थप २ सय ५० जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या चार हजार ६ सय १४ पुग्यो

काठमाडौं,
जेठ २९ ।

थप २ सय ५० जनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टामा २ सय ५० जनामा सङ्क्रमति पुष्टि भएको जानकारी दिएको हो । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ६ सय १४ पुगेको छ ।

विहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ २ सय ५० थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । सङ्क्रमण देखिनेमा २ सय ३० पुरुष र २० जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १५ जनाको मृत्यु भइसकेको छ । कोरोना जित्नेको सङ्ख्या भने आठ सय ६१ पुगेको छ । बिहीबार १ सय ८७ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमितमा विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका ३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा सङ्क्रमण पोजेटिभ देखिएको छ ।

यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा सङ्क्रमण देखिएको प्रवक्ता गौतमले बताए । सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । अहिले देशभरका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन् । देशभर १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार