पोखरा,
जेठ ९ ।
विनोद वानियाको आवाजमा सन्देशमुलक गीत ‘जित्छौ हामी’ सार्वजनिक भएको छ । सञ्चारकर्मी सन्जोक बस्यालको शब्द, श्यामसुङ तामाङको एरेन्ज र गायक बाँनियाकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा राजनितिज्ञ, कलाकार, खेलाडीहरुले नेपालीसँग जितको लामो इतिहास रहेको भन्दै सकसपूर्ण दिनलाई जित्न सक्छौं भन्ने सन्देश दिएका छन् ।
भिडियोमा पूर्वप्रधामन्त्री बाबुराम भट्टराई, गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गायिका तथा सांसद कोमल वली, नेपाली फुटवल टिमका पूर्वकप्तान अनिल गुरुङ, रङ्गकर्मी अनुप बराल, नायक राजबल्लभ कोइराला, नायिकाद्वय दीया मास्के, सिपोरा गुरुङ, महिला फुटबल खेलाडी सावित्रा भण्डारी, कलाकार प्रकाश घिमिरे, माओत्से गुरुङ, निराजन प्रधानलगायतका व्यक्तित्वलाई फिचर गरिएको छ ।
गीतको भिडियोलाई विनोद पोखरेल, श्रीधर पौडेल, मिलन शंकर, सविन गायक, कमल प्रसाई र विवेक बस्यालले खिचेका हुन् । ड्रोन छायांकन कमल प्रसाई र सुरज श्रेष्ठको छ । सन्जोक र विजय बस्यालले निर्देशन गरेको भिडियोमा शाहिल खान र विज्ञान राईको सम्पादन छ ।






