साहित्यकी शोभा

 – गीता अधिकारी

हरेक मानिसका आ-आफ्नौ चाहना र इच्छा हुन्छन् । ती इच्छा र चाहना सानैदेखि टुसाएका हुन्छन् र समयक्रमसँगै प्रष्फुटित हुँदै जान्छन् । यस्तै सानैदेखि साहित्यतर्फ लगाव थियो शोभा केसीको । सबै कुरा सहज हुँदाहुँदै पनि शारीरिक रुपमा सानैदेखि केही कमजोर देखिएकी उनी तीक्ष्ण स्वभावकी थिइन् ।

देशकै राजधानी काठमाडौंको डिल्लीबजारमा बुबा गेहेन्द्र केसी र आमा मखनदेवीको कोखबाट चौथो सन्तानका रुपमा जन्मिएकी थिइन् शोभा । बाबा–आमाको चाहना चौथो सन्तान छोरी थियो । बाबा–आमाकै इच्छा पूरा भयो उनी जन्मिएपछि । शोभाले ठूली दिदी र दाइलाई सानैमा गुमाइन् । एउटा छोरा र छोरी मात्र हुर्काउन सफल भएका शोभाका बुबाको लाडप्यार जति छोरीमै केन्द्रित थियो । शोभा ६ महिनाको उमेरदेखि नै खुट्टा भाँचिएर थला पर्न थालेकी थिइन् । सानोभन्दा सानो ठक्कर लागे नि खुट्टा भााँचिएर प्लास्टर लगाएर राख्नु पथ्र्यो । त्यसरी नै पटक–पटक भाँचिन शुरु गरेको शोभाको खुट्टा १७ पटकसम्म भाँचिएको उनी बताउँछिन् । खुट्टा भाँचिएर अप्रेशन, प्लास्टर र बेडरेस्टमै बित्यो शोभाको बाल्यकाल । देशकै जेठो अस्पताल वीर अस्पतालमा उनको उपचार भइरहेको थियो । वीर अस्पतालका वरिष्ठ चर्चित सर्जन अञ्जनीकुमार शर्माले उनको उपचार गरिरहेका थिए । ‘१२ वर्षसम्म जोगाएर राख्नू, त्यसपछि हड्डी नि छिपिन्छ र बालिकाले नि आफ्नो केयर गर्न सक्छिन्, त्यसैले भिडभाड र हिलो–चिप्लोमा जान नदिनू,’ डाक्टरले भनेका थिए उनका बुबालाई । त्यसैअनुसार शोभाका बाबुले शोभालाई कतै पनि जान नदिईकन राखे र विद्यालय पनि पठाएनन् । शोभाले प्रारम्भिक शिक्षा बुबाकै काखमा सिकिन् ।
बुबा वन मन्त्रालयको नासु पदमा कार्यरत थिए । बुबाले छोरी स्कुल नगए पनि सम्पूर्ण कुराहरु सिकाएका थिए । अक्षर चिनाउनेदेखि हरेक ज्ञानगुनका कुरा उनले सानो उमेरमै बुबाबाट सिक्ने मौका पाइन्, जसका कारण ७ वर्षको उमेरमै उनले कोरेर पठाएको कविता रेडियो नेपालको बालकार्यक्रममा प्रसारण भयो । आफ्नो पहिलो रचना रेडियाबाट प्रसारण भएको दिन उनी निकै हौसिएकी थिइन् । यसपछि रेडियो नेपालको बालकार्यक्रममा उनका रचनाहरु नियमितजसो प्रसारण हुन थालेका थिए । बुबालाई अफिस जाँदा उनले पोस्ट गरिदिन भनेर खाम थामाउँथिन् । बुबाले पुतलीसडकमा रहेको हुलाक बक्समा उक्त खाम खसालिदिन्थे । शोभाचाहिँ घरमै साँझको साढे पाँच कति बेला बज्छ भनेर पर्खिरहन्थिन् । साढे पाँच बजे वासुदेव मुनालको बालकार्यक्रम आउँथ्यो, जसमा प्रायःजसो शोभाका रचना प्रसारण हुन्थे । यसरी आफ्ना रचना प्रसारण भएकोमा शोभा दङ्ग पर्थिन् ।

