थाले । गोविन्देका लोग्नेस्वास्नी अपलक दिनरात मोबाइल कोट्याइरहने भए । नशा लाग्यो । लत बस्यो । आजआज भोलिभोलि भन्दाभन्दै दुवै एक्चुअल दुनियाँभन्दा भर्चुअल दुनियाँमा पौरी खेल्न थाले । पोखरीमा पस्न मात्र गाह्रो । पसी सकेपछि छ पानीले नै मानिसलाई चाल अनेक मार्न सिकाउँदो रहेछ ।
सिक्दासिक्दै गोविन्देले मोबाइलका धेरै कुरा सिक्यो । सिक्ने कुरा पनि सिक्यो । नसिक्ने कुरा पनि सिक्यो । अहिले घोसेमुन्टो लगाएर सोच्दैछ । उसले सिक्ने कुरा कम सिक्यो । नसिक्ने कुरा बढी सिक्यो ।
चाहिएका कुरा- मोबाइल बैङ्किङ् सिकेन । मोबाइलबाट पैसा ल्याउन र पठाउन सिकेन । बिजुलीको बिल तिर्न सिकेन । उसले साथीहरूका लहैलहैमा परेर फोटा खिच्न र पोष्ट गर्न सिक्यो । लाइक गर्नु, कमेन्ट गर्नु र सेयर गर्नु त उसको देब्रे हातको खेल भैदियो । त्रिताले थिई उसकी स्वास्नी । उसले झन मिलिक्कै गरी सिकी ।
—
गोविन्देको मोबाइल यात्रामा स्वास्नी अब अभिन्न पथिक हुन छाडेकी थिई । उसले फेसबुकमा फेला परेका राम्राराम्रा र विभिन्न पेसाका मान्छे साथी बनाएको थियो । उसले आफ्नो वालमा राम्रो र तन्नेरीवयको फोटो राखेको थियो । केही विवरण साँच्चै र केही ढाँटेर फेसबुकमा आफूलाई स्मार्ट देखायो । ह्वारारार्अ फ्रेण्ड रिक्वेस्ट आउँथे । तरूनीबरूनी देखेपछि झ्वाट्टै एसेप्ट गरिहाल्थ्यो ।
दुनियाँ नै स्मार्टका पछि लाग्छ ।
गोविन्दे झट्ट हेर्दा उति राम्रो थिएन । मोरो फोटोजेनिक थियो । नराम्रा मान्छेको फोटो राम्रो आउँछ भन्थे मान्छेहरू । हो, रै’छ । गोविन्देलाई हेर्दा त्यो साँचो हुन्थ्यो । बद्लामा उसकी स्वास्नी बास्तविक रूपमा हेर्दा खँदिली र दोहोरो आँङ्जीउकी थिई । रियलमा राम्री भएर के गर्नु उसैको फोटो राम्रो आउँन्थेन । विचरी फोटोजेनिक नपरेकी ।
अनेरमार्क, गेट्सेट र गो भन्दै दुवैले आफ्ना साथी बढाउन दौड सुरू गरे । दुवैलाई थाहा थिएन । कसका कति साथीहरू बनेका छन् । एक्लाएक्लै दौडिए । जब उनीहरू कालोपत्रे बाटामा आइपुगे । बाटोले दुवैलाई बाठो बनाएछ । स्पीडमा दौडिन थाले । दुवैको हातमा आफ्नाआफ्नै भर्चुअल दुनियाँका स्टेरिङ् थिए ।
जो जतिसुकै दौडिए पनि दौडको एकदिन अन्त्य हुन्छ । चाहे चोरबाटो दौडियोस् या घुमाउरो ।
गोविन्दे चोरबाटो दौडिएको थियो ।
उसकी स्वास्नी घुमाउरो बाटो दौडिएकी थिई ।
फरक के थियो भने गोविन्दे कम पढेको भए पनि टाठो थियो । गोविन्देकी स्वास्नी ऊभन्दा बढी पढेकी भएर पनि सुस्त थिई । मानौं लोग्ने बल्ब र स्वास्नी ट्युब लाइट । थिची सकेपछि प्रकाश थोरै दिए पनि स्वीच थिच्नासाथ बल्ब बल्छ । ट्युब लाइट धेरै प्रकाश फ्याँकेर बले पनि स्वीच थिचेर बल्न समय लिन्छ ।
—
साथीहरूले एकदिन गोविन्देलाई लाइभ भिडियो खिचेर पोष्ट गर्न सिकाएछन् । सुरूसुरूमा उसले आफ्ना दैनन्दिन घर कामका भिडियो खिच्न उपयोग गर्यो । कहिले भात खाएको । नुहाएको । दारी काटेको । दसैँमा खसी काटेको । टीका लगाएको । ससुराली गएको । सबै खिच्यो । हुँदाहुँदा मेमोरी सिद्धिएछ । पत्तै पाएन । साथीहरूलाई गुहारेर डिलिट गर्न सिक्यो । ऊ फोटा खिच्न, राख्न र हटाउन सक्ने भयो ।
बल्ल उसलाई सजिलो भयो । पसलका तर्कारीदेखि लिएर सरकारी कार्यालय सम्मका ससाना लाइभ भिडियो खिच्न भ्यायो –उसले ।
उसकी स्वास्नी उसलाई नजानेको सोध्थी । तर, ऊ नजानेको बहानामा टार्ने गर्थ्यो । सबै सिकाए पनि भिडियो खिच्नचाहिँ उसका हातले उसकी स्वास्नीलाई सिकाएनन् । भलै उसले पनि उसका महिला साथीहरूबाट एकै झमटमा सिकिसकेकी थिई । त्यो कुरा गोविन्देलाई पत्तो थिएन । ऊ भन्दिनथी ।
समय सुलुलु गर्दै बित्दै गयो ।
गोविन्देलाई रामबिस्नेले एकदिन आफूले सिकाएका कुराहरू परीक्षण गर्ने विचारले सोध्यो –‘तँ पनि अब मोबाइलमा चेम्पियन भइस् हैन् ।’
उत्तरमा गोविन्देले भन्यो-‘भएँ । अब आफ्ना सबै काम गर्न सक्छु ।’
छट्टु थियो रामबिस्ने । भन्यो-‘अब यी बिनासित्ती फोकटका भिडियो खिचेर हुन्नँ हेर । अब पैसो कमाउनु पर्छ । पैसो ।’
चिल्लो नघसीकन रामबिस्नेले भ’न्या कुरा नबुझेर गोविन्देले फेरि भन्यो-‘सिधासिधा बोल । किन घुमाउरो बोल्छस् ।’
‘सिधा औंलाले घिउ आएको कहिल्यै देखेको छस् ?’ रामबिस्ने कड्कियो ।
‘छैन ।’ छेपारोले जस्तै गोविन्देले टाउको हल्लायो ।
रामबिस्ने उमेर र अनुभवमा गोविन्देभन्दा जेठो थियो । जेठो मात्र होइन बाठो पनि थियो ।
स्वीकृतिको सूचक टाउको हल्लाएको देखेर रामबिस्नेले कहिरन थाल्यो –‘मान्छेहरू अहिले अरूका भिडियोलाई आफ्ना नाममा ससाना कम्पनी बनाएर यु ट्युबमा पोष्ट गर्छन् । जति धेरै मान्छेले हेर्छन् । त्यति धेरै दाम कमाउन सकिन्छ । बुझिस् गोविन्दे ।’
‘बुझेँ ।’ कख सिक्दै गरेको आज्ञाकारी शिशुझैँ गोविन्देले सुस्तरी भन्यो ।
‘खुरूखुरू मैले भनेको मान । भनेको मानिस् भने तँ पनि मालामाल । म पनि मालामाल । कति गर्छस् यो जाबो तर्कारी पसल । पन्ध्र वर्ष भयो हैन । अब एकदुई वर्षमा करोडपति बन गोविन्दे ! करोडपति बन । बुझिस् हैन । मैले भनेको ?’ –रामबिस्नेले ससानो रामायणको अध्याय नै कह्यो ।
