साहित्य सृजनामा वैचारिक महत्व मानिसको मुटु र मस्तिष्क जत्तिकै हुन्छ –मुकुन्द पोखरेल

भक्तपुर, सिरुटारका स्थायी बासिन्दा मुकुन्द पोखरेल आफू बाँचेको समाज, राष्ट्र, अन्तर्राष्ट्रिय परिस्थिति एवं तत्जन्य घटना, परिघटना र परिवेशलाई आधार बनाएर साहित्य लेख्ने स्रष्टा हुनुहुन्छ । ‘कोमल मनका कठोर आवाजहरू’ र ‘अन्तरद्वन्द्वका जावरभाटा’ नामक दुई कविताकृतिका स्रष्टा पोखरेल निबन्ध र नियात्रा समेत लेख्नुहन्छ । विभिन्न संघसंस्थामा आवद्ध भएर साहित्य तथा समाजसेवामा समर्पित उहाँले बेलायत, भारत लगायतका विभिन्न देशको भ्रमणसमेत गर्नुभएको छ । साहित्यिक एवं सामाजिक क्षेत्रमा विशेष योगदान दिनुभएका साधक पोखरेलको सम्मानमा हालै प्राज्ञ ध्रुव मधिकर्मीको सम्पादनमा ‘स्रष्टा मुकुन्द पोखरेलः व्यक्तित्व र कृतित्व’ नामक ग्रन्थ प्रकाशित भएको छ । प्रस्तुत छ उनै स्रष्टा मुकुन्द पोखरेलसँगको साहित्य–वार्ता– सम्पा. ।

अचेल घरतिरै हुनुहुन्छ, निश्चय नै पढ्ने लेख्ने समय त निकै होला ?
– सामान्यतया घरतिरै हो । यो साहित्यिक, सामाजिक, जीवन सम्बन्धित पक्षमा विभाजित त भइहाल्छ । यद्यपि समय व्यवस्थापन गरेर अध्ययन र सृजनातिर पनि अलि बढी समाहित हुने बनाएको छु ।

तपाईंले आफूले भोगेको र देखेको संसारलाई आफ्ना सृजनामा कत्तिको समेट्नु भएको छ ?
– राम्रो प्रसङ्ग उठाउनु भयो । मैले भोगेको, देखेको र अनुभूति गरेको जुन संसार छ, त्यहाँका साहित्यिक, सांस्कृतिक, भौतिक वैभव, आधुनिक विकास र जीवनचर्या जस्ता पक्षमा दृष्टि छर्छु । तिनले मलाई जेजति आकर्षित गर्न सके, आवश्यकता अनुरुप तिनलाई मेले आफ्ना सृजनामा समेट्ने यत्न गरेको छु ।

कस्तो थियो त्यो दबाब या विवशता जसले तपाईंलाई लेखक बनायो ?
– अशिक्षा, गरिबीको चितुवा झम्टाई थियो । सामाजिक, सांस्कृतिक शोषण, उत्पीडन, विभेद झाङ्गिएको, राजनीतिक चेतनाको कमीले पिल्सिएको सामाजिक परिवेशले, मलाई उत्प्रेरित गर्यो ।

तपाईं कविता, विविध र नियात्रा लेख्नु हुन्छ, यी मध्ये कुन चाहिँ विधामा आफू सहजरुपमा खुल्न सक्नु हुन्छ ?
– म कविता, निबन्ध, नियात्राजस्ता सबै विधामा नै खुल्न सक्छु । मलाई लाग्छ, थोपामा समुद्र कवितामा ब्रह्माण्ड अट्छ । तथापि दायराको दृष्टिमा हो भने निबन्ध, नियात्रामा व्यापकता हुन्छ ।

सामाजिक यथार्थतालाई आफ्नो रचनामा कत्तिको ठाउँ दिनुहुन्छ ?
– म समाजको एउटा सदस्य हुँ । त्यसैले आफू बाँचेको सामाजिक परिवेश, घटना नै रचनामा निबन्धित भएको हुनुपर्छ, भन्छु म ।

साहित्य सृजनामा वैचारिक महत्व कत्तिको देख्नु हुन्छ ?
– साहित्य सृजनामा वैचारिक महत्व मानिसको मुटु र मस्तिष्क जत्तिकै हुन्छ । जति सुन्दर कलात्मक सृजन होस्, विचारबिना त्यो आलङ्कारिक शव जस्तै हुन्छ ।

लेख्नलाई कहाँबाट ऊर्जा लिनु हुन्छ ?
– विशेषत: आफ्नै समाज, राष्ट्र, अन्तर्राष्ट्रिय परिस्थिति एवं तत्जन्य घटना, परिघटना नै मेरा लेखन ऊर्जा हुन् ।

कस्ता खालका किताब बढी पढ्नु हुन्छ ?
– म गैर आख्यान, आख्यान दुवै खालका पढछु । आफ्नो विधा कविता, निबन्ध, नियात्रा र संस्मरण जस्ता भएकाले यस्ता किताबहरु बढी पढ्छु । आत्मकथा, जीवनकथा पनि अध्ययन गर्न मन लाग्छ ।

गैर साहित्य पनि पढ्नु हुन्छ कि ?
– म साहित्य मात्र होइन, गैर साहित्य पनि पढ्छु । त्यसमा राजनीति विज्ञान, अर्थशास्त्र, समाजशास्त्र÷मानवशास्त्र, संस्कृति र कृटनीतिजस्ता अध्ययनका विषय बन्छन् ।

आफूले पढेका मध्ये उत्कृष्ट लागेका किताबका नाम भए भनिदिनु न ?
– मलाई उत्कृष्ट लागेका ‘महाभारत’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’, भूपि शेरचनको ‘धुम्ने मेचमाथि अन्धो मान्छे’, लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, शङ्कर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’, पारिजातको ‘शिरीषको फूल’ ।
त्यस्तै गोर्कीको ‘आमा’, फ¥यदोर दस्तोएभ्सकीको ‘क्राइम एण्ड पनिष्मेन्ट’, हेमिङ्वेको ‘द ओल्ड म्यान एण्ड द सी’, गाब्रियल गार्सिया माक्र्रेवजको ‘ओन हन्डे«ड इयरस् अफ सोलिच्युड’, हेनरी किसिङ्गरको ‘वल्र्ड अर्डर’, युभाल नोह हरारीको ‘स्यापियन्स’, रोजर एम्सी गोफको ‘ज्वाइन्ड अप राइटिङ’लगायतका धेरै छन् ।

प्रस्तुतिः जुनु राई

यसमा तपाइको मत

अन्य समाचार