काठमाडौं,
असार ५ ।
सरकारले राति १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न रोक लगाएको छ । कोरोना सङ्क्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड-२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।
मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना सङ्क्रमण विरुद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रुपमा पालना गराउन पनि भनिएको छ । यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्वसमेत उल्लेख गरेर मापदण्ड तय गरिएको छ ।
गत जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो बनाउने र व्यवस्थित गर्न गृहलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषदको निर्देशन बमोजिम गृहमन्त्रालयले यस्तो मापदण्ड ल्याएको हो ।
उच्च कोरोना सङ्क्रमित भएका जिल्लाहरु दैलेख, रौतहट, कपिलवस्तु र सर्लाहीबाहेक अन्य जिल्लाहरुमा जोर बिजोर गरी निजी सवारी साधन सञ्चालनमा आएका छन् ।
यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधान पनि सुरक्षा मापदण्डमा समेटिएको छ ।
चैत ११ गतेबाट सुरु गरेको लकडाउन जेठ ३२ गतेसम्म जारी रहेको थियो । नेपालमा कोरोनाको सङ्क्रमण बढ्दो भएका कारण लकडाउनलाई खुकुलो पारिए पनि सुरक्षा मापदण्ड लागु गरिएको छ ।






