कविताः
मेरी प्राण प्रिया
– डा. डीआर उपाध्याय
मेरी प्राण प्रिया !
सम्झिन्छु यदाकदा हाम्रो पहिलो भेटका ति क्षण
एकनाशले तिमीलाई नियाल्दै
मैले तिम्रो सुकोमल हत्केला
मेरो दुबै हत्केला माझ राखेर
तिम्रो गहिरो सागर जस्तो नयनमा
हर्ष बिभोर भई कयौं डुबुल्की लगाएको थिएँ ।
तिमिले पनि त
मनभरिको प्रेम पोखाउँदै
अर्को हातले मेरा केश
सुम्सुमाउँदै कोरेकी थियौ
मुटुमा अटाउन नसकेर होला
खुसी आँसु बनेर
परेलिको बाटो भई छचल्किएको थियो ।
मैले त्यतिखेर
मेरो हरेक श्वासको लक्ष्य तथा उद्देश्य
तिमीलाइनै बनाएको थिएँ ।
सम्झिन्छु यदाकदा
तर कति निरीह ठहरिएँ म
म मात्रै किन
सारा मानवको यस्तै लाचार अबस्था छ
भबिष्य निलिदिन्छ
उसका सबै अठोट र चाहना
त्यही भएर
अब हामी यश जुनी का लागि
एउटा नदी का
दुई किनारा भएका छौ ।।






