काठमाडौं,
कार्तिक २२ ।
चलचित्र ‘लभ यु हमेशा’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि कार्तिक २२ मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्र अब मंसिर १३ मा दर्शकमाझ आउने छ ।
कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको चलचित्रलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । यवन गुरुङको निर्माणमा बनेको चलचित्रले दार्जिलिङ र सिलगुढीका दर्शकको मन जितिरहेको जानकारी निर्माण पक्षले दिएको छ ।
बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनमा सहज बनाउनका लागि लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको बताएका छन् । एकसाथ धेरै नेपाली चलचित्र प्रदर्शन गरिदा निर्मातालाई नै हानी हुने भएकाले आफूहरु दुई साता पर सरेको दावी उनको छ ।
निर्देशक प्रधानकै लेखन रहेको चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन, गोपाल ढकाल (छन्दे), शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।
भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रका गीतमा भासुको सङ्गीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।






