राष्ट्रियसभाका १८ सदस्य पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं,
पुष ३ ।

राष्ट्रियसभाका १८ सदस्य पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ सदस्य पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेका कार्यतालिकाअनुसार पुस २० गते उम्मेदवारी दर्ता हुनेछ ।

आयोगले ९ माघमा हुने निर्वाचनका लागि पुस २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको हो । आयोगका अनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिनेछ । प्रकाशित मतदाता नामावली उपर १८ गते दाबीविरोध पेश गर्ने र १९ गते उजुरीउपर छानविन गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
२० गते उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २३ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र २४ गते उम्मेदवारले नाम फिर्ता लिन पाउने गरी आयोगले कार्यतालिका बनाएको हो । पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरिने आयोगले जनाएको छ । माघ ९ गते बिहान १० बजेदेखि अपराहृन ४ बजेसम्म मतदानको समय तोकिएको छ ।

राष्ट्रियसभाका सदस्य निर्वाचनमा ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५ सय ५० प्रदेशसभा सदस्य मतदाता हुन्छन् । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ र प्रदेशसभा सदस्यको मतको भार ४८ निर्धारण गरिएको छ ।
राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीका एक सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरुमा नेकपाका हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल फागुनमा सकिँदै छ । त्यस्तै, कांग्रेसका सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदै छ । यस्तै, राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि सकिँदै छ ।

राष्ट्रियसभामा सरकारबाट मनोनीत युवराज खतिवडाको पनि सोही दिन कार्यकाल सकिँदै छ । संविधानअनुसार राष्ट्रियसभाका एकतिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिन्छ । संविधानमा राष्ट्रियसभामा सदस्य रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

यसमा तपाइको मत

अन्य समाचार