यसरी शोभाको साहित्यतर्फको लगाव बढ्दै गयो । चलचित्र भनेपछि हुरुक्कै हुने शोभालाई बुबाले खुट्टाको प्लास्टर खोल्न अस्पताल जाँदा पनि फिल्म हेराएर ल्याउँथे । बुबाको काखमा बसेर फिल्म हेर्दा नायक–नायिकाले गीत गाउँदै गर्दा शोभाले पनि सँगसँगै गाएको देखेर हलमा सबैको प्रशंसाकी पात्र हुन्थिन् । किनकि पूरा गीत मिठो स्वरमा गाउने गर्थिन् उनी । त्यस्तै, अस्पतालको बेडमा पनि डाक्टर, नर्स र अरु बिरामीका मान्छेहरुलाई गीत गाएर, रमाइलो बोलेर मुग्ध पार्थिन् । यसरी शोभा बाल्यकालमै प्यारी थिइन् सबैकी ।

घरमै बुबासँग प्रारम्भिक शिक्षा लिइरहेकी उनी पढ्नका लागि पनि तेज थिइन् । त्यसैले त उनी पद्मकन्यामा एकैपल्ट ६ कक्षामा भर्ना भइन् । यसैबीचमा फेरि उनको खुट्टा भाँचियो, जसका कारण दुई वर्ष घरमै थन्किइन् उनी । दुई वर्षपछि बुबा-आमा कसैलाई नि नसोधी आफैँ बागबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालयमा कक्षा ८मा भर्ना भएर पढ्न थालिन्, जहाँबाट उनले एसएलसी पास गरिन् । यसपछि पद्मकन्या कलेज, बागबजारबाट स्नातक तहसम्मको अध्ययन गरिन उनले ।

बागबजारको स्कुल जान थालेपछि शोभा हरेक शुक्रबार रेडियो नेपालको बाल कार्यक्रममा आफैँ उपस्थित भएर कविता, बालगीत र चुट्किला सुनाउन पुग्थिन् । रेडियो नेपाल भने पछि उनी त्यसतर्फ लागिहाल्थिन् । पछि दाहाल यज्ञनिधिले चलाउने कार्यक्रममा पनि कवितावाचन गर्न पुग्न थालेकी थिइन् उनी । त्यस्तै, प्रज्ञा–प्रतिष्ठानबाट हरेक वर्ष हुने राष्ट्रिय कविता महोत्सवमा पनि कवितावाचन गर्न उनी पुग्ने गर्थिन् र स्रोता÷दर्शकको वाही वाहीले फुरुङ्ग पर्थिन् ।

शोभाको कला र गलाबाट प्रभावित भएका कलाकार परिक्षित ढुंगानाले शोभालाई अभिनयतर्फ लाग्न प्रेरित गरे । उनले आफैँसित ‘रस रङ्ग’ कार्यक्रममा प्रहशन खेल्न सुरु गराए । बिस्तारै शोभाले प्रहशन हुँदै नाटक, टेलिचलचित्र र फिल्मतिर आफ्ना पाइला बढाइन् । कवि–गायिका बन्न रेडियो धाउँदै गरेकी शोभा २०४५ सालतिर त रङ्गमञ्चको कलाकार नै बनिसकेकी थिइन् ।

२०४८ सालमा रङ्गमञ्च पत्रिकाले उनको अन्तर्वार्ता छापेपछि उनले रङ्गमञ्च पत्रिकामा नियमित कला, साहित्य, सङ्गीततर्फको लेखनयात्रा पनि शुरु गरिन् । यहीँबाट उनले पत्रकारिता सुरुवात गरेकी थिइन् । २०५५मा प्रेस इन्स्च्यिुटको १४औं गु्रपबाट ९ महिने पत्रकारिता कोर्ष पनि पूरा गरिन् । त्यसो त उनले पद्मकन्यामा पनि पत्रकारिता विषय लिएर नै अध्ययन गरेकी थिइन् । पत्रकारितामा भिजेपछि अभिनय क्षेत्रबाट टाढा हुँदै गएकी शोभाको चलचित्र पत्रकारितामा त्यतिबेला नाम उच्च हुँदै गएको थियो भने गीत, कथा, कविता र साहित्यका अन्य विधामा उनको कलम निरन्तर थियो । रङ्गमञ्च र जनधारणा पत्रिकामा कलम चलाउँदै गर्दा उनी रिपोर्टस क्लब खुल्दा संस्थापक सदस्य थिइन् ।

शोभा केसीको नाम नेपाली गीतलेखनका नारी हस्ताक्षरमा सशक्त रुपमा आउँछ । उनले रचना गरेका थुप्रै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय रहेका छन् । उनको पहिलो गीत लाक्पा शेर्पाले गाएका थिए । विक्रम संवत् २०४८ सालमा सार्वजनिक भएको लाक्पा शेर्पाको ‘झस्केर दुख्छ’ एल्बममा उनको गीत समावेश भएको थियो ।

‘यो कस्तो दुर्घटना भो
न घाउ नै छ न चोट नै छ
दुख्छ भित्र केही
बाहिर मात्र छटपटी भो…’

यो उनको पहिलो गीत रहेको थियो । शोभा गीत गाउन भनेपछि पनि हुरुक्क हुने गर्थिन् । उनको स्वरमा केही गीत रेकर्ड पनि भएका छन् । स्कुल–कलेजमा हुने कार्यक्रमहरुमा उनले प्रायः व्यङ्गगीत गाउने गर्थिन् । त्यसैको प्रभावले वि.सं. २०५१ सालमा आफ्नै शब्द र स्वरमा १४ गीत समेटेर व्यङ्ग (प्यारोडी) गीतको एल्बम स्रोतामाझ ल्याइन् । ‘कुर्सीमाथि बस्ने अब को होला’ उक्त एल्बम म्युजिक नेपालबाट निकालेकी शोभाले आम निर्वाचनका बेला प्यारोडी गायिकाका नामले पनि चर्चा कमाएकी थिइन् ।

कहिले आफैँ त कहिले बुबाको बिमारीका कारण साहित्य सिर्जनामा कम समय दिन थालेकी शोभाले २०६० सालमा दोस्रो गीतिएल्बम ‘महशुस’ निकालेकी थिइन्, जुन एल्बममा ख्यातिप्राप्त गायक–गायिकाहरु ओम विक्रम विष्ट, लाक्पा शेर्पा, रामकृष्ण ढकाल, सुकमित गुरुङ, बिमला राई, सपनाश्री, धिरज राई, नलिना चित्रकार, सरला राई र शोभा आफैँले स्वर दिएका छन् । एल्बममा दस गीत समावेश गरिएको छ । उक्त एल्बम नेपाल पर्यटन बोर्डको हलमा एक भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको थियो । चेतन कार्की, कालिप्रसाद रिजाल, रत्नशमशेर थापा, उषा शेरचन, इन्दिरा प्रसाईंलगायतले विमोचन गरेको उक्त एल्बममा रहेका गीतमध्ये ओम विक्रम विष्ट, लाक्पा शेर्पा र रामकृष्ण ढकालको स्वरमा रहेका तीन गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो । यस्तै, २०६३ सालमा देविका बन्दनाको एल्बममा एउटा गीत समावेश छ उनको । उक्त गीतको भिडियो राज मानन्धरले निःशुल्क बनाइदिएको शोभा बताउँछिन् । ‘उडी हिँड्ने ए सङ्गी चरी, सन्देश केही लगिदेऊ…’ अहिले पनि टेलिभजनको पर्दामा यदाकदा देखिने गर्छ ।

बुबा बिरामी र आफ्नै स्वास्थ्य अवस्था सबल नभए पनि साहित्यकर्ममा आफूलाई संलग्न गराउँदै आएकी शोभाले २०६४ सालको पुस महिनामा बुबालाई गुमाउनु प¥यो । सानैछँदा आमालाई गुमाएकी उनी बुबाको छत्रछायाँबाट पनि बञ्चित भइन् । बुबालाई सदाका लागि गुमाएकी उनले बुबाको मृत्यु पछि अर्धचेतजस्तै भइन् । बुबाले पनि अर्को विवाह नगरीकन छोरीको रेखदेखमा आफूलाई संलग्न गराएका थिए । बुबासित हाँसीखुसी कलाकारिता र साहित्यमा भुलिरहेकी उनले बुबाको मृत्युपछि आफू शून्यमा गएको महशुस गर्न थालिन् । खाने–सुत्ने समयतालिका नमिलाउँदा र बुबाको पीडाका साथै नसा–हड्डीको बिरामीले गाँज्दै लैजान थालेकाले अहिलेको अवस्थामा आउँदा एकप्रकारले अपाङ्ग बनिसकेकी छन् उनी । यतिबेला उनलाई हिँड्डुल गर्नसमेत अरुको साहरा लिनुपर्ने बाध्यता रहेको छ । यस्तो हुँदा पनि कहिल्यै विचलित नभई आफूलाई खुसी र झरिलोपन नै देखाइरहन सक्ने शोभाको खुबी प्रशंसायोग्य रहेको छ । विगत तीन वर्षदेखि हरेक वर्ष तीजको अवसरमा तीजगीत निकाल्दै आएकी उनले हरेक क्षेत्रका गीत लेखेकी छन् । माया प्रेममात्रै नभएर देशप्रेमका गीतहरु पनि उनका त्यत्तिकै सशक्त रुपमा रहेका छन् । विक्रम सम्वत् २०७२ सालमै आनन्द कार्की र बिमला राईको स्वरमा रेकर्ड भएको राष्ट्रियगीत आगामी चैत १ गते सार्वजनिक गर्ने तयारीमा रहेकी छन् । गीतको भिडियोमा देश तथा विदेशमा रहेका विभिन्न ख्यातिप्राप्त कलाकारहरुले अभिनय गरेका छन् । लघुकथा, कथा र साहित्यका अन्य विधामा पनि कलम चलाइरहेकी शोभाले छिट्टै कथासङ्ग्रह पाठकमाझ पस्किने तयारीमा छिन् भने उनका अन्य रचनाका पाण्डुलिपिहरु प्रकाशनको पालो कुरेर बसेका छन् ।

साहित्य समाजबाट टिपिन्छ र समाजकै लागि लेखिन्छ – शोभा केसी

अहिले के गर्दै हुनुहुन्छ ?
गर्नु त धेरै छ । मनले अझै धेरै गर्नु भन्छ । अलिक शारीरिक रुपमा अशक्त भएपछि आफूले सोचेरमात्रै हुँदो रहेनछ । यस्तै लेखनकार्यमै आफूलाई व्यस्त बनाउँदै लगेकी छु । फेरि पछिल्लो समय यो सामाजिक सञ्जालले पनि व्यस्त बनाउँदो रहेछ । यस्तै-यस्तै कार्यक्रममा छु ।

शोभा केसी को हो ?
बाबाकी प्यारी छोरी । यो समाजको एउटा सदस्य । साहित्यका विविध विधामा कलम चलाइरहेकी एउटी नारी हस्ताक्षर । पूर्णरुपमा स्वस्थ नभए पनि आफ्नो क्षमताले भ्याएसम्म यो राष्ट्रप्रति समर्पित एक सिपाही ।

