- लेखनाथ पोख्रेल
खानेकुरामा भान्टा र लगाउने कुरामा ‘फेस-मास्क’ । यि दुई चिज मलाई पटक्कै मन पर्दैनथ्यो । भान्टा मन नपर्नुको कारण भने अलि अप्ठेरो र सुनाउन असजिलो प्रकृतिको छ । तर, प्रसङ्ग नै निस्किसकेपछि अप्ठेरो पो के मान्नु र !
नेपाल, सिक्किम, भुटान, दार्जिलिङ र डुअर्सलगायतका ठाउँबाट आएर जलपाईगुडीमा पढन बसेका हामी दशजना नेपाली, कलेजको न्यु-होस्टेलमा बस्ने गर्थ्यौं । नागाल्याण्डबाट आएको नेपालीभाषी ‘अक्कुम आओ’ पनि हामीसँग जोडिन पुगेपछि हामीहरुको ग्रुप एघार जनाको भएको थियो । बङ्गालीको भान्सामा चिनी हालेर पकाइने गुलियो दाल । समुद्री शिध्राको अचार । भान्टा र भिन्डीको तरकारी पाक्नु सामान्य कुरा हुन्थ्यो । छात्रबासको भान्सामा भान्टा पाकेको दिन दार्जिलिङगे र सिक्किमेली ठिटाहरुले ‘ज्वाईं आयो’ भन्दै थाल ठटाएर उधुम मच्चाउने गर्थे । त्यस्तो बेला थाल ठटाएर देउता चढेको झाँक्री जस्तो बेपत्तासँग उफ्रिने मध्येको अग्रपङ्क्तिमा हुन्थ्यो ‘अक्कुम आओ’ ।
कालचक्र बिचित्रको हुन्छ । मान्छेले जे गर्दिन भनेको हुन्छ त्यही काम नगरी नहुने परिस्थिति आइपर्छ । जुनकुरा खान्न भनिन्छ, एउटा समय यस्तो आउछ त्यहीँ कुरा मनपर्न थाल्छ । यो मेरो नितान्त नीजी अनुभब हो । घरकी बुढीमाउ ओच्छ्यान परेसँगै, काम गर्ने केटोलाइ पनि आजकल बेलामौकामा बटारिने देउता चड्ने गर्छन । त्यस्तो बेला भान्सामा पसेर आफैंले टुप्पीहल्लाउनुको बिकल्प हुँदैन । त्यस्तो बिशिस्ट परिस्थितिमा, दस मिनेटको अबधिमा छिटो र छरितोसँग लपक्कपरेर पाक्ने ‘ज्वाईं’ भन्दा अशल कुनै पनि तरकारी नभेटिनेहुँदा, आजकल ‘ज्वाईं’को तरकारी मेरो पहिलो नम्बरको रोजाइमा पर्नथालेको छ ।
हरियो बालीनाली चोरेर खानपल्केको गाई, गोरुको मुखमा चोयाबाँसको महला बुनेर लगाउने चलन थियो गाउँघरमा । त्यही महलाको आधुनिक नाम हो ‘फेस–मास्क’ । मास्कले मुख छोपेका, फिल्मी एलियन जस्तो देखिने मानिस पनि मलाई ‘ज्वाईं’ मननपरे जस्तैगरि ठ्याम्मै मन पर्दैनथ्यो । उर्दु शायरी र गजलको सौकिन भएको हुँदा मैले मास्कलाइ नकाब भन्ने गरेको छु । मानिस चिनिने भनेको उसको मुख, नाक र आँखाको आकार प्रकारले हो । आँखामा कालो चस्मा, नाक र मुख छोपिनेगरि नकाब लगाएपछि कसले कसलाई चिन्ने । निर्बस्त्र भएर हिँडेको मानिसलाई पछाडिबाट हेर्दा को हो भनेर जसरी ठम्याउन सकिदैन, नकाब लगाउने मानिसको परिचयको हैसियत पनि त्यस्तै नै हो । एउटा समय थियो, नकाब लगाएको कुनै मानिस गाउँघरतीर छिरेको रहेछ भने त्यस्तालाई चोर पो हो कि क्या हो ! भन्ने गर्थे । नकाबधारी त्यस्ता मानिसलाई चिन्ने प्रयास गर्नखोज्दा फसादमा फंसेका थुप्रै अनुभबहरु आफुसँग आलै भएकाले आजकल त्यस्ता मानिस को होलान भन्ने कुराको सोधीखोजी गर्न छोडेको छु । यि आदि… कारणले गर्दा नै हो, मलाई मास्क मन नपरेको हो ।
समयले कुनबेला कोल्टे फेर्ने हो भन्ने कुरा कसलाई थाहा । चोर–उचक्काले लगाउने गरेको मास्क भद्र–भलाद्मीले पनि कुनैदिन लगाउनुपर्ला भन्ने कुराको हेक्का कसले राखेको थियो होला र ? परिस्थिति यस्तो बन्नपुग्यो कि, ‘बाच्ने रहर भए मास्क लगाउ, नत्र सिलटिम्मुर खाउ’ भन्ने लहर एकाएक नै चल्नथाल्यो । ‘राजाके आगे, बाबाकी दुहाइ’, आदेशको अगाडि कसको के चल्छ ! दशा भन्ने कुरो बाजाबजाएर आउँदैन क्यारे ! मास्क नलगाई बाहिर निस्किएको कुनै बेला आदेशको अबज्ञा गरेको भन्दै पुलिसले गोर्खेलौरी लगाएर खन्जाहा बनायो भने को जिम्मेवार हुने ? त्योबेला गोर्खे लौरीले खुस्किएको ढाडमा काम्रो बाँध्नतिर लाग्ने कि इन्साफ खोज्न हिड्ने ? त्यस्तोखाले गज्याङ्गमा फस्नुभन्दा मास्क लगाउनु बेस ठानेको मैले, मास्क पसलको मारामार भिडभित्र छिरेर हालसालै केही थान मास्क हातपारेको छु । आजकल आफुलाई मनपर्ने ‘ज्वाईं’ नामको तरकारी खोज्न बजार जाँदा पनि मुखमा मास्क झुन्ड्याएर मात्र निस्किने गरेको छु ।
केटाकेटी उमेरमा, मनमिल्ने साथी भेट्दा बाटोको छेउमा बसेर साउतीमार्दै गरेको बेला, पँधेराबाट चोखोपानी लिएर घर फिर्दै गरेकी गाउँकी महिलाले छुइ..छुइ.. भन्दा, खुम्चिएर छेउ लाग्नुपर्दा छुवाछुतको भेदभाब गरेको ठानिन्थ्यो । आजकल त, छुवाछुतको भेदभाब यती भयाबह बनिसकेको छ कि, मास्क नलगाएको आफ्नु घनिष्ट मित्र नै किन नहोस, झ्वास्स छेउमा आइपुग्यो भने भ्यागुतो उफ्रिएझैं बुर्लुक्क उफ्रेर दुइ हात पर पुग्नुपर्ने बाध्यता बनेको छ । मास्क नामको महला नलगाउने त्यस्ता मानिसलाई त पुलिसले मात्र होइन, पब्लिकले समेत दोक्च्याउँन बेर लाउदैनन् । मान्छेलाइ देख्दा मान्छे नै तर्सिनु पर्ने कस्तो समय !
