दशैँको आगमन र यसका अन्तरवस्तु

– अशोक धनञ्जय

दशैँको आगमनस“गै चहल–पहल बढेको छ । कामको सिलसिलामा स्वदेशी तथा विदेशमा गएका नेपालीहरु मान्यजनबाट टीका लगाउन आफ्नो जन्मथलो फर्कने क्रम बढेको छ । दशैँ–तिहारका लागि भनेर वैदेशिक रोजगारीम गएका युवा नेपाल आउ“दै छन् । कतिपय त हवाई टिकटको अभावमा नेपाल आउन नसक्ने भएको बताइसकेका छन् । विदेशबाट आफ्नो मान्यजनको हातबाट टीका लगाउन नेपाल आउनेको लर्कोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खचाखच भरिन थालेको छ । विदेशबाट चाडपर्वमा आउने नेपालीले वायुसेवा कम्पनीको व्यापार बढाएको छ ।

अरु बेलाभन्दा रेमिट्यान्सको रकम बढ्ने गरेको छ । दशैँका बेला धेरै रेमिट्यान्स नेपाल भित्रिने गरेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । दशैँको समयमा स्वदेशमा रहेर काम गरेका सरकारी कर्मचारी, औपाचारिक÷अनौपचारिक क्षेत्रमा ज्याला लिएर काम गर्ने र सेवा निवृत्तहरुको हातमा थप रुपैया“ हात पर्ने गर्दछ । यही रकमले दशैँका लागि सरसामान तथा अन्य सामग्री खरिद गर्ने गर्दछन् ।

किसानले पनि वर्षदिन पालेका खसी–बोका, कुखुरा, बङ्गुर बिक्री गरेर दशैँको जोहो गर्छन् । सबैभन्दा ठूलो चाडपर्व भएकाले हु“दा खानेले पनि दशँैका लगि जोहो गरेर खर्च गर्न पछि पर्दैनन् ।

दशैँमा राजधानी छाडेर घर फर्कनेहरुको घुइँचो बसपार्कमा लागेको छ । कार्यालयहरुले बिदा दिन थालिसकेका छन् । नेपालीको महान् चाड विजयादशमी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपालीको घरदैलोमा प्रवेश गरिसकेको छ । राजधानी काठमाडौँलगायत देशका विभिन्न भागमा दशैँको रौनकता छाइसकेको छ । नेपाली संस्कृतिमा आफूभन्दा ठूलाबाट आशीर्वाद लिन टीका लगाउने, पारिवारिक जमघट हुने र रमाइलो गर्ने अवसरका रुपमा लिइन्छ दशैँलाई । के धनी, के गरीब सबैले दशैँको स्वागतका लागि आ–आफ्नो गच्छेअनुसारको तयारी गरिरहेका छन् ।

दशैँका लागि किनमेल गर्नेहरुले त सहर–बजार ढपक्कै ढाकिसकेका छन् । सहर–बजार र पसल पनि बेहुलीजस्तै सजिएका छन् । वर्ष दिनदेखि आम्दानी गर्न नसकेका व्यापारीहरु दशैँको मेलोमा मनग्य नाफा आर्जन गर्दछन् । उपभोक्ता पनि वर्ष दिनपछि आउने दशैँमा नया“ कपडाको खोजीमा धाइरहेका छन् । आमाबाबा पनि आफ्ना बालबालिकाको आवश्यकता पूरा गर्न लागिपरेका छन् । दशैँ आएको सङ्केत दिनका लागि बालबालिकाहरुले आकाशमा चङ्गा उडाएको दृश्य पनि चारैतिर देख्न सकिन्छ । मीठो खाने र राम्रो लगाउने दशैँको उद्देश्यअनुरुप मांसाहारी व्यक्तिहरुले मासु खाएर रमाइलोस“ग बिताउने हुनाले काठमाडौँ उपत्यकामा पनि मासुका लागि प्रशस्त खसी, बोका, च्याङ्ग्रा, भेडा, कुखुरा, सु“गुर, बङ्गुर, रागाहरु भित्रिरहेका छन् । यस्ता वस्तुको व्यापार गर्ने व्यापारीहरु अहिले गाउ“–गाउ“मा गएर खरिद गरेर ल्याइसकेका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवनलगायतका जिल्लाबाट खसी–बोका राजधानी भित्रिन्छन् भने चीनको तिब्बतबाट समेत यस्ता वस्तुहरु नेपाल भित्रिने गरेका छन् ।

