काठमाडौं,
असोज १५ ।
नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक भएको छ । कात्तिक १ गतेदेखि प्रर्दशन हुन लागेको चलचित्र ‘लक्ष्मी रानी’को ट्रेलर सार्बजनिक भएको हो । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् ।
चलचित्रमा नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन् ।
चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरीलगायत रहेका छन् । चलचित्रमा ‘लक्ष्मी रानी लाई…’ भन्ने वोलको शिर्ष गीत रहेको छ ।
यसमा गायिका तथा गायकमा जुनु रिजाल–दौलत राई र गीतकार लोक राई रहेका छन् । अर्को ‘फुल्यो सयपत्री…’ भन्ने वोलको गीतमा गायक गायिका ध्रुबराज अधिकारी सङ्गीता तिमिल्सेना र गीतकार शंकर अधिकारी ‘घायल’ रहेका छन् । दुवै गीतमा युबा सङगीतकार बबुल गिरीको सङ्गीत रहेको छ । चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् ।
सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लि.ले जिम्मा लिएको छ । चलचित्रको यतिबेला धमाधम डबिङको काम भइरहेको र यहि २०७६ सालको तिहारमा प्रर्दशनमा आउने तयारी थालिएको निर्माण पक्षले जनाएको छ ।
‘लक्ष्मी रानी’ चलचित्रको सुदुरपश्चिमको दार्चुला, नेपालगञ्ज, चितवनको सौराहा, भैरहवा, काभ्रेको पनौती र काठमाडौंमा छायाँकन गरिएको थियो ।