उहिले उहिले, धेरै पहिले, सत्ययुगमा ‘रक्तबिज’ नामको एउटा राक्षस हुनेगर्थ्यो अरे । यो कलियुगमा भने उसले आफ्नु नाम र स्वरुप दुवै परिबर्तन गरेको छ । उसको परिबर्तित नाम हो ‘हस्तबिज’ । हैट ! कस्तो उल्का ! एउटा मान्छेले अर्कालाइ छोयो कि चङ्गाचैट भएजसरी दुवैजना नै चैट हुने ! हाम्रा धर्मग्रन्थहरुको मेसो नपाएका खैरेले त्यसको नाम ‘कोरोना भाइरस’ (कोभिड–१९) राखेका छन् । अरुहरुले ‘हस्तबिज’लाई, ‘कोरोना महामारी नै हो’ भनेको सुन्दा एकदिन मेरो चित्त कटक्क काटिएजस्तो हुनगयो । उसलाई सम्मानजनक नामले सुसज्जित गर्ने सोच बनाएको मैले नाम जुराउने प्रयत्नमा निकै समय खर्चियें । लागिपरेपछि श्रीमती भित्र्याउन त गाह्रो पर्दैन, जाबो नाम खोज्ने कुरा ! नभेट्ने कुरै थिएन, भेट्टीइत हाल्यो ! उसको बैकल्पिक नाम जुर्नगयो ‘कोरोना माहायज्ञ’ । अग्निहोत्रले मात्र सन्तुस्ट नहुने । बली चढाउँनैपर्ने माहायज्ञको स्वभाब भएको उसको आध्यात्मिक नामाकरण गर्न पाएकोमा म दङ्ग परेंको छु ।
‘कोरोना महायज्ञ’ सुरुभएको चार महिनाको अबधिमा, ‘पृथ्बीको सम्पूर्ण खनिजको दोहन र भण्डारण लागेका, ब्लु-व्हेलदेखि ट्याङ्न्ग्रा माच्छा, गाईदेखि सर्प, सालक, चमेरा र साङ्ला जस्ता सबै जलचर र थलचर हसुर्नमा तल्लीन रहने । हिमाल, पहाड, खोलानालालगायत सम्पूर्ण पर्यावरणको बिनासमा उद्धत । अनन्त आकासको शान्ति भङ्गगर्दै चन्द्रमा र मङ्गल ग्रहमा घरजमगरी भान्टा उमारेर खाने–बस्ने सोच राख्ने, तीनलाख चालिस हज्जार भन्दा बढीको बली चडीसकेको छ । त्रिपन्न लाख भन्दा बढी लाइनमा बसेकाछन् ।
क्षणभरमा नै संसार ध्वस्तपार्नसक्ने जैविक र परमाणुबमको भण्डारण गरेर बसेका लडाकुहरु (Warrior)सँग पनि ‘कोरोना माहायज्ञ’बाट उम्किने कुनै उपाय छैन अरे ! उपाय नभेटेका उनीहरु सबै आ–आफ्ना पुर्पुरोमा हात लगाएर बसेका छन । हाम्रो त झन के कुरा ! तर, अचम्म ! गरिब होस् कि धनि, रोकथामको बिधि भने सबै धर्म, जातजाती, बर्ण र गोत्रको लागि मात्र एउटा । त्यो उपाय भनेको ‘एक्लै बस्ने र हिड्दा फेस मास्क लगाउने’ मात्र हो ।
असमानताको हदसम्मको मर्मलाइ बुझेर त्यसलाई कार्यान्वयनमा ल्याउने सुझ-बुझ र अचम्मको बिधि–बिधान भएको, सारै बुझक्कड रहेछ कोरोना भाइरस । कोरोनाले देखाएको त्यस्तो उदार र समानताको उपचार पद्धति थाहापाएको दिन मैले उसलाई सलाम ठोकेको थिएँ । केहीदिन अगाडि मात्र एउटा इन्डियन च्यानलले बिहार र उत्तर प्रदेशका मानिसले आफ्नु गाउँघरबाट हिमाल देखेको कुराको प्रत्यक्ष्य प्रसारण गरेको थियो । छर्लंग देखिएको हिमाल र निलो आकाशको दृश्यले मलाई त कोरोना बिनासको अबतार नभएर बिकाशको अबसर बनेर आएको पो हो कि झैं लाग्यो ।