साहित्य लेखन कहिलेदेखि शुरु गर्नुभएको हो ?
मेरो शारीरिक अवस्थाका कारण अलिक ढिलो मात्रै स्कुल गएँ । बुबाबाट नै मैले प्रारम्भिक शिक्षा पाएँ । बुबाले नै मलाई सबै सिकाउनु हुन्थ्यो । मैले ७ वर्षको उमेरदेखि कथा, गीत, कविता लेख्न सुरु गरेकी हुँ । म १२ वर्षको उमेरमा पद्मकन्यामा ६ कक्षामा भर्ना भएकी थिएँ ।

पहिलो रचना के थियो ?
रेडियो नेपालको बालकार्यक्रम ‘कोभन्दा को कम’ प्रतियोगितामा लेखिएको कथा ‘घमण्डको व्यापार’ थियो । जुन कथा प्रथम भएको थियो र पुरष्कृत पनि भएकी थिएँ । त्यसपछि चाहिँ कविता लेख्ने र बालगीत गाउने गर्न थालेकी हुँ ।

तपाईं अभिनय क्षेत्रमा पनि हुनुहुन्थ्यो । कसरी प्रवेश गर्नुभयो अभिनयमा ?
अभिनय क्षेत्रमा त खै कसरी प्रवेश गरियो–गरियो । बाल कार्यक्रममा रेडियो नेपालमा जाँदाजाँदै बालमन्दिर पनि जान्थें । त्यहाँ मुमा बडा महारानी सरकारको जन्मोत्सवमा भदौ ४ गते बालदिवसको अवसरमा कार्यक्रम हुन्थ्यो र त्यसको रिहलसनका लागि हरेक शुक्रबार जान्थें म । गीतबाट एक्कासि नाटकमा सारिदिए । र, अभिभावक बूढीको रोल गराएका थिए । खुब सुहाएको थियो वाही–वाही पाएकी थिएँ । राजा–रानी वीरेन्द्र र ऐश्वर्य सरकारको हातबाट प्रमाणपत्र पनि पाएकी थिएँ । पछि रेडियो नेपालबाट त्यस बेलाका ख्यातिप्राप्त कलाकार परिक्षित ढुंगाना दाजुले मलाई रसरङ्ग कार्यक्रममा लैजानु भयो । उहाँ त्यतिबेला रेडियो नेपालबाट महिनाको अन्तिम शुक्रबार प्रसारण हुने रसरङ्ग कार्यक्रममा प्रहशन गर्नुहुन्थ्यो । खुबै चर्चित थियो त्यो कार्यक्रम । मह जोडी, सन्तोष पन्त, राजपाल हाडा, परिक्षित, शिखा मल्लजस्ता ख्यातिप्राप्त कलाकारले प्रहशन गर्नुहुन्थ्यो । म पनि हेर्न बसेकी हुन्थें । रेडियो नेपालमा त्यही देखेर/भेटेर परिक्षित दाजुले मेरो कविता गीतमा बोलेको आवाज भावले प्रभावित भई आफैसित जोडी भई प्रहशन गर्न सिकाउनुभयो । शिला दिदी र उहाँको जोडी छुटेको थियो । त्यसपछि नै ‘परिक्षित–शोभा केसी’को जोडीले नाम कमाउन थाल्यो । रेडियो नेपालको स्टुडियोदेखि हरेक स्टेज प्रोग्राम र जिल्ला–जिल्ला पुग्न थालियो र टेलिभिनजको स्थापनाकालपछि पहिलो टेलिफिल्म पनि परिक्षित दाइ र मेरै खिचिएको थियो । अनि टेलिकलाकार हुँदै फिल्म कलाकार पनि बन्न पुगेकी छु । यस्तै, ३० वटा जति स्टेज नाटक, दुई दर्जन टेलिफिल्म र पाँच वटा ठूला पर्दाका फिल्ममा अभिनय गरेर अभिनय क्षेत्रबाट हात झिकेकी हुँ ।

