काठमाडौं,
माघ ७ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको रिक्त सभामुख पद पूर्तीका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका सार्बजनिक गरेको छ । आज संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ । आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ । त्यस्तै प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गते आइतबारका दिन हुने भएको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन् । उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका थिए ।
ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजिनामा पढेर बैठकलाई जानकारी गराएका थिए ।प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह तीन बजे बस्नेछ ।






