काठमाडौं,
पुष १२ ।
चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, कलाकार दीपक क्षेत्री र कलाकार आनन्द थापालाई एकसाथ श्रद्धाञ्जली दिइएको छ । चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको संयुक्त पहलमा शुक्रबार उक्त श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।
उपस्थित कलाकार र चलचित्रकर्मीले यी तीनजनाको मृत्युले चलचित्र क्षेत्रमा अपुरणीय क्षति भएको बताएका थिए । चलचित्र निर्माता सङ्घ नेपालका अध्यक्ष आकाश अधिकारीले तीन व्यक्तित्वलाई सम्झिदै भने, ‘अहिलेसम्म उहाँ नहाँसेको फोटो देख्न पाइएन । सधै हासी खुसी रहने केशवजी साँच्चिकै सरल हुनुहुन्थ्यो । त्यस्तै दीपकजी र आनन्दजी पनि निकै मेहनती र राम्रो कलाकार हुनुहुन्थ्यो ।’
चलचित्र सङ्घका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र प्रविधिक सङ्घ अध्यक्ष पुस्कर लामा, चलचित्र नृत्य निर्देशक सङ्घका अध्यक्ष राजु शाहलगायतले भट्टराई, क्षेत्री र थापालाई सम्झिए ।
चलचित्र विकास बोर्डका पूर्वअध्यक्षमा शम्भुजित वास्कोटा, कृष्ण मल्ल, राजकुमार राईलगायतले पनि श्रद्धाञ्जलीसभामा श्रद्धाञ्जली व्यक्त गरे । विकास बोर्ड अध्यक्ष केशव भट्टराईले देखेको सपनालाई साकार गरे उनलाई सबैभन्दा ठुलो श्रद्धाञ्जली हुने उनीहरुको भनाइ थियो । पूर्वअध्यक्ष राजकुमार राईले यी तिनै कलाकारको परिवार निकै नाजुक अवस्थामा रहेकाले रोजगारीका लागि पहल गर्नुपर्ने बताए ।
चलचित्रकर्मी कल्याणकारी कोषकी बसुन्धरा भुसालले यी तीन व्यक्तित्वको काजक्रिया खर्चको लागि कल्याणकारी कोषबाट सहयोग गरेको बताइन् । उनले भनिन्, ‘उहाँहरुलाई फूल किन्नेदेखि गाडी जलाउनेसम्मको खर्च कल्याणकारी कोषले गरेको छ । उहाँहरुको परिवारलाई केही आर्थिक सहयोग पनि पुर्याएका छौँ ।’
त्यस्तै श्रद्धाञ्जली सभामा निर्देशक तुलसी घिमिरेले यी तीन कलाकारको मृत्युमा दुःख व्यक्त गरे । उनले भने, ‘केशव मेरै चलचित्रबाट यस क्षेत्रमा आउनु भएकोथियो । आनन्द दाईसँग पनि एक चलचित्रमा काम गरेको थिए । दीपकजीसँग काम गर्न पाइन्, तर सुनेको थिए । उहाँहरुलाई गुमाउनु हाम्रो क्षति हो ।’
तीन जनाको लागि भनेर राखिएको श्रद्धाञ्जली शभामा पूराना सर्जक शुक गुरुङलाई पनि श्रद्धाञ्जली दिइएको थियो । केही दिन अगाडिमात्रै गीतकार शुक गुरुङको निधन भएको थियो ।






