काठमाडौं,
चैत २७ ।
नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । बिहीबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर ५ सय १३ नमुना परीक्षण गरिएको छ । साथै १ सय ९३ जनाको परीक्षण जारी छ । पछिल्लो ५ दिनमा नयाँ संक्रमित देखिएका छैनन् ।
बिहीबारको अपडेटमा आइसोलेसनमा देशभरी ११७ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन् । प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेकाको परीक्षणका लागि ५ हजार प्रति प्रदेशको दरले आरडिटी उपलब्ध गराएको र प्राविधिकहरुलाई तालिम दिएको जानकारी दिए । कैलालीमा ६६ जनामा आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताए ।
नेपालमा चैत २२ गते ३ जना कोरोना संक्रमित फेला परेपछि संक्रमितको सङ्ख्या ९ पुगेको थियो । एक जना निको भएर घर फर्किसकेका छन् ।






