संस्मरण : ब्रह्मपुत्रको देश 

– लेखनाथ पोख्रेल

लगातार बज्दै गरेको रेलको सिट्ठीसँगै सुनिएको गडङ्ग… डङ्ग… डङ्ग… को आवाजले एकाएक निद्रा खुल्यो । हामीहरु चढेको रेलगाडीले ब्रह्म्मपुत्र नदीमाथि बनेको स्टिलको डबल-डेकर पुल पारगर्दै रहेछ । अघिल्लो दिनको साँझ जलपाईगुडीमा रेल चड्दादेखि सुरु भएको साउनेझरी उज्यालो हुँदासम्म पनि रोकिएको थिएन । ह्यान्ड ब्यागलाई तकिया बनाएर पल्लो बर्थमा उत्तानु परेर सुतेको सिक्कीमेली भाइ भगिरथ शर्मा, दोहोरी खेले जसरी घुर्नमा तल्लीन थियो । बर्थबाट तल ओर्लेर बन्दझ्याल खोलेर बाहिर हेरें । बिहानको उज्यालो भुइँमा ओर्लीइसकेको थियो । भूगोलको किताबमा नाममात्र पढेने मौका पाएको बिशाल ब्रह्म्मपुत्र नदीलाई साक्ष्यात आफ्नै अगाडि बग्दै गरेको देख्दा हर्षबिभोर भएको थिएँ । बाढीको पानीले भरिएको ब्रह्मपुत्र नदीको त्यो घाँटीले एउटा विशाल तालको रुप लिएको थियो । डुबानमा परेका नदी किनारका घरका केही धुरीहरु र झुल्के घाममा किनारबाट ब्रह्मपुत्रको धारातिर जाँदै गरेका माछा मार्ने डुङ्गा बाहेक सबैतिर जलमग्न देखिन्थ्यो । लगातार सिट्ठी बजाउँदै सुस्त गतीमा हिँडीरहेको रेलले स्टेशन नजिकै छ भन्ने जानकारी दिएसँगै, ओर्लिने तरखरमा लागेका यात्रुहरु आ-आफ्ना झोला ठीक पार्नमा जुटेका थिए । अर्को आधी घन्टामा हामी गौहाटी स्टेशनमा थियौं ।

त्यो बेला गौहाटी एउटा सानु बजार मात्र थियो । प्रति घण्टाको हिसाबमा होटेलमा बस्ने कोठा पाइन्थ्यो ? ६ घन्टाको लागि दस रुपैयाँ भाडा तिरेर हामीले एउटा होटलको कोठा भाडामा लियौं । बाइस, पच्चीस रुपैयाँले महिनाभरिको मेसखर्च चल्ने त्यो बेलाको दस रुपैयाँ निक्कै ठुलो रकम मानिन्थ्यो । नुहाएर फ्रेस भएपछि ‘ब्रेकफास्ट’को अर्डर गर्नखोज्दा, मन्दिर दर्शन गर्नुपूर्ब चियासम्म पनि पिउनु हुँदैन भन्ने अड्डी लिएर उभिएको भागिरथ शर्माको अगाडि मेरो केही चलेन । भोको पेटमा ‘कामाख्या’ मन्दिरतर्फ लाग्यौं । कदमका रुखहरुको बीचबाट निस्कने, ढुँगा छापेको फराकिलो उकालो बाटो चढेर केही मठ, मन्दिर, धर्मशाला पार गर्दै गौहाटीबाट हिँडेको डेड घण्टामा नीलाञ्चल पर्वतमा अवस्थित कामाख्या (कामाक्ष) मन्दिरमा पुग्दा विहानको आठ बज्दै थियो ।