‘बुझ्न त बुझ्थेँ । तपैँले भन्नुभा’को छैन । के बुझ्नु भन्या ।’-आवाजको भोल्युम केही ठूलो पार्दै गोविन्देले रामबिस्नेका सामु पाठ बुझाएर सन्तोष भएको विद्यार्थीले झैँ भन्यो ।
‘ए । हो है ! भनेकै छैन । ल ! अब सुन । तैँले तेरा र भाउजूका एकान्तमा भएका गोप्य क्रियाकलापहरू सबै मोबाइलमा खिच अनि राखिराख । ससाना धेरैवटा त्यस्ता मजाका भिडियोहरू खिचेपछि मलाई भन्नु अनि म तँलाईं पैसाको बोट देखाउँला । मोरा पैसा देख्न जति सजिलो छ नि टिप्न उति गाह्रो ।’
‘हुन्न है हुन्न । लोग्ने स्वास्नीका भित्री कुरा खिच्नु हुन्न । केहीगरी कसैले फेला पर्यो भने त्यसले बित्याँस पार्दैन ? राम्रो र गतिलो कुरा सिकाउँछ भन्या त यो दाजु पनि के साह्रो मात्तिएको हो ।’ –गोविन्दे च्याँठ्ठियो ।
रामबिस्नेले फेरि फकाएर गोविन्देलाई होमवर्क दियो- ‘कुरा बुझ् न गोविन्द । कुरा बुभ्m । मैले तिमेरूले एकान्तमा गरेका कुरा मैले खिच्ने भनेको हो त ? मूलाङ्खरे आफैँ खिच पो भनेको त । पहिले आफू खिच्नु । अनि कैल्येकाहीँ बूढीलाई खिच्न लगाउनु । कुरो बुझिस् । सानासाना र मजामजाका पोज खिच्नु । अनि धेरै मान्छेले हेर्छन् । हेरेपछि त छन्छनी पैसा झर्छन् मोरा –ब्याङ्कबाट । पैसो लिने काममा म सहयोग गर्छु तँलाईं । किन डराउँछस् गोविन्दे ?’
गोविन्दे बोलेको थिएन । उपयुक्त मौका परेको ठानेर रामबिस्नेले फेरि घन हान्यो-‘हुन्न ।’
गोविन्देले बुज्जकी भएर भन्यो-‘हेरूम् । स्वास्नी के भन्छे ?’
‘के भन्नु नि पैसा आउँछ मोरा । पैसा । पैसा आएपछि तेरो गरिबी स्वात्तै घट्छ । अनि घरघडेरी जोड्नु । छोराछोरीलाई राम्रा बोडिङ् हाल्दिनु । आफू पनि टु ट्वान्टीको पल्सर चढ्नु । कति दुःख गर्छस् मोरा । तर्कारी पसल छ । ताजाताजा अरूलाई बेच्छस् । जहिल्यै बासी र ओइलाएका मात्र आफू खान्छस् । ओइलाएका तर्कारी खाँदाखाँदा मोराको बुद्धि नै ओइलाई सक्यो । आजै भन बूढीलाई । काम थाल । थालिहाल । भटाभट् काम सक्नु अनि मलाई दिनु । म ब्लु टुथबाट मेरो मेमोरीमा सार्छु अनि यु ट्युबमा राख्दै गर्छु । ढिलो नगर ।’ यसपटक रामबिस्नेले पूरै भिडियो पुराण सुनायो ।
त्यो रात गोविन्दे राम्ररी सुत्न सकेन । ओल्लोकोल्टो पल्लोकोल्टो गर्दै उसले चार प्रहर रात झिमिक्कै नगरी बितायो ।
भोलिपल्ट पनि उसले स्वास्नीलाई रामबिस्ने प्रदत्त सल्लाहको नयाँ खेती गर्ने काइदा सुनाउन सकेन । ओच्छ्यानमा छट्पटाएको स्वास्नीले थाहा पाइहाली ।
उसैले कुरा उठाई । भनी-‘तँपाईंलाई सन्चो छैनजस्तो छ । मनभरि पेटभरि भएर मलाई कुरा लुकाइरहनु भा’ त छैन । साँझ खाना रूचाएर खानु भएन । कुरो के हो ? मलाई किन नभनेको तपैँले ?’
