गुल्मीमा कोरोना पोजेटिभ देखिएका एक जनाको मृत्यु

गुल्मी,
जेठ ३२ ।

गुल्मीमा कोरोना पोजेटिभ देखिएका एक जनाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका-४ जैजिथोकका ३६ वर्षीय युवाको मृत्यु गएराति मृत्यु भएको हो । उनलाई रेसुङ्गा नगरपालिका-९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा राखेर उपचार गराइएको थियो । राति नै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिसकेको छ । उनको शव जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरिएको हो ।

भारतबाट आएका ती यूवाको जेठ १२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । धुर्कोटका स्थानीयका अनुसार उनी क्यान्सरका बिरामी थिए ।

भारतमा क्यान्सरको शल्यक्रिया गरी फर्कंदा उनी सङ्क्रमित भएको देखिएको थियो । तीन पटकसम्म गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि उनको आइसोलेसनमै उपचार भइरहेको थियो ।

योसँगै गुल्मीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि मदाने गाउँपालिकाका ४१ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

कोरोनाका कारण नेपालमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार