काठमाडौं,
चैत २२ ।
कोरोना भाइसर (कोभिड-१९)को संक्रमण बढन थालेपछि सरकारले लकडाउनलाई अझै कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको वैठकका निर्णय सुनाउदै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउनलाई कडाइ गर्नु परेको बताए ।
उनका अनुसार सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको हो । शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्नेबारे भने कुनै निर्णय नलिएको बताए । उनले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी पनि दिए ।
त्यस्तै सरकारले कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या बढीरहेका जिल्लाहरु कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको छ ।
कोरोनाभाइरसबाट नेपालमा ९ जना संक्रमित भइसकेका छन् । शनिबार मात्र ३ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको थियो ।
भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षिया पुरूष १, मुम्बइबाट आएका कैलालीका २१ वर्षीया पुरूष १ र कैलालीमा यसभन्दा पहिला दुबइबाट आइ संक्रमित भएका पुरूषका आफन्त ३४ वर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको छ ।