पहिले त गोविन्देले ‘केही होइन । केही होइन’ भनेर टार्न खोज्यो । अलिपछि स्वास्नी एकाएक च्याँठ्ठिई । उसको आवाजले सँगै सुतेका छोराछोरी उठ्ने डरले गोविन्दे अलि डरायो । जुरूङ्ग हुँदा उसका शरीरका रौं ठाडा भए । उसले स्वास्नीका का’ना मुख जोडेर हिजो दिउँसो रामबिस्नेले भ’न्या कुरा एकै सासमा भनी सिध्यायो ।
खुसीका केही उच्छवास् छाडे स्वास्नीका मुखमा हे’या मात्र थियो । स्वास्नी भित्रभित्रै रिसले मुर्मुरिएकी रै’छे । के थाहा ? पाकेका गोलभेँडाजस्ता राता आँखा पार्दै एक्कासी लोग्नेका गालामा ‘चड्याम्म’ हानी ।
गोविन्देले तोरीको फूल देख्यो । स्वास्नी अर्को कोल्टे फर्केर नब्बोलीकन सुती । छोराछोरी सुतिसकेका थिए । धन्न कसैले थाहा पाएनन् । नत्र बित्याँस पर्ने ।
भोलि भयो । स्वास्नी धुमिएको दिनजस्तो भएकी थिई । गोविन्दे चियै नपिई पसल गयो । पूरै दिन उसले मोबाइलको ठाँडो छुँदै छोएन । निमेष, पल, मिनेट, घन्टा हुँदै फेरि रात प¥यो । रात त परो । जो पर्नु नै थियो । तर स्वास्नीका घैँटामा घाम लाग्छ कि भन्ने तुस गोविन्देलाई मनको अन्तरकुन्तरमा छँदै थियो ।
डराएको गोविन्दे आज डराइडराई सुत्ने तर्खरमा लाग्यो । निचाल र निःशब्द ऊ आरामका लागि कोसिस गर्दै आफ्नो भागमा परेको एक चौथाई ओच्छ्यानमा लुसुक्क ढल्कियो । थाकेको जीउ मूढो लडेझैँ डङ्रङ्ग के पल्टिएको थियो । छिनभर मै निदायो ।
भाते निद्र्रामा गोविन्दे फ्वाँफ्वाँ गरेर सुतिरहेको थियो । पिसाबले जोडले चेपेछ । बिउँझियो । बिउँझदा स्वास्नी पनि कोल्टे फेर्दै सुत्न नसकेको भेउ पायो । बत्ती बाल्यो र घडी हेर्यो । रातको सवा बाह्र भा रै’छ ।
स्वास्नी मसिनो आवाजमा कराई –‘निभाउनु नि बत्ती । ह्याँ निद्रा परेकै छैन ।’
उसले सोध्यो-‘किन सन्चो भएन ?’
‘छ, तर पटक्कै निद्रा परेन । तपाईंको हिजोका कुरा मनमा झुत्ती खेले ।’-भनाइको मेहेरोबाटै गोविन्देले स्वास्नी केही भन्न खोज्दैछ भन्ने लख काट्यो ।
गोविन्दे स्वास्नीको नजिक गयो । पाखुरामा समातेर कपाल मुसारीदिँदै साउती स्वरमा भन्यो –‘भन् न त भन् । के भन्न खोज्दैछेस् ? सप्पै भन् । मैले मेरा लागि मात्र भ’न्या होइन क्यारे ! फाइदा हुन्छ भन्छ रामबिस्ने । परिवारकै कल्याण हुन्छ भने नयाँ खेती गरौं भ’न्या मात्र हूँ । मलाई पनि सप्पै कुरो त कहाँ था’छ र ! हामी उसले भने बमोजिमका फोटा दिऊँ । बाँकी काम उसैले फत्ते गर्छु भ’न्या छ । बालखदेखिकै साथी हो । नाफा भयो भने आधाआधा हिसाब मिलाऊँला भन्छ । भनेको मान्छेस् भने आजैदेखि खेती सुरू गरौं । भन के भन्छेस् ?’
