काठमाडौं,
पुष ८ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट सोमबार १ सय २२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ । परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो । एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरले बताएको छ ।
प्रहरीलाई आएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको परिसरले जनाएको छ । उनीहरु ‘एटिएम ह्याकिङ’लगायतका आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरुमध्ये कतिपयसँग प्रवेशाज्ञापत्र (भिसा) समेत नभएको पाइएको छ । उनीहरुको साथबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका सामग्री पनि बरामद गरिएको छ ।






