काठमाडौं,
चैत २० ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको विहिबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । उद्योगभित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरि सञ्चालन गर्न दिने निर्णय गरे सँगै सरकारले लकडाउन खुकुलो बनाएका हो ।
अर्थमन्त्री तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले उद्योग भित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी गराए । उनले अब तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योग भित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न सकिने बताए ।
त्यसैगरी, हिउँदे बाली काट्ने र वर्षे बाली गर्नेलगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपुर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिईने भएको छ ।
यस्तै बैठकले नेपाल भारत सिमास्थित क्वारेन्टाईनमा बसेकालाई अप्ठ्यारो पर्न नदिनेगरी दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखेर मात्रै सीमा पार गर्न दिनेगरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।






