काठमाडौं,
माघ ७ ।
निर्देशक एलआर बिबेक सापकोटाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्र ‘कमाण्डर’ले मंगलबार राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना गरेको छ । यही शुक्रबार अर्थात् १० माघदेखि देशब्यापी एकल प्रदर्शनमा आउन लागेको चलचित्रमा भरमार एक्शन, लभ र सेन्टिमेन्टस् रहेको निर्देशक सापकोटाले बताएका छन् ।
‘कमाण्डर’ मा मनोरञ्जनका साथै देशप्रेमको सन्देश छ, पत्रकार भेटघाटमा निर्देशक सापकोटाले भने, ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी, कालोबजारीलगायतका समाजीक बेथितिबिरुद्धको प्रतिनिधि आवाजलाई चलचित्रमा प्रस्तुत गरेका छौ ।’ उनले चलचित्र बिसुद्ध मनोरञ्जनको हेतुले निर्माण गरिएको भए तापनि समाजोपयोगी सन्देश समेत प्रस्तुत गरिएको बताए ।
निर्देशक सापकोटाकै लेखन रहेको चलचित्रमा अनुपबिक्रम शाही, रबिन तामाङ, साधना सिल्वाल, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् ।
कार्यक्रममा अभिनेत्री साधनाले ‘कमाण्डर’ ‘फूल इन्टरटेन्मेन्ट’ चलचित्र भएको बताइन् । पहिला केही म्युजीक भिडियोमा अभिनय गरेको भए पनि यो नै आफ्नो डेब्यु चलचित्र भएकाले निकै आशावादी रहेको बताउदै उनले भनिन्, ‘पहिलो प्रयास सक्दो राम्रो गर्ने कोशिस गरेकी छु । आशा छ दर्शकले स्वीकारिदिनु हुनेछ ।’
त्यसैगरी, यही चलचित्रबाट डेब्यु गरेकी नवअभिनेत्री सगुनले पनि आफू ‘कमाण्डर’ बाट निकै आशावादी रहेको सुनाइन् । उनले पहिलो चलचित्र भए ता पनि सिनीयर कलाकार तथा निर्देशकसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएको बताउदै आफ्नो करिअरको अगाडि पाइला यही चलचित्रले तय गर्ने बिश्वास ब्यक्त गरिन् ।
आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको सहनिर्मातामा सावनजंग राना छन् । सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई दिब्य सुवेदीले खिचेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र सङ्गीत रहेको छ ।






