काठमाडौं,
कार्तिक ८ ।
कीर्तिपुर राराहिलस्थित थिएटर मल कीर्तिपुर रङ्गमञ्चमा लोकप्रिय नेपाली लोककथा ‘शिशिर बसन्तको कथा’मा पपेट नाटक मञ्चन भएको छ । जापानी पपेट निर्देशकको साथमा भएको १० दिने पपेट थिएटरको कार्यशालाले सो नाटक तयार पारेको हो ।
जापानको उटरभिजन थिएटर कम्पनीको सहकार्यमा थिएटर मलले गरेको कार्यशालामा शिशिर बसन्तको कथाका मुख्य मुख्य पात्रहरुको पपेट डिजाइन गरी नाटक तयार पारेको हो । जापानमा प्रचलित तीन जनाले संयुक्त सन्तुलनमा चलाउने पपेट मार्फत शिशिर बसन्तको कथालाई मञ्चन गरिएको हो ।
उटरभिजनका कला निर्देशक इरिना सजीको निर्देशनमा सञ्चालित कार्यशालामा १२ रङ्गकर्मी र ९ स्कुले बालबालिका सहभागी थिए । उनीहरुले १० दिवसीय कार्यशालाको सय घण्टामा पपेट पात्र निर्माण देखि सञ्चालनसम्मको अभ्यास गर्दै पपेट नाटक मञ्चन गरेका हुन् ।
कार्यशालाको समापनमा आयोजना गरिएको पपेट नाटक मञ्चनमा शिशिर बसन्तको कथासँगै अन्य दुई छोटो पपेट प्रस्तुति पनि मञ्चन गरिएको थियो । जसमा शेक्सपियरको ‘एज यु लाइक इट’ र नेपाली लोककथा ‘सेल रोटी’लाई पपेट पात्रमार्फत मञ्चन गरिएको हो ।
यसै कार्यशालासँगै थिएटर मलले पपेट थिएटरलाई अझै निपूर्ण र आफ्नो शैली बनाउन ‘नेपाल पपेट थिएटर’ सुरु गरेको कला निर्देशक केदार श्रेष्ठले बताए । यो समूहले निरन्तर अभ्यास र परिकल्पना गर्दै पपेट विधालाई नेपाली रंगमञ्चमा निरन्तरता दिने उनले उल्लेख गरे ।
थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको सहकार्यसहित आयोजित कार्यशालामा इरिनाको साथमा एरी तोमोई, इजावा रेई र मियामोतोको जापानीकलाकारहरु थिए । समापन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले जापानी समूहलाई विधाई गरेका थिए ।
कार्यशालामा इलिना नकर्मी, सञ्जिता पराजुली, सबीर चुरौटे, शंकर भण्डारी, सुजिता महर्जन, प्रशान्त श्रेष्ठ, क्षितिज पराजुली, मनिष व्यन्जू, मदन श्रेष्ठ, सरोज राई, हिरा महर्जन, पूजा ढकालले पपेट थिएटरको अभ्यास गरेका थिए । त्यस्तै स्कूले बालबालिकाहरुमा सहर्षा क्षेत्री, अरविन खड्का, किर्ति भट्टराई, अनुप पुरी, निपूर्ण पौडेल, असिम त्वनबसु, सहश्राम्सु नेपाल, कलिना पाण्डे, शुभेच्छुक ढुंगाना सहभागी थिए ।
तस्वीर: प्रशुन सिन्धुलिय






