एकल कलाकार अभिनित ‘अन्तिम पाना’ सम्पादनमा

काठमाडौं,
माघ २३ ।

नाटक तथा चलचित्र लेखक एवम् अभिनेता जीवन थापा ‘क्षितिज’ले चलचित्र निर्देशनमा हात हालेका छन् । एकल कलाकार अभिनित नेपालकै पहिलो दाबी गरिएको चलचित्र ‘अन्तिम पाना’ मार्फत् उनले चलचित्र निर्देशनमा डेब्यु गरेका हुन् । दिवाज फिल्मको ब्यानरमा निर्मित थापाको डेब्यु चलचित्र ‘अन्तिम पाना’ छायाँकन कार्य पूरा भई सम्पादनको क्रममा रहेको छ ।

एक जना कलाकारको मात्र अभिनय रहेकोे चलचित्र ‘अन्तिम पाना’मा कुशल कलाकार उमेश कार्कीले अभिनय गरेका छन् । करिब दुई घन्टा समय अवधिको चलचित्र ‘अन्तिम पाना’मा एक्लै अभिनय गर्नु निकै कठिन भएता पनि आफू यसबाट अत्यन्त रोमाञ्चित भएको अभिनेता कार्कीले बताए ।

दीवाज राई किराती निर्माता रहेको ‘अन्तिम पाना’मा नियोमा राई कार्यकारी निर्माता रहेकी छन् । चलचित्रको मुख्य सहायक निर्देशन सन्तोष थापाले गरेका छन् भने छायाँकन र सम्पादन केदार राईले गरेका हुन् । चलचित्रको लेखन निर्देशक थापाकै रहेको छ । निर्देशक थापाका अनुसार समाजमा विभिन्न समस्याका कारण एक्लिन बाध्य भएको पात्रको जीवनसङ्घर्षलाई मुख्य विषय बनाइएको चलचित्र भोजपुरको ट्याम्केमैयु, पाङ्खा र अरुण गाउँपालिकाको याकु लगायतका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।

चलचित्र निर्माता किरातीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न चलचित्र महोत्सवमा सहभागी गराए पश्चात् मात्र नेपालमा ‘अन्तिम पाना’ सार्वजनिक प्रदर्शन गरिने बताए ।

यसमा तपाइको मत

अन्य समाचार