तान्त्रिक र अघोरीहरूको आस्थाको केन्द्र मानिन्छ कामाख्या मन्दिर । मन्दिरको गर्भगृहमा योनीको आकारमा रहेको शिलाखण्ड (महामुद्रा)को पूजा हुने भएकाले, त्यो मन्दिरलाइ योनीतीर्थ पनि भनिन्छ । गुरु मछिन्द्रनाथ, गुरुगोरखनाथ, लोना चमारी र इस्माइल जोगी जस्ता तान्त्रिक साधकहरुले सिद्धि प्राप्त गरेको थलोको रुपमा चर्चित त्यो मन्दिरमा, प्रत्येक बर्ष श्रावण महिनाको निश्चित कुनै तीन दिनलाइ त्यहाँ माताको रजस्वला हुने समय मानिन्छ । ती तीन दिन मन्दिरका सबै ढोका बन्द गरिन्छन । मन्दिरभित्र भने तान्त्रिक बिधिद्वारा यज्ञ र हवनको आयोजना गरिएको हुन्छ । चौथो दिन मन्दिरको ढोका खुलेसँगै त्यहाँ दुइ किसिमको प्रसाद बाडिन्छन । एउटा हो गर्भकुण्डको जल । दोस्रो हो रातो कपडाको टुक्रा, जसलाई रजस्वला भएकी माताको प्रतिक प्रसाद मानिन्छ । त्यो प्रसाद लिनको लागि मानिसको मारामार भिड हुनेगर्थ्यो ।

दर्शनार्थीको लाइनले मन्दिर परिसरको तीन फन्का घुमिसकेको थियो । डेडघण्टा लाइनमा बसेपछि धक्का-मुक्की गर्दै बल्लतल्ल मन्दिर भित्र पस्ने अवसर पाइयो । डांडाको टुप्पोबाट झन्डै ३ सय फिट तल रहेको मन्दिरको गर्भ गृहसम्म पुग्न र फर्किनको लागि बनेको एउटा साँगुरो सिंढी । मान्छेको ठेलमठेल भीड । धूप र तेलको बत्तीबाट निस्कीएको कुइरी मण्डल धुँवाले भरिएको थियो मन्दिरको गर्भगृह । दर्शन पश्चात त्यहाँ पाइने जल र प्रसाद भने काठमाडौँको गुहेस्वरी मन्दिरमा जस्तो खाल्टोबाट निकालेर दिइदो रहेछ । गर्भ गृहको निसास्सिँदो वातावरणबाट निस्केर बाहिरको खुला हावामा पुग्दा, कुनै ठूलो विपतबाट उन्मुक्ति पाएसरह भएको थियो । फर्केर गौहाटी पुग्दा दिनको एक बज्दै थियो ।

शिलोंग जाने अन्तिम बस दुइबजे छुट्ने गर्थ्यो । खानाखाए लगत्तै स्टेट-बस चढेर शिलोङ्गतर्फ लागेका थियौं । घुमाउरो साँगुरो एकसय कि.मि. बाटो पारगर्न पाँच घण्टा लगाएको बस साँझ पर्नलाग्दा शिलोंग पुगेर रोकियो । झमाझम पर्दै गरेको झरीको कारण भिरालो पाखामा हरियालीले झकिझकाउ शिलोङ्ग झन् सुन्दर बनेको थियो । गौहाटीको निस्सासिदो गर्मीबाट निस्केर शिलोङ्ग पुग्दा आफ्नै घरगाउँ पुगे जस्तो लाग्यो । करिब पाँच हजार फिटको उचाइमा रहेको शिलोङ्ग हिल-स्टेशन मात्र नभएर आसामको ग्रीस्मकालीन राजधानी पनि हो । गोराहरुले शिलोङ्गलाइ ‘स्कटल्याण्ड अफ द इस्ट’को उपनाम दिएका थिए ।

त्यो बेला म ठुलै भइसकेको थिएँ । ‘अच्छा’ र‘ले किन’ जस्ता शब्द मिसाएर बोल्ने, खाइलाग्दो ज्यान भएको डाडापारीको एकजना हँसमुख राई हाम्रो घरमा मकै बेसाउन आइरहन्थ्यो । उसले कालाजादु गर्ने आसामका ठिटीहरुका गज्जबका रमाइला गफ सुनाएर अरुहरु लाई हँसाउथ्यो र उ आफू पनि मज्जाले हाँस्ने गर्थ्यो । शिलोंगको खाशी हिलमा बस्ने आदिबासिलाई खसिया भनिन्छ । धेरै बर्षसम्म होम गार्डको ड्युटीमा खटिएको उसले त्यहाँ कालाजादु जान्ने थुप्रै खशिनीहरुलाई भेटेको थियो अरे । भन्थ्यो, ‘खशिनी ठिटीले नेपाली ठिटालाई त देख्नुहुँदैनथ्यो, कालाजादुले छोपेर बोको बनाइहाल्थे । सोझा नेपाली ठिटाहरु खशिनीले उठ भन्दा उठ्ने, बस भन्दा बस्ने गर्थे । म पनि केही बर्ष त्यस्तै गज्याङगमा फँसेको थिएँ । ‘लेकिन’, राइको छोरो थिएँ म पनि । ‘अच्छा सबक’ सिकाएँ मैले खशिनीलाइ । उसैलाई बोको बनाएर आफ्नु गाउँ फर्किए । ‘लेकिन’ खुशे (कान्छी) लाई घरमा भित्र्याएपछि मैले त्यतातिर जाने नामसम्म पनि लिईन । त्यो खशिनी ट्वाँ… परेर अझै पनि मलाई पर्खीबसेकी होली !’ भन्दै मज्जाले हास्ने गर्थ्यो ।

प्रत्येक पटक आउँदा उसको हँसाउने बिषयबस्तु भने खशिया ठिटीहरुको वरिपरी नै घुमेको हुन्थ्यो । उसले सुनाउने गरेको खशिया ठिटीहरुको प्रसङ्ग सुन्दा लाग्थ्यो उसले आफ्नु हिजोलाई बिर्सिन सकिराखेको थिएन । भन्थ्यो, खाइलाग्दो ज्यान र बान्की परेको अनुहार भएका खशिया ठिटीहरु सारै मेहनती र इमान्दार हुन्छन । खसमको सेबा गर्नमा उनीहरुलाई कसले भेट्ने र ! बाँच्नुको मजा अहिलेमा मात्र सीमित हुन्छ भन्ने कुरा बुझेका उनीहरुले भोलिलाई बिश्वास नगर्ने भएकाले आफ्नु खसमलाई हत्तपत्त उम्किन भने दिदैनथे । रमाइला कुरा टुङ्ग्याउँदै मकैको बोरा बोकेर राई आफ्नुघरतिर लाग्थ्यो । म भने, मान्छेलाई बोका बनाउने सीप भएका ती तरुनीहरु कस्ता हुन्छन होला भन्ने सोचमा रुमल्लीएको हुन्थें ।

बर्षौं अगाडिको त्यो कुरा मनको कुन कुनामा कता लुकेर बसेको थियो कुन्नि ! मैले शिलोंगमा पाइला टेकेको थाहा पाउने बित्तिकैउ त मेरो अगाडि ठिन्ग्रिङग उभिन पो आइपुग्यो । ‘कालाजादु’ को त्यो कौतुहल कसरी मेटाउने होला भन्ने लागेको मैले भगिरथसँग सल्लाह लिन खोजेको थिएँ । गफ गर्न बिछट्टको सिपालु थियो भगिरथ । उसको त्यही सिपको कारणले नै हो मैले उसलाई आफ्नु सहयात्री बनाएको पनि । उसले आफ्नु अक्किल लगाउँदै भन्यो, ‘पख्नुस दाइ ! ठूलो सङ्ख्यामा नेपालीको बसोबास भएको शिलोङ्गमा, त्यो जाबो कुरा पत्ता नलाग्ने कुरै छैन । त्यो काम मेरो जिम्मामा भयो’ भने पछि म ढुक्क भएको थिएँ ।

अर्कोदिन दिउँसो मज्जाले घाम लाग्यो । हामीहरु बजार घुम्न निस्किएका थियौं । बजारसानु थियो, खासै रमाइलो लागेन । त्यो भन्दा रमाइलो त त्यहाँबाट देखिने अग्ला अग्ला हरिया डाडाहरु र केहीटाडा देखिने फाँटहरुनै थिए । बजारबाट बोटिङ्ग गर्नको लागि वार्ड–लेकतिर लाग्यौं । बोटिङ्ग पछि वार्ड-लेकको तारबारभन्दा बाहिर बनेका खुड्किला ओर्लेर रेसकोर्सतर्फ जाँदैगर्दा बाटो मुनी बाँसको टाटीले बनेको, नीलो रङ्गले पोतेको एउटा घर देखियो । राता, पहेला र नीला रङ्गका फूलले झकि-झकाउ थियो त्यो घर । फूलेको फूलको छेउमा उभिएर, फूललाई राम्ररी ननिया लुञ्जेल म अगाडि जान सक्दिनँ, यो मेरो कमजोरी हो । फूलको सजावाट देख्दा त्यो घरले हामीलाई निम्ता दिएझैँ लाग्यो । घरको गेटमा ‘गोर्खाली मोमो’ लेखिएको सानो साइनबोर्ड झुन्डिएको देख्दा आफ्नै मान्छेको घरजस्तो मान्दै भित्र पस्यौं । मोमो पसले, गफ गर्न निक्कै सिपालु थियो । मोमोको अर्डर गरेसँगै ‘काला-जादु र बोकाको’ प्रसङ्ग यसैसँग उठाउनु पर्लाजस्तो लागेर कुराको उठान मात्र के गरेको थिएँ । ऊ त्यस्तो अवसर गुमाउन तयार थिएन । तत्काल तयार भयो ।

‘भाइहरु नेपालबाट आएको हो क्यारे’ ? भनेर उसले सोद्धा, मैले ‘म नेपाल बाट हुँ’भन्दै भगिरथतिर औंलो तेर्स्याउदै ‘त्यो मोटो भुन्टे भने सिक्किमबाट आएको हो’ भन्दा भगिरथ होटेल नै थर्काउने गरी हाँसेको थियो । मैले भनेको कुनै पनि कुरामा उसले रिसाउन जानेको थिएन । अङ्ग्रेजी फिल्मको ‘लरेल’ र हार्डीको’ जस्तो तपाईंहरुको जोडी रमाइलो रहेछ भन्दै पसले पनि मज्जाले हाँस्यो ।

हामीहरुले मोमो खाउन्जेल, पसले चुपचाप बसिरह्यो । मोमो खाइसकेपछि, उसले हामीलाई सुन्दर फूलका थुप्रै गमलाले भरिएको पछाडिपट्टीको आफ्नो आँगनमा लिएर गयो । फूलले सिङ्गारीएको उसको आँगन फराकिलो र खुल्ला थियो । त्यहाँबाट देखिने डाँडाहरुतिर उसले आफ्नो चोरीऔंला तेर्स्याएर भन्यो, ऊ त्यो पर देखिएको डाँडा गारो-हिल हो । त्यसको छेउको डाडालाई जयन्ती-हिल भनिन्छ । हामी बसेको यो सुन्दर ठाउँ भने ‘खासी हिलमा’पर्दछ । यस्तै अर्को एउटा ‘नागा-हिल’ छ तर त्यो यहाँबाट देखिँदैन । आजकल नागा-हिललाइ ‘नागाल्याण्ड’ भन्छन् जहाँ छापामार नागाजाति र भारतीय सेनाकाबीच बेला-बेलामा घमासान लडाई भइरहन्छ । उसले त्यो कुरा सुनाउदै गर्दा मैले ‘अक्कूम आओ’ ले सुनाएको नागाल्याण्डको युद्धको कुरा सम्झिएको थिएँ ।

पसलेले भन्दै थियो, सिलिगुडीको नक्सालबाडीबाट सुरुभएर जलपाईगुडीको ‘डंकन चिया बगान’ हुँदै भुटानको सिमानाको बजार सामची र फुन्त्सुलिंगसम्म फैलिएको हरियो चिया बगान, कुनै बेला नेपालबाट कामको खोजीमा आउने श्रमिकहरुको गन्तब्य हुनेगर्थ्यो । गोराहरुले त्यो क्षेत्रको नाम ‘डुअर्स’ (Doers) अर्थात ‘कामदारको थलो’राखेका थिए । अहिले पनि त्यो क्षेत्रको केही हिस्सा ‘डुअर्स’ कै नामले चिनिन्छ । त्यहाँका चियाबगानमा नेपाली कामदार यति धेरै भएकि, बगान मालिकले न्युनतम ज्यालामा समेत दलाली गर्नथाले । काम पाउन हम्मे, हम्मे पर्नथालेपछि चियापत्ती टिप्नुको बिकल्प खोज्दै नेपालीको ठुलो सङ्ख्या ‘औलो रोगले ग्रस्त’ आसामतिर पस्यो । कोही दिब्रुगढ़ पुगे । कोही मणिपुर । केहीले डीग्बोईको तेलखानीमा काम गर्न थाले । गाउँतिर पसेका कोही भने कुंयेर खेती (उखुबारी) र गाई भैंसी पालनमा लागे । धेरै रुपैयाँ कमाउछु भन्ने सोचहुने केही टाठा-बाठाहरु जसलाई औलो रोगको बारेमा जानकारी हुन्थ्यो, उनीहरु भने औलोको डरले ब्रह्मपुत्र नदीको किनारमा कतै बास नबसी, रेलबाट ओर्लिएर सीधै सिलोङ्ग आउँथे अरे ।

खासिहिलका आदिवासी खसिया सम्पन्न भएकाले, कामको खोजीमा नेपालबाट आउने तन्नेरीहरु राम्रो तलब सुविधा पाउने शर्तमा घरेलु कामदार भएर बस्न थालेका थिए । प्रकृतिले दिएको सुन्दरतम उपहार हो यौवन । उखान गर्छन् ‘बैंसमा स्याल पनि घोर्ले’ । मान्छेको त झन के कुरा ! त्यो उमेरको जोडी छनोटको क्रम बडो उदेकलाग्दो हुने गर्छ । प्रत्येक तन्नेरी र तरुनीको आँखा एक अर्कोको खोजीमा लागेको हुन्छ । त्यहाँका आदिवासी तरुनीहरुसँग हाम्रा कविहरुले कल्पना गर्ने खालका न त हरिणका जस्ता आँखा हुन्छन । न बारुलाको जस्तो छिनेको कम्मर । न सुकोमल हातगोडा । न त हाँसको जस्तो हिंडाईको चाल । स्वच्छ हावापानीमा हुर्किएका आदिवासिका स्वस्थ छोरीहरु जति स्वच्छन्द, निर्भीक र स्वाधीन हुन्छन त्यत्ति नै मैत्री, र करुणाले भरिएका हुन्छन् ।

आदिवासीका सुन्दर छोरीहरुको बैंसालु आँखा, बलिया पाखुरा र तिघ्रा भएका नेपाली लक्का तन्नेरीहरुमा पर्नु अस्वाभाविक भएन । मातृसत्ता कायम रहेको आदिवासीको त्यो वर्गमा सम्पत्तिको हकदार छोरी हुनेभएकाले, कामको खोजीमा आउने तन्नेरीहरुले उनीहरुलाइ नकार्ने पनि कुरा थिएन । समय बित्दै गयो । आदिवासीका छोरीहरुको चाहनाको खेलौना बनेर बस्न सहर्ष स्वीकारेका तन्नेरीलाइ खसिया केटीहरुसँग घरजम गरी बस्न कुनै गाह्रो भएन । खसिनीको खसम भएर बस्नेको सङ्ख्या बढ्दै गयो । खासिहीलबाट सुरु भएको त्यो परम्परा गारोहील र जयन्तीहीलसम्मनै फैलियो ।

अभावमा घर छोडेर कमाउन हिँडेको कुनै पनि मानिसले आफ्नो घरबार बिर्सेको हुन्न । सोचअनुसारको कमाइ भएपछि ऊ आफ्नो घर फर्किन सँधै लालायित नै रहेको हुन्छ । खसिया ठिटीसँग घरजम गरेर बस्ने तन्नेरीहरूलाई भने घर फर्किने कुरा सहज थिएन । परदेश लागेको छोरा-मान्छेलाई खसिया केटीहरुले हातबाट चिप्लिएको माछो सरह, भेटिन्छ नै भन्ने ग्यारेन्टी नभएको ठान्दथे । ईश्वरले हरेक जीवलाई तेर्सो बनायो तर ठाडो पारेर बनाएको मान्छे नै सबभन्दा बढी टेडो हुन कुनै बेरलाग्दैन भन्ने कुरा उनीहरुले राम्ररी बुझेका हुन्थे । त्यसैले, आफ्नो खसमलाइ घर फर्किएर जानबाट रोक्न उनीहरुलाई थप सुख–सुविधा जुटाइदिने र आफ्नो हाउभाउमा परिवर्तन गर्दै उनीहरुलाई ‘बोका बनाएर’राख्ने गरेका हुन्थे ।

उसले अगाडि भन्दै थियो । जादु-टुनाको थलो मानिने आसामको बोलीचालीको भाषा आसामी हो । आसामी भाषामा, अल्मल्याएर राख्ने कामलाई ‘बोका बनाउनु’भनिन्छ । भाषाको सही अर्थ नबुझेको कारणले गर्दा नै होला, ‘खसिया केटीले नेपालीकेटाहरुलाई काला-जादु गरेर बोका बनाएर राख्ने गर्छन् र आफ्नो काम गराउने बेला मात्र मान्छे बनाएर काम लिन्छन्’भन्ने उखान तपाईँहरुकोतिर चलेको । यी सब कुरा उसले आफ्नो हजुरबाबुको मुखबाट सुनेको थियो अरे । भन्थ्यो, म पनि त्यही जातको वर्णशंकर हुँ । मलाई गौरब छ मेरो पुर्खाप्रति, जसले आफ्नो संस्कृति यहाँसम्म फैलाउन सफल भए भन्दै उसले आफ्नो कुरा टुङ्गयाएको थियो ।

मोमो पसलेले, कहानी सुनाएजस्तो गरी रोचक ढङ्गले यी सब कुरा सुनाएपछि मैले उसलाई सोधेको थिएँ ‘दाइ, ‘तपाईं के काम गर्नु हुन्छ ?’ उसले भन्यो- ‘म साहित्यमा बामेसर्दैगरेको एउटा अल्लारे हुँ । ‘नीलो चोली’र ‘आगो’जस्तो किताब लेख्ने सुवास घिसिङ्गजस्तो लेखक बन्नेवाला छैन म । म त ‘इन्द्रबहादुर राई’या ‘हरिभक्त कटवाल’जस्तो साहित्यकार बन्न चाहन्छु ।’ उसले हामीलाई उसको कोठाको भित्तामा झुन्डाएको हरिभक्त कटवाल र इन्द्रबहादुर राईको फोटो पनि देखाएको थियो । बचपनदेखिको मेरो एउटा ठूलो कौतुहल मेटाई दिएकोमा उसलाई धन्यवाद दिँदै हामी होटेलतर्फ लागेका थियौँ ।

यसमा तपाइको मत

अन्य समाचार