काठमाडौं,
फागुन १० ।
कलाकार जया शर्माको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ । नेपाल आर्ट काउन्सिल, बबरमहलमा शुक्रबार उद्घाटन गरिएको प्रदर्शनी तीन दिनसम्म जारी रहनेछ । जयाले आफ्नो जीवन, यसमा आएका उत्तार चढाव र चित्रकलाको आफ्नो सुनौलो यात्रालाई विभिन्न चित्रमार्फत उतारेकी छिन् । ‘ड्रिम वाक २०३३’ नाम दिइएको यो प्रदर्शनीमा जयाले आफ्नो जीवन कालमा पार गरेका विभिन्न महत्वपुर्ण चरणहरुलाई सुन्दर चित्रमार्फत अवलोकन गर्न सकिन्छ । यो चित्रकला प्रदर्शनी जयाको आफ्नो जीवनको उपलब्धीहरुको महत्वपुर्ण सङ्ग्रह पनि हो ।
नेपाल ललितकला क्याम्पसका पुर्व क्याम्पस प्रमुख एवम् वरिष्ठ चित्रकार गोविन्द सिंह डङ्गोलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जयाका माता पिता सावित्री शर्मा र विजयचन्द्र शर्माले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । आफुलाई जन्मदिने आमा बाबु र गुरुलाई नमनगर्दै उद्घाटन कार्यक्रममा जयाले भनिन्, ‘मेरा जीवनमा महत्वपुर्ण भुमिका खेल्ने व्यक्तिहरु यहाँ आउनुभएको छ । तपाईंहरुको उपस्थितीले म प्रतिको माया दर्शाएको छ । म चाहन्छु सबैले मेरो सिर्जनाको उज्यालो महशुस गरुन् ।’
‘नेपालमा चित्रकाला पेशामा लागेर बाँच्न कठिन छ तथापी विभिन्न समस्यामा रहेर पनि जयाले हिँडेको बाटोको म तारीफ गर्छु ।’ जयालाई उद्धृत गर्दै गोविन्दले भने ।

बिम्बात्मक शैलीको चित्रबाट प्रदर्शनी शुरु गरिएको छ भने अन्त्य पनि बिम्बात्मक शैलीमै गरिएको छ । जन्म र मृत्यु जस्तो थाहा नहुने र महशुस गर्न नसकिने दुई प्रक्रियाको बीचमा रहने जिन्दगीका विभिन्न भोगाइहरु यसमा समेटिएका छन् । जया भन्छिन्, ‘संसारमा जन्मलिएसँगै हामी बिजेता बनिसकेका हुन्छौँ । यो संसारमा यिनै बिजेताहरुको भिडमा एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा नै रोचक छ । यो जिन्दगी सुनौलो छ । फेरी हामी किन चिन्ता गर्ने ?’