दशैँमा के गरीब के धनी सबैले नया“ कपडा लगाएर मान्यजनको हातको टीका थाप्न जाने परम्परा हालसम्म पनि हाम्रो समाजमा विद्यमान रहेका कारणले गर्दा पनि दशैँमा कपडाको व्यापार धेरै नै चल्ने गरेको छ । हुने–खानेहरुका लागि सधैँ दशैँ नै दशैँ भए पनि दशँैमा उनीहरुले नया“ कपडा, गरगहना लगाउने परम्परालाई निरन्तरता दिइरहेका छन् । दशैँको मुखमा मात्रै नेपालमा विदेशबाट करोडौँ मूल्यबराबरको कपडा भित्रिने गरेको छ । दशैँको आगमन सँगै ठूला–ठूला डिपार्टमेन्टल स्टोरहरुमा मात्र होइन, साना–साना कपडा पसलदेखि फुटपाथमा समेत कपडा व्यापार राम्रै चल्ने गर्दछ । सम्पन्न वर्गका मानिसहरु ठूला नाम चलेका कपडा स्टोरहरुमा कपडा किन्न जान्छन् भने मध्यमवर्गका मानिसहरु ठूला पसल, फेन्सी तथा विभिन्न बजारहरुमा कपडा खरिदका लागि भीड लाग्ने गर्दछन् । गरीब तथा मध्यमवर्गका मानिसहरु आफ्नो क्षमताअनुसार सडकपेटीमा राखिएको कपडा बजारमा गएर किन्ने गर्दछन् ।

अहिले सा“झपख फुटपाथमा कपडा किन्ने र बेच्ने गरेको दृश्य निकै मनोरञ्जनात्मक रुपमा देख्न सकिन्छ । यस्ता स्थानहरुमा कपडा सस्तो मूल्यमा पाइने भएकाले उनीहरुको भीड लाग्ने गरेको हो । काठमाडौँमा सामान्य काम गरेर बस्नेहरु दशैँमा नया“ कपडा खरिद गरी आफन्तहरुलाई लगिदिन फुटपाथमा गएर कपडा किन्ने गर्दछन् ।

घटस्थापना

आश्विन शुक्लपक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी–देवतालाई आह्वान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धिपश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दशैं घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।

माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको हो । त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरुपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा–आजा गरिन्छ । ब्रह्मर्वैवत पुराणअनुसार वर्णन गरिएका नवदिग्दुर्गाहरु यी हुन्ः प्रकति–पूर्व, चण्डिका–आग्नेय, भद्रकाली–दक्षिण, सर्वमङ्गला–वायव्य, वैष्णवी–उत्तर, शिवप्रिया–ईशान, जगदम्बिका–जल, थल र आकाश । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री यी नामहरुले देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृतिअनुसार घट कलशमै सम्पूर्ण देवी–देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवम् तीर्थहरु निहित छन्, जुन कुरा कालिका पुराण ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिह्नहरुद्वारा समाहित गरिएको पाइन्छ । आधारहरुको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम् नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैं पूजाको थालनी गरिएको हो ।
यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरु, घण्टी आदि बजाई दुर्गासप्तशती (चण्डी), स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ ।

प्रमुख पूजा र उत्सव
सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवम् दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरुको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजासामग्रीस्वरुप फूलपाती प्रवेश गराउने कार्य हुन्छ । यस दिन काठमाडौंको टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पूजी प्रत्येकको नौवटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कातिर्की देवीलाई एक एक गरी आह्वान गरेर सोह्र सामग्रीले पूजिन्छ । अर्काे यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवम् श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेषगरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै, यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडाँैको जमलमा ल्याई बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ ।

महाअष्टमी
नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली)को विशेष पूजा–आजा गरिन्छ । देवीभागवत्अनुसार प्राचीनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी–शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरुमा मानिसहरु आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् ।
साकाहारीहरुले नरिवल, कुभिण्डो, केरा, घिरौँला आदि फल अर्पण गर्दछन् । काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणका लागि खुल्ला रहन्छ । यसै दिन दशैंघर (हनुमानढोका) को मूलचोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन् ।