मान्छेको जात लोभ देखाउँदा नलोभिने कुरै भएन । मानी । स्वास्नीले उसका सप्पै कुरा मानी । गोविन्देका आँखामा भागेको निद्राका ठाउँमा आसाका इन्द्रेणी लागे । दुवै आँखा चम्किला भएर आए । यतिखेर उसले स्वास्नीलाई अँधेरामा पनि उज्याली देख्यो ।
साउतीकै सुरमा उसले लोग्नेसँग जिज्ञासा राखी- ‘सँधैको जस्तो कि फरक हुन्छ रमेशका बाउ …..?’ उसले लोग्नेलाई बत्ती निभाउन इसारा गरी ।
गोविन्देले कुरा बुझायो । सूक्ष्म प्राविधिक निर्देशन गर्यो । माउ बत्ती निभाएर बच्चो बत्ती बाल्यो । मोबाइलबाट फोटा खिचेर सनातनदेखि चल्दै आएको क्रीडा केलीमा दुवै आनन्दपथ हुँदै परमानन्दका यात्री भए । रमाए । स्वास्नी धर्ती भएर फैलिई । लोग्ने आकास भएर बर्सियो । खेती गराइ विगतकै शैलीमा थियो । आगतका प्रविधिले केही लौह उत्तेजनाका बिजुली मिलिक्क गरेर चम्किए । मेधनादमा दुवै नटराज र नटराज्ञी भए । आरम्भमा पुरुष ताण्डव नाच नाँचियो । अन्त्यमा महिलाको लास्य भाव । आदिम सत्यलाई प्रविधिमा फड्के साक्षी राखेर नथाकुन्जेल जिज्ञासाका पर्वतारोहणमा दुवै जब्बर आरोही भए । कतिन्जेलमा वर्षा भयो ? कतिन्जेलपछि चट्याङ् प¥यो ? दुवैले हेक्का राखेनन् । धीमा भएर जब रात्रिकालीन झरी बिदो भयो । पानी परेर गलेको माटाको जस्तो स्निग्ध औ सुरम्य बास्ना कोठैभरि छरियो ।
सुत्ने यत्न गर्दा ‘कुखुरी काँ’ गरेको सुनियो । दुवैले तीन प्रहर रात पत्तै नभई बितेको बल्ल यतिखेर पत्तो पाए ।
‘रामबिस्नेले कतै तराजुको पल्ला ऊतिर मात्रै भारी त गर्दैन ?’
‘आफ्नो हात काटेर दिएपछि के विश्वास ?’
‘धत् ! मैले बहकाउमा लागेर कतै नगर्ने काम त गरिनँ ?’
‘रामबिस्नेले केरा खाएर बोक्रा मात्रै हामीतिर फेक्योँ भने ?’-यी र यस्तैयस्तै जिज्ञासु प्रश्नका पोयाहरूमा बाटिँदै र डरका यमान लठाराहरूमा हल्लिँदै शनैःशनैः गोविन्दे रातभरि जाग्रामरूपि अनिदोमा पिङ.खेल्दै रह्यो । अघि उत्सुकताले निदाउन नसकेको गोविन्दे अहिले डरका मारे निदाउन सकेन ।
धेरै पैसो कमाउने सपना अझै बाँकी रहेको रातमा देख्न सकिन्छ कि भनी स्वास्नी बीचमा छोराछोरी राखेर विपरीत दिसातर्फ फर्केर सुती । जसरी केही प्रहरअघि गोविन्दे सुतेको थियो । अर्कोतर्फ गोविन्देलाई काम फत्ते गरी सकेपछि पनि भित्री मनमा आफूले नकाम गरेँ कि भन्ने भावले चिमोटीरह्यो ! चिमोटीरह्यो !! – espeshal2023@gmail.com