जया शर्मा कलाकारिताको दुनियाँमा नयाँ नाम होईन । बाल्यावस्थादेखी नै कला विद्यामा आकर्षित जयाले चित्रकलामा आफ्नो परिचय स्थापित गरेकी छिन् । उनी कुनै बेला मोडलिङ र पत्रकारितामा समेत सक्रिय थिईन् । आफ्नो सबैभन्दा रुचिको चिज चित्र कलालाई अगाडी बढाउन पनि उनले थुप्रै कठिन परिस्थतीको सामना गर्नुपरेको थियो । खराब स्वास्थ्य अवस्थासँग जुध्दा जुध्दै पुर्नजन्म पाएकी जयाले चित्रकलालाई नै आफ्नो भविष्य ठानेर नेपाल ललितकला क्याम्पसमा भर्ना भईन् । पढ्दा पढ्दै उनको विवाह भयो । विवाह पश्चात् उनले आफ्नो पढाई लाई निरन्तरता दिन सकिनन् ।
एक सन्तानको आमा भए पछि उनले आँट गरेर पुनःकाम थालिन् तर फेरी पारिवारीक स्थितीले थिचिएर उनको सपना अधुरै रह्यो । दोस्रो सन्तान पछि भने सक्रियताका साथ काम गर्न थालेकी जयाले चित्रकलामा स्नात्तकोत्तर सम्मको अध्ययन पुरा गर्न सफल भईन् । स्नातकदेखि स्नात्तकोत्तर सम्मको उनको यात्रा १५ वर्षको थियो । तथापी धेरै ठाउँमा विश्राम लिएर पनि उनले आफ्नो लक्ष्य पुरा गरेकी छिन् । चित्रकलाकै माध्यमबाट उनले विभिन्न सम्मानहरु पनि पाइसकेकी छिन् ।
विभिन्न चलचित्रका पोस्टर डिजाइन र म्यागजिनका कभरहरु पनि उनले बनाइसकेकी छिन् । यो मात्र नभएर उनी आफ्नो श्रीमान् सञ्चारकर्मी एवम् निर्देशक सुव्रतराज आचार्यको काममा पनि सघाइरहेकी छिन् । चलचित्रका साथमा म्युजिक भिडियोहरुमा सहनिर्देशकका रुपमा उनले सुव्रतलाई सघाउँदै आएकी छिन् ।
जन्मसँगै बाल्यावस्था, युवा अवस्था, पुर्नजन्म, विवाह, सोचमग्न परिस्थती, जीवनका आरोह-अवरोह, नयाँ सोच र सफलतालगायत कुराहरुलाई चित्रमार्फत समेटेर राखिएको प्रदर्शनी निकै कलात्मक देखिन्छ ।

जयाको सपना सानैदेखि नामको अगाडी कलाकार लेख्नु थियो । आज उनी कलाकार जयाको नामले परिचित छिन् । तर, धेरैले महिला कलाकार भनेर सम्बोधन गरिदिँदा भने उनलाई नराम्रो लाग्छ । महिला प्रति भेदभावको दृष्टिकोण राख्नेहरुलाई जया प्रश्न गर्न चाहिन्छन्, ‘कलाकारहरु मध्ये पुरुषलाई चाहिँ किन पुरुषकलाकार भनेर सम्बोधन गरिदैन ?’ नेपाली समाजमा नारीको स्थान अझै पनि बलियो छैन । जीवनमा आइपर्ने विभिन्न कठिन परिस्थतीसँगै आफ्नो चाहानाको बलिदान दिनुपर्दा नारीहरु अझ दबिएका छन् । यस्तै कारणले क्षमता हुँदा-हुँदै पनि अवसरबाट बञ्चित भएका कलाकारहरु प्रति जया दुःख व्यक्त गर्छिन् ।
आगामी दिनमा अझ नयाँ कामको साथमा आउने जया भन्छिन्, ‘कलालाई मर्न दिन हुन्न रहेछ । जस्तो सुकै परिस्थीतिमा पनि हिम्मत गरेर अगाडी बढ्ने हो भने सफलता सम्भव छ ।’ कुनै बेला कला क्षेत्रबाट झण्डै आफै गुमनाम भइसकेकी जयाले आफुलाई प्रोत्साहन दिने पात्रहरु र ति अब्बल कलाकारहरुलाई धन्यवाद दिँदै उनीहरु प्रति यो प्रदर्शनी समर्पण गरेकी छिन् ।
यस अघि पनि जयाको एकल प्रदर्शनी सम्पन्न भईसकेको छ । जया नेपालमा डिजिटल पेन्टिङको सुरुवात ताकाकै उम्दा कलाकार हुन् । आजभन्दा ११वर्ष अघि यसै दिन उनको डिजिटल पेन्टिङको प्रदर्शनी गरिएको थियो । आफ्नो जिवनको ४३ औँ बसन्तमा हिडिँरहेकी जया भन्छिन्, ‘४३ वर्षमा आफुलाई र आफ्नो कामलाई फर्केर हेरेपछि मलाई लाग्दैछ कि म अबबल्ल कलाकार बन्ने पथमा यात्रा आरम्भ गर्दैछु ।”






