सिक्किमका स्रष्टा तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई नेपाल प्रज्ञा-प्रतिष्ठानमा स्वागत तथा सम्मान

काठमाडौं,
माघ ३ ।

सिक्किमका स्रष्टा तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई नेपाल प्रज्ञा-प्रतिष्ठानमा स्वागत तथा सम्मान गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा बिहीबार भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना तथा सम्मान गरिएको हो ।

राजधानीको प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान गर्नुभएको थियो । उक्त अवसरमा उहाँलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्वपूर्ण प्रकाशनहरू पनि उपहार स्वरूप अर्पण गरिएको थियो ।

साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चामलिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘पवन चामलिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ । यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ । यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।’

उपकुलपति डा. गुरुङले स्रष्टा चामलिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चामलिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘जसरी चामलिङ पाथीभरा माताको शक्ति र अनुकम्पाले आफ्नो स्वप्न यात्रामा सफल हुनुहुन्छ त्यसरी नै उहाँसँग सत्सङ्ग गरेमा स्रष्टा-सर्जकहरू पनि सिर्जना यात्रामा सफल हुनेछन् ।’

आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि स्रष्टा चामलिङले प्रज्ञा-प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो- ‘म अत्यन्त कृतज्ञ छु नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि कि बैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ ।’ विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वप्न रहेको प्रस्ट्याउनुभयो । चामलिङले भन्नुभयो- ‘नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक छ । नेपाली जाति जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो र यो पहिचानलाई हाम्रो भाषा, साहित्य र संस्कृतिमात्रै बचाउँछ ।’

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्रष्टा चामलिङको कृतित्व एवम् व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँले चामलिङ साहित्यसँगसँगै राजनीतिमा पनि उत्तिकै सफल रहेको उल्लेख गर्नुभयो । ‘२५ वर्षसम्म मुख्यमन्त्री भएर उहाँले पश्चिम बङ्गालका ज्योति वसुपछि भारतमा सबैभन्दा धेरै समय मुख्यमन्त्री बन्ने रेकर्ड कायम गर्नुभएको छ र नेपाली भाषा-साहित्यको समृद्धिका लागि पनि निर्माण प्रकाशनका माध्यमबाट उत्तिकै उल्लेखनीय काम गर्नुभएको छ ।’ उहाँले भूगोलले छुट्याए पनि भाषा, साहित्य र संस्कृतिले नेपाल र सिक्किमलाई भावनात्मक सम्बन्धले जोडेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, वाङ्मय शताब्दी पुरुष जोशी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लगायतका विशिष्ट स्रष्टा-सर्जकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार