काठमाडौं,
जेठ ८ ।
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको हो । यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो ।
मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनी श्रीलङ्कन गेस्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइन कचनकवल झापामा रहेका थिए ।
सङ्क्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको सङ्ख्या ४९ पुगेको हो । ‘आज डिस्चार्ज हुने दुई पुरुष र दुई महिला छन्,’ डा. देवकोटाले भने, ‘उनीहरु चारैजना कोरोना सङ्क्रमण देखिएको नौँ दिनमा कोरोना जितेका हुन् ।’
अस्पतालका अनुसार पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा दुईजना भक्तपुरका र दुईजना काठमाडौंका हुन् ।
मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण गरिएको छ ।
यस्तै कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीका १-१ जनाको मृत्यु भएको छ ।






