शुक्रबारदेखि ‘जीवन काँडा कि फूल’

काठमाडौं,
कार्तिक २० ।

साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’आधारित चलचित्र ‘जीवन काँडा कि फूल’का कलाकारहरूले सञ्चारकर्मीसँग राजधानीमा आफ्नो अनुभव बाँडेका छन् ।  कात्तिक २२ अर्थात यही शुक्रबारदेखि सिनेमाघरमा आउने चलचित्रको निर्माण तथा निर्देशन विनोद विष्टले गरेका हुन् । निर्देशक विष्टले वास्तविक संघर्षको कथा भएकाले यो विषयमा चलचित्र निर्माण गर्न अफुलाई मन लागेको बताए ।

साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’
चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।

शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन् ।

चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ । चलचित्रका यसअघि पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन् । यसअघि सार्वजनिक प्रचार सामग्रीबाट चलचित्रलाई लिएर दर्शकहरुको कौतुहल्ता रहेको निर्देशक विष्ट बताउँछन् । विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माणरनिर्देशन गरिसकेका छन् ।
झमकको जीवनको भोगाइ र सङ्घर्षको चित्रण रहेको चलचित्रमा कथाको काल्पनिकतालाई यथार्थतामा झल्काउन निकै चुनौती भएको पनि निर्देशक बिष्टले बताए । चलचित्र ८० लाख रुपैयाँको लगानीमा २ वर्ष लगाएर निर्माण गरिएको हो ।

धनकुटा नगरपालिका-६ कच्चिडेमा जन्मिएकी ३८ वर्षीया झमकले नेपाली साहित्यमा दर्जनौँ कृति सिर्जना गरेकी छिन् । उनी आफूलाई अपाङ्ता भएको भन्न रुचाउँदिनन् ।

देब्रे खुट्टाका तीन औँलाको सहायतामा करिब डेढ बर्ष लगाएर झमकले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ नामक साहित्यिक कृति हो । कृतिले २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार