सिनेमाघरमा ‘साङ्लो’ र ‘सेल्फी किङ’

काठमाडौं,
माघ २४ ।

शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् ‘साङ्लो’ र ‘सेल्फी किङ’  । चलचित्र ‘साङ्लो’मा अभिनेता विराज भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् भने ‘सेल्फी किङ’मा अभिनेता विपिन कार्की हास्यकलाकारको भूमिका देखिएका छन् ।

चलचित्र ‘सेल्फी किङ’लाई विशाल सापकोटाले निर्देशन गरेका छन् । चलचित्रलाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् । आफूलाई ‘सेल्फी किङ’ सम्झने एक चर्चित टेलिभजन हाँस्य कलाकारले कला यात्राको दौरानमा आफूले पाएको सफलता र ब्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा निर्माण भएको चलचित्र हो ‘सेल्फी किङ’ ।

कमेडी जनरामा निर्माण भएको चलचित्रमा विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय छ । चलचित्रमा अभिनेत्री केकी अधिकारीले एक गीतमा ठुम्का लगाएकी छन् । चलचित्रमा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत र निर्मल लामाको कोरियोग्राफी रहेको छ ।

यस्तै आजबाट प्रदर्शनमा आएको चलचित्र ‘साङ्लो’बाट अभिनेता विराज चार वर्षपछि नेपाली चलचित्रमा फर्किएका छन् । उनी पछिल्लो समय भोजपुरी चलचित्रमा व्यस्त थिए । चलचित्रमा उनको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चाण्डक छिन् ।

बिराज भट्ट स्वयम्को निर्माण तथा निर्देशन रहेको चलचित्रले किड्नी तस्कीरको कथा उठान गरेको छ । यो चलचित्रलाई विराजको सुखद कमव्याकको रुपमा समेत हेरिएको छ । एक्सन, लभस्टोरी यो चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिराज भट्ट प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिवम अधिकारीको पटकथा तथा संवाद, बिराज स्वयम्को कथा रहेको छ । तेजबहादुर खड्का निर्माताको रुपमा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, सुरेश अधिकारीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार