ललितपुरको धापाखेलमा ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता

ललितपुर,
पुष ४ ।

स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रबारबाट ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नागदह तेक्वान्दो डोजाङले ललितपुरको धापाखेलमा आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन खानेपानी मन्त्री बिना मगरले एक समारोहका बीच गरेकी छन् । कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान गर्ने भएकाले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन।

‘राष्ट्रको नाम र इज्जत बढाउने क्षेत्र भनेकै खेलकुद हो ।’ उनले सम्बोधनमा भनिन्, ‘खेलकुदले खेलाडीलाई अनुशासित हुन मात्रै सिकाउँदैन, राष्ट्रको पहिचानमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दछ, त्यसैले खेल क्षेत्रमा लगानी बढाउनु जरुरी छ ।’
नेपालमा सक्षम र क्षमतावान् खेलाडी उत्पादन गर्नका लागि यस्ता खेलकुदका कार्यक्रमहरु निरन्तर गरिनुपर्ने बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा खेलकुद क्षेत्रले पनि उत्तिकै भूमिका खेल्ने धारणा राखिन । ‘राष्ट्रका हरेक युवाहरुलाई खेलकुदमा सहभागी गराउनुपर्दछ ।’ उनले जोड दिंदै भनिन्, ‘खेलकुदले अनुशासित गराउँदै युवाहरुलाई अघि बढ्ने क्षमताको विकास गर्दछ ।’

नेपाल तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष एवम् सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले हालै नेपालमा सम्पन्न साग खेलकुदमा नेपालले गरेको प्रगति यस्तै प्रतियोगिताहरुबाट सम्भव भएको बताए । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गर्नका लागि पनि स्थानीय स्तरबाटै खेलाडीहरुलाई हौसला प्रदान गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष महर्जनले बताए ।

शुक्रबारबाट प्रारम्भ भएको ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । काठमाडौं उपत्यका बाहेक देशका विभिन्न १५ जिल्लाहरुबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरु मध्ये प्रथम हुनेले पचास हजार, दोस्रो हुनेले तीस हजार र तेस्रो हुनेले बीस हजार नगद रकम प्राप्त गर्ने आयोजक समूहका कार्यक्रम संयोजक कविराज मालीले जानकारी दिए । त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जनही ५-५ हजार रुपैयाँका दरले नगद पुरस्कार दिईने मालीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार