धरान,
पुष ७ ।
मिस पूर्वाञ्चल २०१९ को ताज मोरङ पथरी नगरपालिकाकी १९ वर्षीया रिजु भट्टराईले पहिरिएकी छन्। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा शनिबार राति धरान सभागृहमा सम्पन्न भएको ग्रान्ड फिलानेमा प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस पूर्वाञ्चलको ताज पहिरिन सफल भएकी हुन् ।
मिस पूर्वाञ्चलको ताजसँगै मिस पर्सनालिटीको उपउपाधि र नगद दुई लाख नगद पुरस्कार पनि रिजुले हात पारिन्। त्यस्तै धरानस्थित यूएन कलेजमा अध्ययनका लागि छात्रवृत्ति र हङकङ भ्रमण गर्ने अवसर प्राप्त गरेकी छन् उनले । प्रतियोगिताका मुख्य निर्णायक दीप श्रेष्ठले भिजिट नेपालबारे सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिँदै रिजुले मिस पूर्वाञ्चलको उपाधि हात पारेकी हुन् । उनलाई मिस पूर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठले ताज पहिर्याइदिएकी थिइन् ।
प्रतियोगिताको फस्ट रनरअप खोटाङकी एन्जल राई घोषित भइन् । मिस मल्टिमिडिया र मिस फोटोजेनिकको टाइटल जिलेकी उनले नगद एक लाख पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको सेकेन्ड रनरअप धरानकी सिम्रन लिम्बू भइन् । मिस इन्टरएक्चुअलको टाइटलसमेत जितेकी उनले नगद ५० हजार पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस बेस्ट वर्क सुस्मिता बराइली र सिम्रन लिम्बू, मिस पन्चुअलको टाइटल श्वेता पोखरेल र मिस बेस्ट कम्प्लेक्सनको टाइटल विपना तामाङले हात पारे। टाइटल विजेतालाई नगद १५ हजार पुरस्कार प्रदान गरियो ।
कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाबाट २० जना युवतीले सहभागिता जनाएका थिए । यसअघिको प्रतियोगितामा २०१० मा झापाकी सविना सुब्बा, २०११ मा धरानकी प्रतिभा श्रेष्ठ, २०१२ मा धरानकी अस्मिता गुरुङ, २०१३ मा धरानकै नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ, २०१५ मा मोरङकी प्रियंका श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा धरानकी रुवि लिम्बू, २०१८ मा झापाकी पूजा श्रेष्ठले उपाधि जितेका थिए ।
मिस पूर्वाञ्चलको दसौं संस्करणमा मिलान्ज फेसन इटहरी, लेडिजडे बुटिक, धरान र पूर्वेली ढाकाटोपी ट्रेडर्सको भेषभूषामा सजिएका २० जना प्रतिस्पर्धी प्रियारानी लामाको कोरियोग्राफीमा स्टेजमा प्रस्तुत भएका थिए । मिस पूर्वाञ्चल २०१९ को निर्णायकमा गायक दीप श्रेष्ठ, कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ, नायिका मिरुना मगर, कोरियोग्राफर जयन सुब्बा मानन्धर, डा। सरुन कोइराला, ओमशान्ति कम्पनीका अध्यक्ष गंगाराज राई, वराह ग्रुपका कार्यवाहक प्रमुख गंगा कालिकोटे, मिस पूर्वाञ्चल २०१६ कृतिका गिरी, सञ्चारकर्मी सुरेश राई र पत्रकार तथा कवि गोपाल देवान थिए ।
कार्यक्रममा नायिका मिरुना मगर, कोरियोग्राफर जयन सुब्बा मानन्धर, मलेसियामा मिस ग्लामरको उपाधि जितेकी सिम्रन श्रेष्ठ र मिस कस्मोपोलिटन वल्र्ड २०१९ को उपाधि जितेकी प्रियारानी लामालाई आयोजक सिल्भर इन्टरटेनमेन्टले सम्मान गर्यो ।