महानवमी
नवरात्रिको नवौं दिन विशेषगरी महालक्ष्मी देवीको पूजा–आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरु तथा सवारीका साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरु पूजाको अतिरिक्त विशेषगरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरुको पनि पूजाआजा गरिन्छ ।

विजयादशमी
नवरात्रिको दशौं दिनलाई विजयादशमी भनिन्छ । आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भनिन्छ । दशमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दशमी मान्य हुन्छ, एकादशीसहितको दशमी मान्य हुँदैन भनिएको छ । मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन् । कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन् । तर, विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ ।
यस दिनमा भगवान् रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । सोह्र सामग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरुलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ । यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छकँर्दै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।’ अनि घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंका लागि तयार पारी राखिएको नयाँ लुगा ललगाई टीका लगाउन जान्छन् ।

टीका लगाउँदा दिने आशिष
आयु द्रोण सुते, श्रीयं दशरथे
शत्रुक्षयं राघवे, एश्वर्य नहुषे
गतिश्च पवने, मानं च दुर्योधने
सौर्यं सान्तनवे, वलं हलधरे
सत्यंच कुन्तीसुत, विज्ञानं विदुरे
भवन्तु भावतां कीर्तीश्व नारायणे ।
(ऋषि द्रोणाचार्यका पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो शत्रुहरण क्षमता होस्, नहुषको जस्तो ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो सान र मान होस्, सूर्यपुत्र कर्णझैँ दानी स्वभाव होस्, भीमसेनको जस्तो बल होस्, युधिष्ठिरको जस्तो सत्यवचन होस्, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस् ।)
दशैँमा पुरुषलाई दिइने आशीर्वाद हो यो । महिलाका लागि भने देवी स्वरुप बन्नु भन्ने कामना गर्दै आर्शीवाद दिने चलन छ –
जयन्ती मंगलाकाली
भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवरात्रि
स्वाहा स्वधा नमोस्तुते ।
(संसारलाई नै जित्न सक्ने सामाथ्र्य राख्ने देवीझैँ जसले हरेक अन्धकारमा ज्योति छर्न सक्छिन्, हरेक दुःख निदान गर्ने समयभन्दा बलवान देवी, जसले मानव खप्परको माला लगाउँछिन्, त्यस्ती देवीलाई नमन गर्दछु ।)
टीका लगाउने र आशीर्वाद लिने काम कहीँ पूर्णिमासम्म भएको पाइन्छ भने कहीँ दशमीको दिनमा मात्र । यसपछि देवीका मूर्तिहरु र नवपत्रिकालाई बाजा–गाजा या वैद्विक मन्त्र पढी जलाशयमा लगी विर्सजन गरिन्छ ।

नेपालबाहिर दशैं
नेपाली पुगेका विभिन्न देशहरुमा मूल घर फर्कन नपाएका नेपालीहरुले आ–आफ्नै ठाउँमा दशैं मनाएको पाइन्छ भने नेपालबाहिर विभिन्न ठाउँमा पनि आफ्नो चलनअनुसार दशैं मनाउने गरिन्छ ।
विजयदशमी भगवान् रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवैमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष र उल्लास तथा विजयको पर्व हो । संसारका कुना–कुनामा यो पर्व विभिन्नरुपमा मनाइन्छ । भारतको सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजयादशमी आदि धूमधामसित मनाइन्छ, नेपालमा जस्तै दशैं मनाउने अन्य स्थानहरुमा पश्चिम बङ्गालका उत्तरी जिल्लाहरु, दाजिर्लिङ, जलपाईगुडी, डुवर्स र सिलगुडी रहेका छन् । त्यस्तै, भूटानमा भएका नेपालीहरु पनि हर्ष र उल्लासका साथ दशैं मनाउने गर्दछन् । भारतका उत्तर–पूर्वी नेपाली बसेका राज्यहरुजस्तै मेघालय, आसाम, अरुणाचल प्रदेश, नागाल्यान्ड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादून आदि ठाउँहरुमा पनि धूमधामसँग दशैं मनाइन्छ ।

दशैंको जमरा र यसको महत्व
मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरा । विजयादशमी र जमरा नेपाली संस्कृति एवम् परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौँ छरेर विजयादशमीको दिन देवीको प्रसादको रुपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो ।

भारतीय एवम् अन्य राष्ट्रका हिन्दूहरुमा यो परम्परा पाइँदैन । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरु पनि मान्यजनको हातबाट आशीर्वादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरुले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवम् साँस्कृतिक एकतालाई प्रतिविम्बित गराउँछ । यसरी धार्मिक, सामाजिक, साँस्कृतिक एवम् स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

शरद ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र (बडादशैँ)को पहिलो दिन दशँैघरमा घटस्थापना गरी त्यस घटमा गोबरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आह्वान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरुपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरुपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रिलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरुमा ब्राह्मी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।

यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरी प्रसादस्वरुप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दशैंमा किन प्रसाद स्वरुप जौँको अङ्कुर जमरा लगाइन्छ त ? के महत्व छ त जमराको ?

जौँलाई संस्कृतमा ‘यव’ भनिन्छ । खाद्यपदार्थको दृष्टिले यो पौष्टिक पदार्थ हो भने यसलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रुप मानिन्छ । वैदिक ग्रन्थमा जौँलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रुपमा लिइएको छ । यसै कारण होला यज्ञयज्ञादिमा जौँको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौँलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरुमा म जौँ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौँको महत्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौँ र जौँको अङ्कुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौँ उपयुक्त रहेको आजका वैज्ञानिकहरुले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवम् मधुमेहजस्ता रोगमा ज्यादै फाइदा पु¥याउँछ ।

यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ उनीहरुको छ । यसैगरी, बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौँबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जाँैको अङ्कुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्वभन्दा जौँ वा यसको अङ्कुरमा पाइने तत्व तुलनात्मकरुपमा धेरै नै बढी छ ।

अमेरिकाका अन्य विशेषज्ञले पनि जमराको प्रयोगमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरुले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवम् अन्य रोगहरुलाई समेत फाइदा पु¥याएको बताएका थिए ।

जमरालाई धर्मशास्त्रमा समृद्धिको प्रतीक मानिन्छ । धर्मशास्त्रको व्याख्या आफ्नो ठाउँमा छ, वैज्ञानिक दृष्टिकोणबाट पनि जौँ र जमराको महत्व कम छैन । वास्तवमा जाँै निकै पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट, प्रोटिनका साथै विभिन्न भिटामिनहरु प्रशस्त्र मात्रामा पाइन्छ । त्यसैले जौँको सातु के गाउँ, के सहर जताततै चर्चित छ । अहिले विकाशे जातका अरु बालीहरु भित्रिएसँगै निकै पूरानो र भरपर्दो बालीको रुपमा रहेको जौँ विस्थापित हुँदै गएको छ, जसका कारण खाद्य असुरक्षा बढिरहेको विज्ञहरुले बताइरहेका छन् । यस हिसाबले हेर्दा जौँको महत्व अझै धेरै भएको प्रष्ट हुन्छ । जौँ खाद्य सुरक्षाका दृष्टिले मात्र होइन औषधीय गुणले पनि युक्त मानिन्छ ।

जमराको रस सौन्दर्य प्रसाधनमा पनि प्रयोग हुन्छ । अध्ययनहरुले अङ्कुरित जौँमा सागपातभन्दा पनि बढी पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् । जमराको प्रयोगबाट हाड, आन्द्रा, पेट, छालालगायतका रोगको सफल उपचार सम्भव भइसकेको छ । गाउँघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रहरुमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा समृद्धिको प्रतीक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ ।

व्यावसायिक बन्दै चाड-पर्व
हाम्रा गाउँ, टोल, बजार र सहरहरुमा यतिबेला निकै चहल–पहल बढ्न थालेको छ । सबैतिर दशैँमय भएको छ । परदेश गएकाहरु दशैँ मनाउन घर फर्किरहेका छन् । दशैँको आगमनले सबैलाई आफ्ना दुःखपीडाहरु बिर्साएर रमाइलो वातावरण बनाएको छ । चाडपर्वको बेलामा बालबालिकाहरुको रमाइलो त झन् बढ्ने गर्दछ । दशैँ विशेषतः नेपालीको सबैभन्दा ठूलो चाड हो । नेपाली हिन्दू पात्रोअनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैँ वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ । हिन्दू चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथिअनुसार पर्ने भएकाले नेपाली चाडहरु निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैँ पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डरअनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको बीचमा पर्छ । दशैँ आश्विन शुक्ल प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भए तापनि पहिलो नौ दिनलाई नवरात्रि र दशौँ दिनलाई दशमी वा दशैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई बध गरेर मानवजातिको कल्याण गरेको किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी (कालरात्रि), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैँका प्रमुख तिथिहरु हुन् ।

नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजा–आराधना गरिन्छ । यी देवीहरु हुन्– शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री । यी देवीहरुलाई नवदुर्गाको नामले पुकारिन्छ । नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरुपमा उपासकहरुलाई दर्शन दिनुहुन्छ भन्ने कथन छ । यसैले भक्तहरु आफ्नो मनको इच्छा पूरा हुने उत्कष्ट अभिलाषाले यस नवरात्रि पर्वमा नवदुर्गा देवीलाई रा“गा, बोका, भेडा, हा“स, कुभिण्डो अथवा पञ्चबलि चढाई आ–आफ्ना भाकल पूरा गर्ने पनि गर्दछन् । हाम्रा चाडपर्वहरु राम्रो लगाउने र मीठो खानेस“ग पनि जोडिएका छन् । हिजोआज मीठो खान र राम्रो लागाउन चाडपर्वहरु कुर्नु नपर्ने भए पनि पर्वहरुमा राम्रो लाऊ“, मीठै खाऊ“ भन्ने चाहना सबैको हुन्छ । हुने–खानेहरुका लागि सधै“ दशैँ छ भने हु“दा खानेहरुका लागि हाम्रा चाडपर्वहरु बाध्यात्मक परिस्थिति बन्दछन् । वर्ष दिनमा एक पटक आउने चाडपर्वको अवसरमा खाने, खेल्ने र रमाउने नाममा हाम्रो समाजमा धेरै विसङ्गतिहरु पनि बढ्दो मात्रामा छन् । पारिवारिक भेटघाटलाई सिर्जनात्मक तरिकाले रमाइलो बनाउनेभन्दा पनि समाजमा विकृति र विसङ्गति बढाउने क्रियाकलापहरुले सामाजिक मान्यता प्रदान गर्ने पुरानो सोच र चिन्तनबाट अबको नया“ पुस्ता मुक्त हुन जरmरी छ ।

बालबालिका तथा युवायुवतीका लागि दशैँले जति रमाइलो लिएर आएको हुन्छ, निम्न र निम्न मध्यमवर्गीय परिवारका घरमूलीका लागि दशैँले पिरलो पनि लिएर आएकोे हुन्छ । घरमूलीलाई पिरलोले दशैँमा छोप्छ तर उनका भान्टाङ्गभुन्टुङ भने दशैँ आयो, खाउ“ला–पिउ“ला भन्दै रमाइरहेका हुन्छन् । त्यसैले हुने–खानेहरुका लागि यो पर्व उल्लासपूर्ण भए पनि हु“दा खानेहरुका लागि भने चिन्ताको विषय बन्ने गर्दछ । उखान छ नि, ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई ।’ त्यसैले देखासिकीभन्दा आ–आफ्नो गच्छेअनुसार दशैँजस्ता चाडपर्वहरू मनाऔँ, अनावश्यक तडक–भडक र भड्किलो नबनाऔँ ।

दशैँ टीकाको साइत

हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैंको टीकाका साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ । नेपाल पञ्चाङ निर्णायक समितिको बैठकले दशैँको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार देवी विसर्जनको साइत भने विजयी दशमीको दिन २१ गते मङ्गलबार बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ । असोज १२ गते आइतबारदेखि शुरु हुने नवरात्रको पहिलो दिन घटस्थापनाको साइत भने बिहान १० बजेर ३५ मिनेट उत्तम रहेको गौतमले बताए ।

घटस्थापनाको दोस्रो दिन असोज १३ मा नेपाली सेनाको झण्डा फेर्ने साइत भने बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किएर झण्डा फेर्दा उत्तम हुने गौतमको भनाइ छ । यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फूलपातीको समय बिहान ८ बजेर ५२ मिनेटका लागि तय गरिएको छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुनेछ । २० गते महानवमी र २१ गते विजयादशमी रहेको छ ।

(मिलापको असोज अङ्कबाट)

यसमा तपाइको मत

अन्य समाचार