पत्रकारिता क्षेत्रमा पनि लाग्नुभयो ?
हो, रङ्गमञ्चमा रहँदै गर्दा म २०४८ देखि रङ्गमञ्च साप्ताहिकदेखि लेखन सुरु गरें । पछि जनधारणा साप्ताहिक हुँदै अन्य फाट्टफुट्टमा धेरै कलम चलाएँ । मलाई पत्रकार बनाउने श्रेयचाहिँ रङ्गमञ्च साप्ताहिकलाई नै जान्छ ।

तपाईंले अभिनय गर्नुभएका केही नाटक, टेलिसिरियल र चलचित्रको नाम लिनुपर्दा  ?
मैले अभिनय गरेका नाम चलेका नाटकमा मुना–मदन (गीतिनाटक), जसमा मदनकी बूढीआमाको भूमिका गरेकी थिएँ । त्यस्तै, टेलिसिरियलमा रुपमति (धारावाहिक), जसमा धाई आमाको भूमिका थियो । नाटक र टेलिफिल्ममा धेरै जस्तो बूढी र कमेडियन भूमिका नै पाउँथें । यस्तै ठूलो पर्दामा पहिलो फिल्म ‘बेहुली’ थियो । अनि ‘स्वर्ग’, ‘लोभी पापी’, ‘सम्पत्ति’ र ‘पहिलो प्रेम’ रहेका छन् ।

नाटकलेखनमा पनि आउनु भयो, होइन  ?
हो, नाटक लेखनसँगै अभियन गरेकी छु । रेडियो नाटकमा शाही सेनाको रेडियो कार्यक्रममा पनि थुप्रै रेडियो नाटक लेखेकी र खेलेकी छु । शिखा मल्ल दिदीसितको चिनापर्चीपछि उक्त जिम्मेवारी पाएकी थिएँ ।

तपाईं कसका लागि लेख्नु हुन्छ  ?
आफ्नै लागि । समाजका लागि । साहित्य समाजबाट टिपिन्छ र समाजकै लागि लेखिन्छ । त्यसमा कतै–कतै आफू पनि मिसिएकोले आफ्नै लागि लेखिएको हो भन्नु÷मान्नु कञ्जुस्याइँ गर्नु हुन्न ।

यहाँले साहित्यका धेरै विधामा कलम चलाउँदै आउनुभएको छ । सबैभन्दा मनपर्ने विधाचाहिँ कुन हो  ?
मलाई मनपर्ने विधा यो वा त्यो भन्ने छैन । जुन बेला जस्तो जे उब्ज्यो त्यही लेख्छु । कहिले कविता त कहिले गीत, कहिले नाटक त कहिले कथा अनि समसामयिक व्यङ्ग्य । तर, धेरैजसो कथा र गीत नै पाठक स्रोतामाझ ल्याएकी छु । मधुपर्क र अन्य फुटकर साहित्यिक किताबहरुमा कथा छापिएको र गीत एल्बम निस्किएकोले चाहिँ त्यसमा धेरै मन बसेको भान हुन्छ ।

तपाईंले लेख्ने प्रेरणा कहाँबाट प्राप्त गर्नुहुन्छ  ?
मेरो बुबाको काख, माया, हौसला, आफैले भोगेका दुःख पीडा, कठिनाइहरु नै हुन् भन्छु म ।

