अत्यावश्यक काममा बाहेक विदेश नजान सरकारको आग्रह

काठमाडौं,
फागुन २० ।

सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । कोरोना (कोभिड–१९) का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष पूर्वसावधानी अपनाउन आह्वान गर्दै त्यस्तो आग्रह गरेको हो ।

अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवम् मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको छ ।

त्यसैगरी विवाह, ब्रतबन्धलगायत सामाजिक संस्कारलाई पारिवारिक जमघटमा सीमित राख्न, सभा, सम्मेलन नगर्न, भीडभाडमा नबस्न, लामो समय बाहिर नहिँड्न, सुरक्षा मास्क तथा सम्पूर्ण पूर्वसावधानी र सतर्कता अपनाउन आम नागरिकमा सरकारले अनुरोध गरेको छ । साथै सरकारले सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको छ भने आ-आफ्नो तहबाट सुरक्षाका सबै उपाय अपनाउन र सचेत रहन आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार