एक दिनमा १५ सय व्यक्तिको कोरोना भाइरस परिक्षण गर्न सकिने गरी क्षमता विस्तार गरिएको छ – डा. रुना झा

काठमाडौं,
चैत ६ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले एक दिनमा १५ सय व्यक्तिको कोरोना भाइरस परिक्षण गर्न सकिने गरी क्षमता विस्तार गरिएको बताएकी छन् । बिहीबार काठमाडौमा भएको कार्यक्रममा डा. झाले हालसम्म ५ सय २९ जनाको कोरोना भाइरसको परिक्षण भइसकेको र प्रत्येक दिन १२ देखी २० जनाको परिक्षण हुने गरेको जानकारी दिइन् ।

एक हप्ता भित्र २ हजार किट ल्याउने गरी टेन्डर प्रकृया सुरु गरेको भन्दै उनले आवश्यक परे ८ हजार किट अझै ल्याउने तयारी समेत भएको बताइन् । आइसोलेसनमा बसेका व्यक्ति र परिक्षण गर्दा इन्फ्लुएञ्जा नदेखिएको व्यक्तिको मात्र कोरोना भाइरसको परिक्षण गराउने गरिएको स्पष्ट पारीन् । सामान्य रुघाखोकी लागेका व्यक्तिको परिक्षण गरेर सकिदैन भन्दै डा. झाले नेपालका ल्याव नै गलत भएका कारण कोरोना भाइरस नदेखिएको सम्म गलत हल्ला फैलिएकाले त्यसको पछि नलाग्न समेत आग्रह गरीन् ।

कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वाशुदेव पाण्डेले कोरोना भाइरससँगै हाल डेंगु रोग समेत देखिन थालेकोले त्यसको समेत तयारीमा बस्नुपर्ने बताए ।

कार्यक्रममा डा. सुन्दरमणि दीक्षित र मानव अधिकारकर्मी चरण प्रसाईले सबै व्यक्ति उतिकै जोखिममा रहेकाले परिक्षण गराउन चाहने सबै व्यक्तिको स्वास्थ्य परिक्षण हुनुपर्ने बताएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार