काठमाडौं,
असार ७ ।
आज (आइतबार) विश्व सङ्गीत दिवस मनाइँदै छ । हरेक वर्ष जुन २१ मा विभिन्न साङ्गीतिक कार्यक्रम गरी सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । मानिसको जीवनमा सङ्गीतको निकै महत्व छ । सङ्गीतले जीवनमा पार्ने सकारात्मक प्रभावको चर्चा तथा स्मरण गर्दै विश्व सङ्गीत दिवस मनाइन्छ ।
विश्व सङ्गीत दिवसको अवसरमा हरेक वर्ष भव्य कार्यक्रम गरी मनाउँदै आइएको भए पनि यो वर्ष भने विश्वनै कोरोना भाइरस (कोभिड-१९)ले आक्रान्त भएको समयमा कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन् ।
सन् १९८२ मा फ्रान्सबाट शुरु भएको सङ्गीत दिवसलाई सङ्गीत सिक्दै गरेका र व्यावसायिक सङ्गीतकर्मीहरुलाई एकै ठाउँमा ल्याउने अवसरको रपमा लिइन्छ । सङ्गीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय ५० भन्दा बढी देशमा सङ्गीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको छ ।
नेपालमा भने २०५४ सालदेखि मात्र विश्व सङ्गीत दिवस मनाउन थालिएको हो । त्यसबेला विदेशी सङ्गीतकारले विश्व सङ्गीत दिवसको अवसर पारेर नेपाली राग बनाएका थिए । त्यसयता नेपालमा पनि लगातार रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।






