काठमाडौं,
कार्तिक ८ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो महान् चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी गराएका छन् ।
यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको उनको तर्क छ । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कात्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि शुभसाइत दिइएको समितिले जनाएको छ ।






