बरन्डामा तिमी

  • करुणा राई

प्रत्येक बिहान तिम्रो घरछेउको
पिचरोड भएर स्कुटरमा हाँक्किन्छु म
तिमी चियाको चुस्की लिइरहेका हुन्छौ
घरको कौसीमा बसेर हेर्दै सडकतिर ।

तिमीलाई देखेपछि यस्तो लाग्छ-
कि तिमी मेरै बाटो हेरेर बसेका हौ
चिया त एउटा बाहना मात्रै हो,
म पर पुगिन्जेलसम्म तिमीले
मलाई हेरे नहेरेको याद गर्नलाई
म जहिले पनि
स्कुटरको लुकिङ ग्लास सफा राख्छु ।

हो, मैले तिमीलाई हेर्नैपर्ने आदत
तिमीले नै बनाएको हो
थाहा छैन मलाई
बिहान मेरो बाटो हेर्दै चिया पिउनबाहेक
अरु के गर्छौ कुन्नि तिमी ?
मलाई थाहा छैन तिम्रो नाम
थाहा छैन तिम्रो थर पनि
बस, तिम्रो अनुहार थाहा छ
तिमी बस्ने कौसी थाहा छ
तिमीले लगाउने कपडाको रङ थाहा छ
र अर्को कुरा- तिम्रो पर्खाई थाहा छ
बिहानै तिमीलाई देखेपछि
ममा थुप्रै थुप्रै ऊर्जा थपिएको महसुस गर्छु
थाहा छैन
मलाई देखेपछि तिमी के सम्झिन्छौ ?

अर्को बिहान
बरन्डामा नदेख्दा तिमीलाई
दिनभरि न्यास्रो लागिरह्यो
भोलि त्यसरी नै बित्यो, बित्यो पर्सि पनि
तर तिमी देखा पर्दै परेनौ
नियास्रोले पिरोलिएकी मलाई
त्यो बाटो फेर्न मन नलागेको पनि हैन
तर फेरिनँ
त्यसपछि त तिमी बस्ने कुर्सी देख्दा पनि
तिमीलाई नै देखे जस्तो लाग्न थाल्यो ।

एक बिहान नानाधरि मान्छेहरूले
तिम्रो घर घेरिइएको देखेर
मनमा चिसो पस्यो
मान्छेको भिड नजिकै स्कुटर रोकेँ
सबैभन्दा पहिला तिमी बस्ने कुर्सीलाई हेरेँ
कुर्सी तिमीलाई नै पर्खेर
मौन बसिरहेको थियो बरन्डामा
हतार हतार भिड पन्छाएँ
भिडभित्र नै देखँे तिमीलाई
तिमी त निदाइरहेका पो रहेछौ चीरनिद्रामा
टाँसेर निधारमा पैसाको टीका
तिम्रो तस्बिरमा लेखिएको थियो-
हार्दिक श्रद्धाञ्जली ।
जन्म बिक्रम सम्बत् २००८ साल
मृत्यु………साल ।

अहो ! झन्डैले म चक्कराएँ
मेरा आठ साले बुवालाई
पोहोर साल त हो मैले
जङ्गल पुर्याएर त्यहीँ छाडिआएको
हो, त्यसै बेलादेखि नै
मैले तिम्रो अनुहारमा बुबा देख्न थालेथेँ
बुवा हेर्नकै लागि तिम्रो घरको बाटो हिँडेथेँ
तिमी पनि त छोरीकै तिर्सना मेट्नकै लागि सायद
घरको कौसीमा बसेर
म आउने बाटो ढुकेर बसेका हुन्थ्यौ ।

अब कसले हेर्ला मेरो बाटो ?
अब म कसलाई हेर्नका लागि
पुछिरहूँ स्कुटरको लुकिङ ग्लास ?
कृपया, सक्छौ भने एकपटक
सुटुक्क भनिदेऊ न आफन्तलाई
कि, त्यो बरन्डाको कुर्सी नहटाउनू भनेर ।

यसमा तपाइको मत

अन्य समाचार