काठमाडौं,
असोज ५ ।
सिने स्टार अवार्ड २०२० को घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा गर्दै क्यानाडाको टोरन्टो शहरमा हुने सिने स्टार अवार्ड २०२० को घोषणा गरिएको हो ।
हिल्सा इन्टरटेनमेन्टको आयोजनामा हुने यो अवार्ड कार्यक्रम दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’ मा नेपाली फिल्म र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता आयोजकले गरेको छ ।
नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुने अवार्डमा १२ विधा समावेश हुनेछन् भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा अवार्ड तथा सम्मान वितरण गरिनेछ । अवार्डमा जुरिको रुपमा रमेश बुढाथोकी, मोहन निरौला र दिनेश डीसी रहनेछन् ।
कार्यक्रममा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले विभिन्न देशमा हुने यस्ता अवार्डहरुले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्लले यस किसिमका अवार्डले कलाकार तथा चलचित्रकर्मीहरुमा उत्साह पैदा गराउने बताए ।
प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् ।
विदेशी भूमीमा आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियान (पर्यटन वर्ष) मा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ ।
कार्यक्रममा नायिका आँचल शर्मा, नायक सलोन बस्नेत, नायक शिव श्रेष्ठलगायतका कलाकारको उपस्थित रहेको थियो ।






