काठमाडौं,
असार ७ ।
थप ४ सय २१ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ४ सय २१ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा भेटिएका सङ्क्रमितमा ३ सय ५७ जना पुरुष र ६४ जना महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ९ हजार २६ पुगेको छ । जसमा ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।
नयाँ सङ्क्रमितमा झापाका ६, उदयपुरका ५, मोरङका २, सुनसरीका २, धनुषाका ८, महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्घाखाँचीका १६, डडेलधुरा १४, डोटीका २७, गुल्मीका ७, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासी पश्चिमका २२, नुवोकाटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५ जना रहेका छन् । यस्तै सिरहाका ५२, ललितपुरका १, पाल्पाका २, अर्घाखाँचीका ५८, बाग्लुङका २३, कास्कीका १, स्याङ्जाका १०, मुस्ताङका १, म्याग्दीका ४, नवलपरासी पूर्वका २, पर्वतका २, तनहुँका ४, पाल्पाका २, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २, बझाङका २, डडलेधुराका २७ र कञ्चनपुरका १ जना रहेका छन् ।
गत २४ घण्टामा १ सय ९४ जना कोरोनाभाइरस (कोभिड-१९) सङ्क्रमण मुक्त भएका छन् जसमा ८ महिला १ सय ८६ पुरुष रहेका छन् । योसहित कोरोना निको हुनेको सङ्ख्या १ हजार ७ सय ७२ जना रहेका छन् । जसमा १ सय ४९ महिला र १ हजार ६ सय २३ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २२ प्रयोगशाला पीसीआर विधिबाट ६ हजार ८ र आरडीटी विधिबाट ९ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ छन् भने आइसोलेसनमा सात हजार दुई सय ३१ जनाको उपचार भइराखेको छ ।
प्रवक्ता डा. गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको बताए । असार ५ गते मृत्यु भएका गुल्मी छत्रकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो । लकडाउनकै समयमा उपचारका लागि भारत गएका ती पुरुष प्यारालाइसिसका विरामी थिए । असार ५ गते नमुना सङ्कलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।