तपाईंलाई साह्रै मनपर्ने गीत, गीतकार, मनपर्ने गायक र मनपर्ने सङ्गीतकार  ?
मलाई साह्रै मनपर्ने गीत यो–त्यो भन्ने छैन । राम्रो, मिठो गीत राम्र्रै लाग्छ । त्यसमध्ये पनि मलाई अरुण लामाले गाउनुभएका गीतहरु नै धेरै मनपर्छ । मैले आफूले सभा–सम्मेलन, साथी–भाइका माझ पनि उहाँकै गीत गाउँथें– ‘हाँसी राख, बोली राख…’, ‘पोहोर साल खुसी फाट्दा…’ । पुरुष गायकमा उदित नारायण झाको स्वर निकै मनपर्छ । उहाँ रेडियो नेपालमा छँदा म बालकार्यक्रममा जाँदाखेरि नै उहाँको स्वर पृथक लाग्थ्यो । उहाँको स्वरमा एउटा गीत रचना भर्ने ठूलो धोको छ । हेर्दै जाऊँ भाग्यले कति साथ दिन्छ । अरुणा लामा दिदीले त गाउन मञ्जुरी दिँदै हुनुहुन्थ्यो, ठिक त्यसै समयताका उहाँको निधन भयो मेरो इच्छा–चाहना पनि अधुरो नै रह्यो । मनपर्ने गीतकारमा पनि यो–त्यो भन्ने छैन । पुरानामात्रै नभएर नयाँ–नयाँ स्रष्टाले पनि राम्रो लेख्नुहुन्छ । एउटा मन पर्दापर्दै अर्कोले अझ राम्रो लेख्नुहुन्छ । त्यसमा झन् मनपर्छ । त्यस्तै सङ्गीतकार पनि यो–त्यो भन्ने छैन, सबै नै मनपर्छ ।

कहिलेसम्म गीत लेख्छु जस्तो लाग्छ ?
गीत गाउने, निकाल्ने निरन्तरताचाहिँ प्राण रहेसम्म कायम रहन्छ । यी हेर्नुहोस् न शरीरले साथ दिन छोडिसकेपछि पनि निरन्तरता दिइरहेकै छु । यो प्राण रहेसम्म रहन्छ भन्ने ज्वलन्त उदाहरण नै हो नि ।

गीत–सङ्गीत क्षेत्रमा रहेका गुट–उपगुटलाई कसरी लिनुहुन्छ ?
गीत–सङ्गीतमा गुट–उपगुट हुनु हुँदैन । किन बनाउने यस्ता गुट भन्नुहोस् त ? लेख्ने हो, सङ्गीत भर्ने हो, गाउने÷गाउन लगाउने हो । मिठा–मिठा आवाजका धनीलाई स्रोता/दर्शकमाझ पु¥याउने हो । खुट्टा तान्ने, व्यङ्ग्य कस्ने, गुट बनाउने काम कुराचाहिँ हुनु हुँदैन र मैले कहिल्यै पनि त्यसमा ध्यान दिइन र लागिन पनि ।

यहाँले सामाजिक परिवेशलाई टपक्क टिपेर गीतमार्फत् व्यङ्ग्य पनि प्रस्तुत गर्नुभएको छ, होइन ?
हो, कुनै बेला राजनीतिक–सामाजिक विकृतिलाई टिपेर, समेटेर गीत बनाउँथें र प्यारोडी बनाएर गाउँथे क्याम्पस पढ्दा । यस्तै गीतको एल्बम पनि निकालें म्युजिक नेपालबाट आम निर्वाचनका बेला २०५१ मा ‘कुर्सीमाथि बस्ने अब को होला’ ।

अन्त्यमा ?
जन्मेपछि अनेकौं घटना, पीडा, खुसी, हेला, मान, माया, प्रेरणा सबै पाइन्छ र भोग्दै जानु पनि पर्छ । त्यसैलाई नै सिङ्गो जिन्दगी भनिन्छ । आत्तिनु हुँदैन र मात्तिनु पनि हुँदैन । सङ्घर्ष गर्दै समाधान गर्दै जानुपर्छ, यी मैले जस्तै हाँसी– हाँसीकन । यही बिन्ती गर्छु सबैसित ।

(मिलापको फागुन अङ्क)

यसमा तपाइको मत

अन्य समाचार